हिन्दु धर्मशास्त्र र पुराणअनुसार हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना विष्णु भगवान् शयन गरिरहनुहुन्छ । यी दुई हरिशयनी र हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हरेक वर्ष २४ वटा एकादशी आउँछ । अधिकमास पर्ने वर्षमा भने दुईवटा एकादशी थप भई जम्मा २६ वटा एकादशी पर्छन् । यीमध्ये हरिशयनी एकादशीमा विष्णु भगवान् शयन गर्नुहुने र हरिबोधिनी एकादशीका दिन ब्युँझिने भएकाले दुवै एकादशीको ठूलो महत्व रहेको छ । यतिबेला भक्तजनहरूले अत्यन्तै श्रद्धा भाव राखी दुवै एकादशी मान्ने गर्दछन् ।
पौराणिक कथामा आधारित एक धारणाअनुसार विश्वास गरिएको छ कि ‘यथा देहे तथा देवे’ को भावना अनुरूप हरेक वर्ष आषाढ महिनाको शुक्ल पक्षको हरिशयनी एकादशीका दिन भगवान् विष्णु र लक्ष्मी, त्रयोदशीमा कामदेव, चतुर्दशीमा यक्षदेव, पूर्णिमामा महादेव, प्रतिपदामा ब्रम्हा, द्वितीयामा विश्वकर्मा, तृतीयामा पार्वतीसहित धेरै देवीदेवताहरू चार महिनाका लागि शयन गर्छन् अर्थात् विश्राम गर्छन् । हरेक वर्ष १२ महिनामा ४ महिना यी देवीदेवताहरूको निन्द्राकाल अर्थात् निदाइरहने समय हो । अर्काे शास्त्रीय धारणाअनुसार भगवान् विष्णुमात्र ४ महिनासम्म योगनिन्द्रामा बस्नुहुन्छ ।
विष्णु भगवान् योगनिन्द्रामा मग्न भएर बसेको होस् वा अन्य देवताहरू पनि शयनकालमा रहेको किन नहोस् यो चार महिनाको समय अर्थात् चतुर्मासको समयमा धेरै नै मुख्य चाडबाड परिरहेको हुन्छ । दशैं, तिहार, गुरु पूर्णिमा, गठेमंगल, गुँला, नागपञ्चमी, जनै पूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, इन्द्रजात्रा जस्ता पर्व परिरहेको हुन्छ । यस्तो चाडपर्वमा विष्णु भगवान् र अरु देवताहरू पनि यति लामो समयसम्म निदाएर बस्ने हो भने यो विश्वको सृष्टिको नियन्त्रण, पालनपोषण र सन्तुलित व्यवस्था कसले गर्ने होला ? यस्तो सम्भव हुन सक्दैन तर धार्मिक मान्यतका आधारमा देवताहरूले विश्राम गर्ने समयलाई नै निदाइरहेको हो भनी सम्झिएको मात्र हो पनि भनिन्छ । विष्णु भगवान् योगनिन्द्रामा मात्र रहने हो । वास्तवमा विष्णु भगवान् कहिल्यै पनि निदाउनुहुन्न । योगनिन्द्रामा विश्राममात्र गरिरहने हो पनि भन्ने गरिन्छ ।
वास्तवमा विष्णु भगवान् चार महिनासम्म पाताल लोकमा गई बलिराजाको ढोकापाले बस्न जाने हो । शास्त्रमा विष्णु भगवान् क्षीर सागरमा शेष नागको शैयामा विश्राम गर्ने भनिएको छ । शास्त्रमा उल्लेख भएअनुसार दैत्यराज बलिराजा अत्यन्तै धार्मिक र दानी राजा थिए । बलिराजाले धेरै नै दान दिएको पुण्यका प्रभावले देवराज इन्द्रले नै आफ्नो लोक छोड्नुपर्ने अवस्था आएछ । अनि देवताहरूमा हाहाकार भएछ । अनि इन्द्रले सबै देवताहरूसहित गई विष्णु भगवान्लाई प्रार्थना गरे । अनि इन्द्रले विष्णु भगवान्लाई जसरी भए पनि बलिराजालाई इन्द्रलोकमा आउन रोक लगाउनका लागि अनुरोध गरे । त्यसपछि विष्णु भगवान् वामन रूप लिएर बलिराजासँग भिक्षा माग्न जानुहुन्छ । वामन रूपी विष्णु भगवान्ले बलिराजासँग तीन पाउ टेक्ने जमिन भए पुग्छ भनी माग्नुहुन्छ । विष्णु भगवान्ले एक पाउ टेक्दा स्वर्गलोक, दोस्रो पाउ टेक्दा मत्र्यलोक ढाकिसकेपछि तेस्रो पाउ कहाँ राखूँ भन्दा बलिराजाले आफ्नै शिर थापिदिन्छन् । विष्णु भगवान्ले बलिराजाको शिरमा पाउ राख्नेबित्तिकै बलिराजा पाताल लोकमा पुग्छन् । अनि बलिराजाले पनि चार महिनासम्म विष्णु भगवान् आफ्नो दरबारको ढोकाको पाले भएर बस्नुपर्ने शर्त राख्छन् । विष्णु भगवान्ले बलिराजाको पुण्यको प्रभावले असार शुक्ल हरिशयनी एकादशीदेखि चार महिनासम्म शयन गरिरहने र कात्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागा हुनुहुन्छ भन्ने विश्वास गरिन्छ ।
हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । एकादशीका दिनदेखि व्रत बसेर घरमा तुलसीको बोट रोपेर दिनहुँ बिहान पूजा गरी जल चढाएर जल पनि पिउनुपर्छ । चतुर्मासको समयमा कुनै पनि किसिमको शुभ मंगल कार्य गर्नुहुँदैन भन्ने धार्मिक मान्यता छ । त्यसैले यो समयमा शुभ विवाह, अन्न प्रासन, ब्रतबन्ध, नयाँ घर निर्माण र गृह प्रवेश आदि कार्य गरिँदैन । ज्योतिष शास्त्रअनुसार पनि यो समयमा साइत निस्किँदैन । त्यसो भए तापनि कतिपयले भने विजया दशमीको दिन साइत हेर्नु पर्दैन भन्दै शुभ विवाहलगायत अन्य शुभ कार्य पनि गर्छन् । तर, शास्त्रको मान्यता अनुरूप मानिसहरूले शुभ मंगल कार्य गर्नुप¥यो भने चतुर्मासपछि मात्र गर्छन् । वैदिक परम्पराअनुसार भने सूर्य उत्तरायण भएपछि मात्र शुभ कार्य गर्नुपर्छ भनिएको छ । चतुर्मासभरि विष्णु भगवान्को उपासना गरेर धार्मिक परम्पराअनुसार विष्णु भगवान्को महिमा पाठ गर्छन् ।
महर्षि भारद्वाजको भनाइअनुसार एकादशीको व्रत बस्ने महिला पुरुषले उक्त दिन असत्य कुरा गर्ने, बारम्बार जलपान गर्ने, हिंसा गर्ने, अपवित्र पान, सुपारी खाने, दाँत माझ्ने, दिउँसो सुत्ने, मैथुन, जुवा खेल्ने, रातमा सुत्ने र पतित मानिससँग कुरा गर्ने जस्ता ११ थरी कार्य त्याग्नुपर्दछ ।
आलस्य त्याग गरेर प्रसन्न भई षोडषोपचारले विष्णु भगवान्लाई पूजा गर्नुपर्छ । प्रत्येक प्रहरमा आरती गर्नुपर्छ । वाद्यवादन, गीत र नृत्य गरेर जाग्राम बसी गीता र विष्णु सहस्त्र नामको पाठ गर्नुपर्छ । एकादशीको अघिल्लो दिन दशमीका दिन स्नान गरेर शरीर शुद्ध पारेर चित्त पनि शुद्ध गरी दिनको आठौं भाग अर्थात् सूर्यको प्रकाश छँदै भोजन गरी ब्रम्हचर्य पालन गरी राती विश्राम गर्नुपर्छ । व्रतका दिन स्नानादि नित्य कर्मपछि विष्णु भगवान्को यसरी प्रार्थना गर्नुपर्छ – ‘हे विष्णु भगवान्, पुरुषोत्तम, केशव आज हजुरकै प्रसन्नताका लागि दिन र रातमा पनि संयम–नियम अनुसार मैले पालना गर्न सकूँ । मेरा सुषुप्त इन्द्रियबाट कुनै पनि किसिमको विफलता, भोजन वा मैथुनक्रिया हुन गएमा वा मेरो दाँतमा पहिलादेखि नै अन्न टाँसिएर रहेको भए हे पुरुषोत्तम हजुरले यी सबै कुरामा क्षमा गरिदिनुहोस् ।’
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)