‘सद्भाव’को अर्थ मनमा अरूप्रति राखिने शुद्ध, आत्मीय र कल्याणकारी भावना हो । व्यावहारिक रूपमा, समाजका विविध जात, धर्म, भाषा, संस्कृति वा विचारका मानिसहरूले एकापसमा कुनै घृणा वा पूर्वाग्रह नराखी आदर, सहअस्तित्व र भ्रातृत्वका साथ जीवन व्यतीत गर्ने स्थिति नै सामाजिक सद्भाव हो । दार्शनिक रूपमा, सद्भाव कुनै कानुनी उर्दी वा ओठको देखावटी भाषण होइन यो त मानिसभित्रको अहंकार त्यागेर अरूको अस्तित्व र आस्थालाई सहर्ष स्वीकार गर्ने एउटा सनातन मानवीय संस्कार हो, जुन शासकहरूको शुद्ध आचरणबाट जनजनको मनमा रोपिनुपर्छ ।
सद्भाव केवल शब्दको शृंगारिक संयोजन, कुनै साहित्यिक अलंकार वा शासकीय मञ्चहरूबाट ओकलिनुपर्ने नीरस र औपचारिक शब्द–जालमात्र होइन, मानव सभ्यताको त्यो आन्तरिक ऊर्जा, निष्कलंक भावना र पवित्र धागो हो, जसले विविध जात, धर्म, भाषा, संस्कृति र भूगोलका मानिसहरूलाई एउटै राष्ट्रिय मालामा उनेर राख्छ । समाज केवल हाडछालाका मानिसहरूको बाक्लो उपस्थिति, भूगोलको नक्सा वा कानुनी नियमावलीहरूको संग्रह मात्र होइन, यो संवेदना, सहअस्तित्व, परस्पर विश्वास र भ्रातृत्वको एउटा जीवन्त र सुमधुर प्रवाह हो । जब कुनै समाजका विभिन्न धारका मानिसहरू एकापसमा आदर, करुणा, क्षमाशीलता र आत्मियताका साथ जीवन व्यतीत गर्छन्, त्यही सन्तुलित स्थिति नै सामाजिक सद्भावको वास्तविक र सनातन स्वरूप हो ।
नेपाली माटोको ऐतिहासिक बनोट र सांस्कृतिक जग नै बहुलता, सहिष्णुता र सहअस्तित्वमा आधारित छ । हाम्रा हिमशृंखलाहरूबाट बगेका चिस्यान, पहाडी कन्दराहरू र मधेसका लहलहाउँदा हरिया फाँटहरूले युगौँदेखि एकता र भ्रातृत्वको शाश्वत गीत गाउँदै आएका छन् । तर, आज नेपाली समाजको मौलिक र सनातन सद्भावमा कसले खलल पैदा गरिरहेको छ ? के यो द्वन्द्व जनस्तरको अज्ञानता वा वैमनस्यले आएको हो वा माथिल्लो सत्ता, राजनीति र वैचारिक संकुचितताका कारण यस्तो भइरहेको छ ? सामाजिक दर्शन र समसामयिक यथार्थमा उभिएर हेर्दा यो प्रश्न आजको सबैभन्दा निष्पक्ष, प्राज्ञिक र दार्शनिक विश्लेषणको मुख्य विषय हो ।
सामाजिक दर्शनको एउटा अकाट्य सत्य के हो भने सद्भावनाको चरित्र ठ्याक्कै भ्रष्टाचार जस्तै हुन्छ । यसको उत्पत्ति, मूल स्रोत र बीउ सधैं माथिल्लो तहमा हुन्छ र यसको प्रभाव क्रमशः बग्दै जनस्तरसम्म पुग्छ । समाजमा भ्रष्टाचार जसरी कुनै तल्लो तहको सर्वसाधारण नागरिकबाट सुरु नभई राज्यका शीर्ष शासक, नीतिनिर्माता, प्रशासक र राजनीतिक नेतृत्वको आचरणबाट उत्पन्न भई समाजभरि विषाक्त बनेर फैलिन्छ । ठीक त्यसै गरी सद्भावना पनि सर्वप्रथम सत्ता र नेतृत्वको माथिल्लो तहमा नै देखिनुपर्छ । जब राज्यका उच्च पदमा विराजमान प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री र शीर्ष राजनीतिक नेताहरूको सोच, निर्णय र आचरणमा सद्भावको सुवास फैलिन्छ, तब मात्र त्यसको सकारात्मक र अमिट छाप समाजमा रहेका जनताको मनमा सहजै पर्छ । तर, जब माथिल्लो तहमा नै वैमनस्य, घृणा, प्रतिशोध, छलकपट र विभाजनका अग्ला पर्खालहरू उठाइन्छन्, तब सोझा जनताबीच सद्भावको आशा गर्नु दर्शन र व्यवहार दुवै दृष्टिले असंगत कुरा हो । शासक स्वयंमा सद्भावको खडेरी छ भने जनताले सद्भावको पाठ कसरी र कहाँबाट सिक्ने ?
सामाजिक सद्भावमा खलल उत्पन्न गर्ने सबैभन्दा मुख्य र प्राथमिक कारक भनेको स्वार्थी, दिशाहीन, संकुचित र भ्रष्ट दलीय राजनीति हो । राजनीति समाजलाई जोड्ने, समृद्ध बनाउने र रूपान्तरण गर्ने पवित्र माध्यम हुनुपर्नेमा आज समाजलाई कित्ताकाट गर्ने र विभाजन गर्ने सबैभन्दा ठूलो कारखाना भएको छ । राजनीतिक दलहरूले आफ्नो चुनावी स्वार्थ, सत्ताको तृष्णा र भोट बैंक सुरक्षित गर्नका लागि समाजमा युगौंदेखि मिलेर बसेका मानिसहरूका सांस्कृतिक, धार्मिक वा जातीय भिन्नताहरूलाई उचालेर द्वन्द्वमा परिणत गरिदिन्छन् । संसद् भवन जहाँ राष्ट्रिय सद्भाव र समृद्धिको मस्यौदा कोरिनुपर्ने हो त्यहीँ नेताहरू एकापसमा अमर्यादित, तुच्छ, आक्रोशित र हिंसक रूपमा प्रस्तुत हुन्छन् । नेता र नेताबीच सद्भाव छैन, पार्टी र पार्टीबीच सद्भाव छैन र सदनभित्र सद्भावको नामोनिसान छैन भने सोझा जनताबीच सद्भाव कसरी कायम हुन सक्छ ? सत्तामा रहँदा आफू अनुकूलको आपसी सद्भावको याचना गर्ने र सत्ताबाहिर पुग्नेबित्तिकै कसरी सामाजिक तानाबाना बिथोल्ने, ? कसरी सडकमा आगो बाल्ने भनेर मरिहत्ते गर्ने राजनीतिक दल र तिनका कप्तानहरूको दोहोरो चरित्र नै सद्भाव विनाशको मुख्य दोषी हो । आफूसँग सद्भावनाको नामोनिसान नहुने राजनीतिक दल र नेताहरूले जनताबीच सद्भाव खोज्न सडकमा नारा–जुलुस गर्नु वा ¥याली निकाल्नु सद्भावनाको संवद्र्धन होइन; यो त दुर्भावनाको बीउलाई मलजल गर्ने, समाजमा झन् ठूलो भ्रम फैलाउने र धमिलो पानीमा आफ्नो राजनीतिक माछा मार्ने खेतीमात्र हो ।
जब कुनै संवेदनशील स्थानमा साम्प्रदायिक वा धार्मिक द्वन्द्वको भुसको आगो सल्किन्छ, तब राज्य र राजनीतिक दलहरूबाट अत्यन्त नाटकीय र बनावटी दृश्यहरू मञ्चन हुन्छन् । शीतल निवास वा सिंहदरबारका बन्द वातानुकूलित कोठाहरूबाट नीरस र कागजी विज्ञप्तिहरू जारी हुन्छन् । सडकमा सेना र प्रहरीको परेड गराएर शक्ति प्रदर्शन गरिन्छ र नेताहरू अगाडि उभिएर सद्भाव ¥यालीको नाटक गर्छन् । तर, दार्शनिक प्रश्न उठ्छ—जसको आफ्नै मनभित्र सत्ताको अदम्य तृष्णा, दलगत वैमनस्य र विरोधीलाई सिध्याउने प्रतिशोधको आगो बलिरहेको छ, उसले हातमा बोकेको ब्यानर र उसले लगाएको नाराले समाजलाई कसरी शान्ति र राहत दिन सक्छ ? सडकका यी ¥यालीहरू वास्तवमा सद्भाव संवर्धनका लागि होइनन्, आफ्ना गल्तीहरू ढाकछोप गर्ने र जनताको ध्यान मोड्ने नौटंकी मात्र हुन् ।
कुनै घटना घटिसकेपछि हतार–हतारमा गरिने प्रशासनिक प्रयास, कफ्र्यु, धरपकड वा सर्वदलीय बैठकहरू वास्तवमा नाटक जस्तै हुन् । राज्यले गर्ने यस्ता अल्पकालीन प्रशासनिक नाटकहरू पनि त्यस्तै हुन् । यसले केही घण्टा वा केही दिनका लागि परिस्थिति शान्त भएको आभास देला तर दीर्घकालीन रूपमा यसले झन् ठूलो सामाजिक अविश्वास, चिसो र संकट लिएर आउँछ । रोगको बाहिरी लक्षण दबाएर शरीर कहिल्यै निको हुँदैन । त्यसका लागि रोगको भित्री जरा पहिल्याउनै पर्छ । जबसम्म सामाजिक सद्भावलाई केवल अल्पकालीन सुरक्षा, पुलिसको बुट र प्रशासनिक दृष्टिकोणबाट मात्र हेरिन्छ, तबसम्म समाजभित्र सल्किरहेको असहिष्णुताको आगो बारम्बार विस्फोट भइरहन्छ ।
नेपाली समाजको परम्परागत सद्भावमा खलल पर्नुको पछाडि विगत साढे तीन दशकको राजनीतिक र वैचारिक प्रयोगको ठूलो र गम्भीर हात छ । राज्यसत्ताको साँचो सम्हालेका पुष्पकमल दाहाल र खड्गप्रसाद शर्मा ओली जस्ता शीर्ष राजनीतिक पात्रहरूले अंगीकार गरेको वैचारिक धरातल र शैलीले नेपाली समाजको मौलिक तानाबानालाई गहिरो चोट पु¥यायो । दशकौँसम्म धर्म, संस्कृति, परम्परा र अध्यात्मलाई अफिम मान्ने भौतिकवादी दर्शन र वर्गसङ्घर्षका नाममा समाजलाई कित्ताकाट गर्ने द्वन्द्ववादी सोचको बीउ रोपियो । समाजलाई वर्ग, जाति, क्षेत्र र सम्प्रदायका आधारमा टुक्रा–टुक्रा पारेर राजनीतिक लाभ लिने जुन दीर्घकालीन अभ्यास गरियो, त्यसले जनताको अवचेतन मनमा असहिष्णुता, शंका र घृणाको घातक बीउ रोप्यो । युगौँदेखि विभिन्न धर्म, जाति र सम्प्रदायहरूबीच कायम रहेको परम्परागत सहिष्णुता, भ्रातृत्व र आध्यात्मिक चेतनाका स्तम्भहरूलाई भत्काउने वा तिनलाई केवल राजनीतिक चालबाजीका रूपमा प्रयोग गर्ने परिपाटीकै दुष्परिणाम स्वरूप आज समाजमा साना–साना कुरामा पनि धार्मिक र सामाजिक असहिष्णुताका घटनाहरू विस्फोट भइरहेका हुन् । सद्भावको वास्तविक बीउ न त सडकका सस्ता नाराबाट उम्रन्छ, न त कुनै शासकको कडा उर्दी, प्रहरीको लाठी वा विज्ञप्तिबाटै फस्टाउँछ । यसको वास्तविक उत्पादन गृह र नर्सरी त हाम्रा घर, स्कुल, कलेज र समग्र सामाजिक वातावरण हुन् । हाम्रा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमा केवल प्राविधिक ज्ञान, घोकन्ते शिक्षा र उपभोगवादी सोच मात्र होइन, नैतिक शिक्षा, सहअस्तित्व, भ्रातृत्व, विविधताप्रतिको सम्मान र मानवीय संवेदनाका पाठहरू अनिवार्य रूपमा समावेश गरिनुपर्छ । बालबालिका र युवाहरूले केवल किताबका पानाबाट मात्र होइन, आफ्ना शिक्षक, अभिभावक र राष्ट्रका अग्रजहरूको जीवनशैली, बोली र व्यवहारबाट सिक्छन् । जब घरमा अभिभावक, स्कुलमा शिक्षक र देशमा राष्ट्रिय नेताको आचरण अनुकरणीय, निष्कलंक र उदार हुन्छ, तब सद्भाव कसैले सिकाउनै पर्दैन । त्यो स्वतः मानिसको मन–मनमा र व्यवहारमा अनुवाद हुन्छ ।
सद्भावनाका लागि राज्यले ओठको राजनीति छाडेर चारवटा मूल आधारस्तम्भमा काम गर्नु अनिवार्य छ । पहिलो, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा केवल घोकन्ते ज्ञान होइन, नैतिक शिक्षा, सहअस्तित्व, भ्रातृत्व र सांस्कृतिक संवेदनशीलताका पाठहरू अनिवार्य समावेश गरिनुपर्छ । दोस्रो, कर्मकाण्डी धर्म वा साम्प्रदायिक संकुचितताभन्दा माथि उठेर मानिसभित्रको अहङ्कार पखाल्ने र ‘वसुधैव कुटुम्बकम्’को भाव जगाउने आध्यात्मिक र मानवीय चेतनाका विशेष कार्यक्रमहरू चलाउनुपर्छ । तेस्रो, समाज र प्रशासनका हरेक तहमा संवाद, क्षमाशीलता र भ्रातृत्व प्रवर्धन गर्ने नियमित प्रशिक्षण र अभ्यासको संरचना बनाउनुपर्छ । र चौथो, सद्भावको मूल स्रोत माथि हुने हुनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूले आफ्नो बोलीमा शिष्टता, निर्णयमा निष्पक्ष न्याय र जीवन शैलीमा सादगी देखाएर स्वयं सद्भावको जिउँदो प्रतीक बन्नुपर्छ । राज्य जब सुरक्षा बलको त्रास र भाषण छाडेर शिक्षा, संस्कार, उच्च आचरण र अध्यात्ममार्फत जनजनको मनभित्र प्रवेश गर्छ, तब मात्र देशमा साँचो र दिगो सामाजिक सद्भाव कायम हुन्छ ।
सामाजिक सद्भावको सबैभन्दा गहिरो, मजबुत र अजम्बरी चुरो भनेको आध्यात्मिक चिन्तन र वातावरण हो । यहाँ अध्यात्म भन्नाले कुनै कर्मकाण्डी अन्धविश्वास, रूढिवादी परम्परा वा कुनै साम्प्रदायिक संकुचितता होइन । अध्यात्मको वास्तविक अर्थ हो मानव–मानवबीचको आन्तरिक एकात्मता, ‘वसुधैव कुटुम्बकम्’ (समस्त संसार नै एक परिवार हो) को महान् चेतना र सर्वप्राणीप्रतिको निष्कलंक करुणा । अध्यात्मले मानिसलाई अहंकार, स्वार्थ र संकुचितताबाट मुक्त गराउँछ । यसले अर्काको अस्तित्व, विचार र आस्थालाई सहर्ष स्वीकार गर्ने असीम उदारता प्रदान गर्छ । जब मानिसभित्र आध्यात्मिक चेतनाको दीप बल्छ, तब उसले अर्को मानिसमा शत्रु वा विरोधी होइन, आफ्नै आत्म–स्वरूप देख्न थाल्छ । यही आध्यात्मिक वातावरण नै सामाजिक सद्भावको वास्तविक जग हो ।
सामाजिक सद्भावमा खलल उत्पन्न गराउने मुख्य दोषी आमजनता होइनन्; बरु सत्ता, राजनीति र नेतृत्वको आचरणभित्र रहेको सद्भावको विकराल खडेरी हो । सद्भाव कुनै मञ्चको भाषणमा सजाइने शब्द होइन, न त यो सत्ता जोगाउने वा ढाल्ने कुटिल औजार नै हो । सद्भाव त जीवनको त्यो मधुर संगीत हो, जुन मानिसको निष्कलङ्क हृदय र आचरणबाट प्रस्फुटित हुनुपर्छ । जबसम्म राज्यका जिम्मेवार पदमा बसेका प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति र राजनीतिक दलका कप्तानहरू स्वयं सद्भावनाको जिउँदो, अनुकरणीय र अनुभूत गर्न सकिने प्रतीक बन्दैनन्, जबसम्म उनीहरूको बोलीमा शिष्टता, निर्णयमा निष्पक्ष न्याय र आचरणमा पारदर्शिता देखिँदैन, तबसम्म आमजनताले सद्भावको अमिट छाप अनुभूत गर्न सक्दैनन् ।
सद्भाव आमजनतासँग मागिने वा सडकमा नारा लगाएर खोजिने वस्तु होइन, यो त राज्यका जिम्मेवार निकाय र शीर्ष नेतृत्वको जीवनशैलीबाट व्यावहारिक रूपमा अनुदित भई जनस्तरसम्म बग्नुपर्ने एउटा पवित्र, निर्मल भागीरथी हो । जब नेतृत्वको आचरण र सोच्ने शैली शुद्ध हुन्छ, तब मात्र देशमा शान्ति, वास्तविक भ्रातृत्व र स्थायी सामाजिक सद्भावको नयाँ बिहानी उदाउनेछ ।
सामाजिक सद्भाव सडकमा नारा जुलुस गरेर वा सत्ताको उर्दी जारी गरेर रोपिने विषय हुँदै होइन । यो त शासकहरूको जीवनशैली र जनजनको मनमा रोपिनुपर्ने सनातन संस्कार हो । जब राज्यले देखावटी ‘ओठको सद्भाव’ त्यागेर शिक्षा, उच्च आचरण, नियमित अभ्यास र आध्यात्मिक चेतनामार्फत् जनजनको मनभित्र ‘हृदयको सद्भाव’ रोप्ने एकीकृत राष्ट्रिय योजना लागू गर्छ, तब मात्र समृद्ध, एकीकृत र नवनेपालको निर्माण सम्भव छ ।
राज्य जब सुरक्षा बल र देखावटी भाषणको भर पर्न छाडेर शिक्षा, संस्कार, उच्च आचरण र नियमित साधनाका माध्यमबाट जनजनको मनभित्र प्रवेश गर्छ, तबमात्र समाजमा साँचो र स्थायी सद्भावको प्रादुर्भाव हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने समाजमा विविधताबीच एकता कायम राख्न धार्मिक सहिष्णुता, आपसी संवाद र समावेशी सहभागिता नै सामाजिक सद्भाव कायम गर्ने उत्तम उपाय हो । विभिन्न जातजाति, भाषा र संस्कृति भएका व्यक्तिहरूबीच निरन्तर अन्तरक्रिया गराउँदा स–साना मतभेद र भ्रमहरू तत्काल समाधान हुन्छन् । एक–अर्काको चाडपर्व, संस्कार र परम्परालाई आदर गर्दै सामूहिक रूपमा उत्सव मनाउनाले आपसी भाइचारा कायम गर्न सकिन्छ । यसका साथै, स्थानीय तहका हरेक निर्णय प्रक्रियामा सबै वर्गको समान प्रतिनिधित्व र न्यायोचित अवसर सुनिश्चित गर्नुपर्छ । त्यसैगरी विद्यालय तहदेखि नै सद्भावमूलक शिक्षा दिनु र सामाजिक सञ्जालमा घृणा फैलाउने भ्रामक कुराहरूलाई निरुत्साहित गर्नु पर्दछ । नागरिक स्तरबाटै सचेत भई कानुनी मर्यादाको पालना गर्दा समाजमा दिगो शान्ति र बलियो राष्ट्रिय एकता स्थापना गर्न सम्भव छ ।
(लेखक ढकाल राजनीतिका जानकार हुन् ।)