नेभिगेशन
दृष्टिकोण
सामाजिक यथार्थ

पहिचानको द्वन्द्व र सद्भावको मार्ग

नेपाल विविधतायुक्त एक सुन्दर देश हो । यहाँको भौगोलिक, जातीय, भाषिक र धार्मिक विविधता नै यस मुलुकको मुख्य पहिचान र शक्ति हो । विशेषगरी तराई–मधेस क्षेत्र ऐतिहासिक कालदेखि नै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय एकताको एउटा अनुपम थलोका रूपमा विकसित हुँदै आएको छ । विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायहरू वर्षौँदेखि एउटै छिमेकमा सुख–दुःख बाँड्दै, एक–अर्काका चाडपर्वमा सहभागी हुँदै र भाइचाराको सम्बन्ध कायम गरेर बसेका छन् । मधेसको यो साझा संस्कृति र सामाजिक सामीप्य नेपालको राष्ट्रिय एकताको बलियो आधारस्तम्भ नै हो ।
तर, पछिल्लो केही समययता तराई–मधेसका विभिन्न जिल्लाहरू, विशेषगरी पर्सा, धनुषा, महोत्तरी, सुनसरी, र सर्लाहीमा एकाएक साम्प्रदायिक तनाव, धार्मिक खटपट र असहिष्णुताका घटनाहरू सतहमा आउन थालेका छन् । धार्मिक जुलुस, बाजागाजा वा सामाजिक सञ्जालमा गरिएका सामान्य टिप्पणीहरूलाई लिएर समुदायहरूबीच अविश्वास र द्वन्द्व बढाउने काम भएको छ । यस्तो संवेदनशील परिस्थितिमा, समाजमा अशान्ति फैलिनुको पछाडिका गम्भीर सामाजिक तथा मानसिक कारणहरूलाई बुझ्नु र सद्भाव पुनःस्थापना गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो ।
विश्वव्यापी परिदृश्य 
साम्प्रदायिक र धार्मिक हिंसा केवल नेपाल वा तराई–मधेसको मात्र समस्या होइन, यो विश्वव्यापी रूपमै समाजलाई भित्रभित्रै खोक्रो बनाउने एउटा डरलाग्दो विष बनेको छ ।
विश्वव्यापी तथ्यांक
पे रिसर्च सेन्टरको अध्ययनअनुसार, विश्वका ८० प्रतिशतभन्दा बढी मानिसहरू यस्ता देशहरूमा बस्छन् जहाँ धार्मिक वा साम्प्रदायिक आधारमा उच्च वा अति–उच्च स्तरको सामाजिक द्वन्द्व हुने गर्छ ।
जनधनको क्षति 
संयुक्त राष्ट्रसङ्घ र इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसको तथ्याङ्क अनुसार, विश्वमा आन्तरिक र साम्प्रदायिक हिंसाका कारण बर्सेनि अर्बौँ डलरको आर्थिक क्षति हुन्छ भने हजारौँ निर्दोष नागरिकले ज्यान गुमाउँछन् । हिंसाग्रस्त क्षेत्रहरूमा व्यापार–व्यवसाय ठप्प हुने, वैदेशिक लगानी रोकिने र मानवीय विकास सूचकाङ्क दशकौँ पछाडि धकेलिने गरेको छ ।
छिमेकी र अन्य मुलुकको अनुभव 
हाम्रै छिमेकी मुलुक भारतका विभिन्न राज्यहरू (जस्तैः हरियाणा, मणिपुर, वा उत्तर प्रदेशका केही क्षेत्र) मा साम्प्रदायिक हिंसाका कारण बर्सेनि सयौँ मानिसको मृत्यु हुने, हजारौँ विस्थापित हुने र सार्वजनिक तथा निजी सम्पत्तिको ठूलो विनाश हुने गरेको छ । यस्तै, म्यानमारमा रोहिंग्या समुदायमाथि भएको साम्प्रदायिक हिंसाले सिर्जना गरेको शरणार्थी समस्या र विनाश विश्वसामु ताजा नै छ ।
तराई–मधेसमा भइरहेका साना–तिना झडपहरूलाई बेलैमा नियन्त्रण गरिएन भने यसले पनि सोही प्रकारको ठूलो मानवीय र आर्थिक विभीषिका निम्त्याउन सक्छ भन्ने चेतावनी यी विश्वव्यापी उदाहरणहरूले दिन्छन् ।
पहिचान,वर्गीकरण र प्रतीकात्मक संघर्ष 
मानिसहरूले दैनिक जीवनमा अरूलाई र आफूलाई कसरी हेर्छन् र वर्गीकरण गर्छन् भन्ने कुराले समाजको शान्ति र अशान्ति तय गर्छ । फ्रान्सेली समाजशास्त्री पियरे बोरदियोका अनुसार, मानिसहरूले अरूलाई सभ्य वा असभ्य, उच्च वा निम्न, परिष्कृत वा सामान्य भनेर वर्गीकरण गरिरहेका हुन्छन् । व्यक्तिको नाम, उपाधि, क्षेत्र, जात, धर्म, भाषा, पोसाक र जीवनशैलीले उसको सामाजिक पहिचान निर्माण गर्छन् ।
जब मानिसहरूले कुनै वस्तु, व्यवहार वा पहिचानलाई अरूसँग तुलना गर्छन्, त्यसले एउटा सामाजिक संकेत वा प्रतीकको रूप लिन्छ । तराई–मधेसमाह हालसालै भएको साम्प्रदायिक तनाव केवल सामान्य झडप वा भौतिक स्रोतको लडाइँ मात्र होइन, यो वास्तवमा प्रतीकात्मक संघर्ष हो ।
प्रतीकात्मक संघर्ष भनेको समाजमा आफ्नो पहिचान, प्रतिष्ठा, धर्म, संस्कृति र सम्मानलाई कसरी स्थापित गर्ने र अरूले त्यसलाई कसरी हेर्ने भन्ने विषयमा गरिने द्वन्द्व हो । कुनै एउटा समुदायले आफ्नो धार्मिक जुलुस वा प्रतीकलाई आफ्नो अस्तित्व र स्वाभिमानका रूपमा प्रस्तुत गर्न खोज्छ भने अर्को समुदायले त्यसलाई आफ्नो पहिचानमाथिको अतिक्रमणका रूपमा बुझ्ने गर्दछ । यसरी भौतिक वस्तु वा सामान्य सांस्कृतिक व्यवहार जब ‘सामाजिक प्रतीक’ बन्छन् र त्यसमा राजनीतिक वा साम्प्रदायिक जलप लगाइन्छ, तब त्यसले हिंसाको रूप लिन्छ ।
सामाजिक वास्तविकतालाई हेर्ने गलत दृष्टिकोण
तराई–मधेसको साम्प्रदायिक अशान्तिलाई बुझ्न बोरदियोले औँल्याएका दुई चरम दृष्टिकोणबाट बच्न अति आवश्यक छ ।
सामाजिक भौतिकशास्त्रः यस दृष्टिकोणले समाजलाई केवल तथ्याङ्क, आर्थिक स्रोत, जमिनको क्षेत्रफल वा भौतिक प्रतिस्पर्धाका आधारमा मात्र बुझ्छ । उदाहरणका लागि, विवादलाई केवल स्रोत र साधनको पहुँच वा जनसांख्यिक आँकडाका रूपमा मात्र हेर्नु । तर, धर्म वा जातको जनसंख्या आफैंमा तनावको कारण हुँदैन, जब मानिसहरूले त्यसलाई अरूसँग तुलना गरेर नकारात्मक अर्थ दिन्छन्, तबमात्र द्वन्द्व सिर्जना हुन्छ ।
सामाजिक संकेतशास्त्रः यस दृष्टिकोणले सम्पूर्ण समाजलाई मानिसहरूको व्यक्तिगत धारणा र मानसिक वर्गीकरणको परिणाम मात्र मान्छ । यसले मानिसहरूको मनमा बनेका भावनालाई मात्र महत्व दिन्छ र वास्तविक सामाजिक–आर्थिक अवस्थालाई बेवास्ता गर्छ ।
तराई–मधेसको साम्प्रदायिक समस्या न त केवल बाहिर देखिने तथ्याङ्कको लडाइँ मात्र हो, न त यो काल्पनिक भ्रम मात्र  हो । सामाजिक वास्तविकता वस्तुगत संरचना (भौतिक÷आर्थिक अवस्था) र व्यक्तिपरक धारणा (मानिसहरूको बुझाइ र भावना) दुवैको सम्मिश्रण हो । स्थानीय स्तरमा व्याप्त बेरोजगारी, गरिबी र अवसरको असमान वितरण जस्ता वस्तुगत पक्षहरूले निराशा जन्माउँछन् । अनि यही निराशाको जगमा जब साम्प्रदायिक धार्मिक कट्टरता मिसिन्छ, तब समाज भड्किन्छ ।
डिजिटल माध्यमको दुरुपयोग
मानिसहरूले आफ्नो दैनिक जीवनका अनुभवबाट निर्माण गरेको व्यावहारिक ज्ञान सामाजिक वास्तविकताको महत्वपूर्ण हिस्सा हुन्छ । मानिसहरूले स्रोत र अवसरको असमानता महसुस गर्छन् र त्यसका आधारमा अन्य समूहहरूप्रति आफ्ना धारणा बनाउँछन् । तर वर्तमान डिजिटल युगमा यो व्यावहारिक ज्ञानलाई भ्रमित पारिँदै छ । अहिले फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालको दुरुपयोग गरेर उत्तेजक भिडियो, फेक न्युज र भ्रामक सूचना फैलाउने काम भइरहेको छ । कुनै एउटा सानो ठाउँको व्यक्तिगत झगडालाई सिङ्गो धार्मिक वा जातीय समुदायको लडाइँका रूपमा प्रस्तुत गरेर भ्रामक ‘प्रतिनिधित्व’को निर्माण गरिन्छ । जब मानिसहरूले यस्ता गलत प्रतिनिधित्वलाई नै वास्तविकता मान्न थाल्छन्, तब वर्षौँदेखि सँगै बसेका छिमेकीहरू एकाएक एक–अर्काका शत्रुजस्ता देखिन थाल्छन् ।
बौद्धिक वर्गको सीमा र जिम्मेवारी
बोरदियोले भनेझैँ, समाजका बौद्धिक, नागरिक समाजका अगुवा र पत्रकारहरू पनि सामाजिक संरचनाभन्दा बाहिरका निष्पक्ष पर्यवेक्षक मात्र होइनन् । उनीहरूको सोच पनि उनीहरूकै सामाजिक स्थान, पृष्ठभूमि र दृष्टिकोणबाट प्रभावित हुन्छ । आज धेरैजसो बौद्धिक तथा राजनीतिक व्यक्तिहरू निष्पक्ष हुनुको साटो कुनै न कुनै साम्प्रदायिक वा दलीय घेराभित्र बाँधिएका देखिन्छन् । कतिपयले समाजलाई जोड्नेभन्दा पनि आफ्नो सस्तो लोकप्रियताका लागि उत्तेजक विचारहरूलाई बढावा दिइरहेका छन् । तर बौद्धिक वर्गले आफ्ना विचारका सीमाहरू बुझ्न आवश्यक छ । उनीहरूले तटस्थ र वस्तुनिष्ठ भएर समाजलाई जोड्ने पुलको काम गर्नुपर्छ ।
सद्भाव कायम गर्नेे व्यावहारिक उपाय
तराई–मधेसमा साम्प्रदायिक हिंसा रोक्न र दीर्घकालीन सामाजिक सद्भाव कायम गर्न बहुआयामिक कदमहरू चाल्नुपर्छ ।
बहु–सांस्कृतिक र बहु–धार्मिक संवादः सबै धार्मिक तथा जातीय समुदायका अगुवा, धार्मिक गुरुहरू र भद्रभलादमीहरूलाई एउटै मञ्चमा राखेर नियमित संवाद सुरु गरिनुपर्छ ।
स्थानीयस्तरमा ‘सद्भाव समिति’ः प्रत्येक टोल, वडा र पालिकास्तरमा सबै धर्म, जात र वर्गका प्रतिनिधिहरू सम्मिलित ‘स्थानीय सद्भाव तथा शान्ति समिति’ गठन गरी साना विवादलाई स्थानीयस्तरमै समाधान गरिनुपर्छ ।
डिजिटल नागरिकता र सोसल मिडिया अनुगमनः युवा वर्गलाई सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोगबारे सचेत गराउनुपर्छ । अफवाह फैलाउने र घृणास्पद अभिव्यक्ति दिनेहरूलाई कडा कानुनी दायरामा ल्याइनुपर्छ ।
प्रशासनिक निष्पक्षताः स्थानीय प्रशासन र सुरक्षा निकाय कुनै पनि साम्प्रदायिक वा राजनीतिक दबाबबाट मुक्त भई निष्पक्ष रूपमा कानुनको पालना गराउन उभिनुपर्छ ।
साझा सामाजिक र सांस्कृतिक गतिविधि ः समुदायहरूलाई जोड्ने साझा सांस्कृतिक, खेलकुद र सामाजिक कार्यक्रमहरू आयोजना गरी सामीप्य बढाउनुपर्छ ।
निष्कर्षः 
अन्ततः सामाजिक वास्तविकता भनेको केवल बाहिर देखिने भौतिक संरचना मात्र होइन र मानिसहरूले मनमा बनाएको धारणा वा प्रतीक मात्र पनि होइन । सामाजिक संरचना र मानिसहरूले त्यसलाई बुझ्ने, वर्गीकरण गर्ने तथा प्रतिनिधित्व गर्ने तरिका दुवै मिलेर सिङ्गो सामाजिक वास्तविकता निर्माण गर्छन् ।
तराई–मधेसको शान्ति, प्रगति र समृद्धि त्यहाँका सबै नागरिकहरूको एकतामा आधारित छ । हाम्रा भिन्न–भिन्न धार्मिक तथा सांस्कृतिक पहिचानहरू समाजलाई विभाजन गर्ने हतियार बन्नु हुँदैन, ती त समाजलाई समृद्ध बनाउने सुन्दर फूलबारीका फूलहरू हुन् । आफूलाई शुद्ध र अरूलाई पराई मान्ने सङ्कुचित मानसिकताबाट माथि उठेर एकअर्काको अस्तित्व, पहिचान र मर्यादाको सम्मान गर्नु नै आजको मुख्य दायित्व हो । प्रतीकात्मक संघर्षलाई भाइचारा र साझा समृद्धिको दिशामा रूपान्तरण गरौँ । विविधताभित्रको एकता नै नेपालको वास्तविक शक्ति हो ।
(लेखक दाहाल पशुपति बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्