नेभिगेशन
दृष्टिकोण

मोटिभेसन के हो ? कसरी आउँछ ?

लक्ष्य प्राप्तिको यात्रा कहिलेकाहीँ पहाड चढ्नुजस्तै कठिन हुन्छ । सुरुवातमा शिखर नजिकै देखिन्छ । तर आधा बाटो पुगेपछि बाटो झन् उकालो, चिप्लो र कठिन बन्दै जान्छ । शरीर थाक्छ, उत्साह घट्छ र बीचमै फर्किने इच्छा जाग्न सक्छ । त्यस्तो बेला मानिसलाई अघि बढाइराख्ने शक्ति के हो ? उत्तर हो— उत्प्रेरणा ।

मनोवैज्ञानिकहरू प्रेरणालाई व्यवहारलाई कुनै उद्देश्य वा दिशातर्फ डो¥याउने शक्तिका रूपमा व्याख्या गर्छन् । मानिसका प्रेरणाका स्रोत भने एउटै हुँदैनन् । कसैलाई स्वतन्त्र भएर काम गर्ने अवसरले उत्साहित बनाउँछ, कसैलाई प्रशंसा र प्रतिष्ठाले, कसैलाई पैसा र सुविधा, त कसैलाई सुरक्षित र स्थिर जीवनले । त्यसैले हामीले एउटै लक्ष्य पछ्याइरहे पनि त्यसतर्फ धकेल्ने शक्ति फरक हुन सक्छ ।

मनोवैज्ञानिक इयान म्याकरे र उनका सहकर्मीहरूले मानिसको प्रेरणा र त्यसको परिणामबीचको सम्बन्ध बुझ्न विभिन्न अध्ययन गरेका छन् । उनीहरूको कामले प्रेरणालाई मुख्यतः छ प्रकारमा बुझ्न सकिने देखाउँछ– स्वायत्तता, मान्यता, सम्बद्धता, क्षतिपूर्ति, सर्त र सुरक्षा । तर प्रेरणाको सबैभन्दा आधारभूत विभाजन भने आन्तरिक र बाह्य प्रेरणाबीच हुन्छ । के हामी कुनै काम साँच्चै गर्न चाहन्छौँ, वा गर्नैपर्छ भन्ने महसुस भएर गरिरहेका छौँ ? यही प्रश्नले यी दुईबीचको फरक छुट्याउँछ ।

‘आत्म–निर्णय सिद्धान्त’अनुसार आफूले रोजेको र गर्न चाहेको कामबाट आउने आन्तरिक प्रेरणाले बाह्य दबाब वा पुरस्कारबाट आउने प्रेरणाभन्दा राम्रो परिणाम दिन सक्छ । क्यानडाको कार्लटन विश्वविद्यालयकी मनोविज्ञानकी सहप्राध्यापक मरीना मिलाभ्स्काया र उनका सहकर्मीहरूले ३४४ जना स्नातक विद्यार्थीमा गरेको अध्ययनले पनि यही संकेत गरेको थियो । विद्यार्थीहरूले राम्रो अंक ल्याउने, जागिर खोज्ने, तौल घटाउने वा पुरानो सम्बन्धबाट बाहिर निस्कनेजस्ता लक्ष्य राखेका थिए । आफ्नो व्यक्तिगत चाहना र मूल्यबाट प्रेरित विद्यार्थीहरूले अरूको अपेक्षा वा सामाजिक दबाबबाट प्रभावित विद्यार्थीभन्दा बढी प्रगति गरे । अझ रोचक कुरा, आफ्नो लक्ष्यलाई व्यक्तिगत रोजाइका रूपमा लिने मानिसहरू बाटोमा आउने प्रलोभन र अवरोधसँग पनि प्रभावकारी रूपमा जुध्न सके ।

उदाहरणका लागि, तौल घटाउन चाहने व्यक्तिले आफ्नो निर्णयलाई समाजले थोपरेको सौन्दर्य मापदण्डका रूपमा होइन, आफ्नै जीवनशैलीसँग जोडिएको व्यक्तिगत छनोटका रूपमा लिँदा फास्ट फुडजस्ता प्रलोभनबाट विचलित हुने सम्भावना कम देखियो । तर वास्तविक जीवन यति सरल छैन । हामीले गर्ने कुनै पनि काम एउटा मात्र कारणले निर्देशित हुँदैन । पैसा चाहिन्छ, सुरक्षा चाहिन्छ, सम्मान चाहिन्छ, तर त्यससँगै स्वतन्त्रता, सम्बन्ध र व्यक्तिगत विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छन् । ७५० भन्दा बढी पेशेवरमा गरिएको अर्को अध्ययनमा ४४ वटा सम्भावित प्रेरक तत्वको मूल्याङ्कन गरिएको थियो । त्यसबाट मानिसका कार्यसम्बन्धी मूल्यलाई छ प्रमुख समूहमा वर्गीकृत गर्न सकियो ।

पहिलो हो—स्वायत्तता । अर्थात् काममा स्वतन्त्रता, सक्रिय सहभागिता, आत्म–अभिव्यक्ति र व्यक्तिगत विकासको अवसर । दोस्रो हो—मान्यता । शक्ति, पद, प्रतिष्ठा वा आफ्नो उपलब्धिको सार्वजनिक स्वीकारोक्ति । तेस्रो हो—सम्बद्धता । सहकर्मीसँगको सम्बन्ध, टोलीमा काम गर्ने अवसर, विचार आदानप्रदान र सामाजिक सम्बन्धको अनुभूति । यी आन्तरिक प्रेरक हुन् ।

त्यसपछि आउँछन् बाह्य प्रेरक । क्षतिपूर्ति अर्थात् तलब, बोनस, बीमा र अन्य आर्थिक सुविधा । सर्त अर्थात् कामको वातावरण, सुविधा र कार्य–जीवन सन्तुलन । र सुरक्षा अर्थात् रोजगारीको स्थिरता, पूर्वानुमेयता तथा कार्यस्थलमा शारीरिक र मनोवैज्ञानिक सुरक्षाको अनुभूति ।

महत्त्वपूर्ण कुरा के हो भने यी प्रेरकको प्राथमिकता उमेर, परिस्थिति र आर्थिक अवस्थासँगै बदलिन सक्छ । युवाहरूमा आर्थिक क्षतिपूर्तिको महत्त्व केही बढी देखिए पनि वर्तमान आयलाई ध्यानमा राख्दा यो अन्तर घट्छ । स्वाभाविक पनि हो—भाडा तिर्नै कठिन भइरहेको व्यक्तिका लागि राम्रो तलब ठूलो प्रेरणा हुन सक्छ । तर आर्थिक रूपमा सहज अवस्थामा पुगेपछि मानिसले आत्म–अभिव्यक्ति, स्वतन्त्रता वा अर्थपूर्ण कामलाई बढी महत्त्व दिन सक्छ । यसैले आत्मज्ञान प्रेरणाको एउटा महत्त्वपूर्ण आधार बन्न सक्छ । आफूलाई केले उत्साहित बनाउँछ भन्ने थाहा पाएपछि हामी असन्तुष्टिको वास्तविक कारण पनि पहिचान गर्न सक्छौँ ।

उदाहरणका लागि, स्वायत्तता तपाईंको प्रमुख प्रेरक हो भने अत्यधिक नियन्त्रण भएको कामले तपाईंलाई चाँडै निरुत्साहित गर्न सक्छ । सम्बद्धता महत्त्वपूर्ण छ भने एक्लै काम गर्नुभन्दा टोलीमा काम गर्दा तपाईंको प्रदर्शन राम्रो हुन सक्छ । मान्यता तपाईंको प्रमुख प्रेरक हो भने चुनौतीपूर्ण र सार्वजनिक रूपमा उपलब्धि देखाउन सकिने लक्ष्यले तपाईंलाई थप ऊर्जा दिन सक्छ । यो बुझाइ कार्यस्थलका व्यवस्थापकका लागि पनि उत्तिकै उपयोगी छ । कर्मचारीलाई केवल तलब, बोनस र सुविधा दिएर मात्र प्रेरित गर्न सकिँदैन । उनीहरूलाई काममा स्वतन्त्रता, विकासको अवसर, सहकार्य र आफ्नो योगदानको अर्थ बुझ्ने वातावरण पनि आवश्यक हुन्छ । संस्थाको ठूलो उद्देश्यसँग कर्मचारीको भूमिकालाई जोड्दा सम्बद्धताको भावना बढ्न सक्छ भने नयाँ जिम्मेवारी र विकासका अवसरले स्वायत्तता र व्यक्तिगत विकासलाई बल दिन सक्छ ।

अन्ततः प्रेरणा कुनै स्थिर गुण होइन । हाम्रो आर्थिक अवस्था, उमेर, काम, सम्बन्ध र जीवनका प्राथमिकतासँगै यसको स्वरूप बदलिन सक्छ । त्यसैले कहिलेकाहीँ लक्ष्यतर्फ अघि बढ्ने उत्साह हरायो भने आफूलाई असफल ठान्नुभन्दा एउटा प्रश्न सोध्नु उपयोगी हुन्छ, ‘मलाई वास्तवमा केले चलाइरहेको छ ?’ आफ्नो आगोमा इन्धन के हो भन्ने थाहा पाएपछि त्यसलाई फेरि बल्ने बनाउने उपाय पनि भेटिन सक्छ । लक्ष्यतर्फको पहाड उस्तै कठिन रहला, तर त्यसलाई चढ्ने कारण स्पष्ट भयो भने यात्रा फेरि सम्भव देखिन थाल्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्