मानिसको नैसर्गिक प्रवृत्ति संघर्षको धमिलो धरातलसँग भन्दा सफलताको झकमक्क चमकसँग जोडिनु हो । मानव मन सधैँ उज्यालो, शक्ति, ऐश्वर्य र अनुकूलतातर्फ स्वतः खिचिन्छ । तर, दुःखको घडीमा मानिस आफ्नै छायाँबाट पनि टाढा धकेलिएझैँ एक्लो बन्न पुग्छ । यो केवल कुनै एउटा युग वा समाजको कथा होइन, यो त जीवनको सर्वकालिक र सार्वभौम भोगाइले प्रमाणित गरेको परम सत्य हो ।
श्रीमद्भागवत महापुराणको एउटा अत्यन्त मार्मिक प्रसङ्गलाई स्मरण गर्दा यो सामाजिक यथार्थ प्रष्ट हुन्छ । जब द्वारकाधीश भगवान् श्रीकृष्णको छत्रछायाँ र वैभव यादव वंशमा थियो, तब सम्पूर्ण समाज उनीहरूकै वरिपरि परिक्रमा गर्दथ्यो । तर, जब पतनको घडी आयो र आफ्नै कुलको विनाशको स्थिति सिर्जना भयो, तब त्यो अपार शक्ति र वैभवको घमण्डमा बाँचेकाहरूलाई साथ दिने कोही रहेन । महाभारतको महासमर सकिएपछि हस्तिनापुरको राजसिंहासनमा पाण्डवहरू विराजमान हुँदा उनीहरूलाई बधाई दिने र खुसी मनाउनेहरूको सागर ओर्लिएको थियो । तर, तिनै पाण्डवहरू जब बाह्र वर्षको वनवास र एक वर्षको अज्ञातवासमा जङ्गलको कन्दमूल खाँदै, हिउँ र घामसँग लड्दै, कष्टकर संघर्ष गरिरहेका थिए, तब उनीहरूको दुःख बाँड्न कोही आएको थिएन । केवल पाण्डवहरूको आफ्नै सत्सङ्ग, धर्मप्रतिको निष्ठा र वासुदेव श्रीकृष्णको अभय हस्तमात्र उनीहरूसँग थियो । यसले प्रष्ट पार्छ कि राज्य, सत्ता र सुख छउञ्जेल आफन्त बन्नेहरूको लस्कर लाग्छ ।
उपनिषद्हरूको दर्शनले मानिसलाई अज्ञानताको अन्धकारबाट सत्यको प्रकाशतर्फ लैजाने मार्गदर्शन गर्दछ । उपनिषद्मा भनिएको छ कि यो भौतिक संसार र यसका सम्बन्धहरू अधिकृत रूपमा नाता र स्वार्थको धागोमा बुनिएका हुन्छन् । जबसम्म वृक्षमा हरियाली हुन्छ, फल र फूलको सुवास हुन्छ, तबसम्म अनेकौँ चराचुरुङ्गीहरू त्यसका हाँगाहरूमा गुँड बनाएर चिरबिर गर्छन् र सङ्गीत भर्छन् । तर, जसै सुक्खा खडेरीले त्यो वृक्षलाई सुकाउँछ, पातहरू झर्छन् र वृक्ष ठिङ्गो बन्छ, त्यसपछि ती चराहरू बिना कुनै मोह त्यो वृक्षलाई छोडेर अर्कै हरियो जंगलतिर उड्छन् ।
चाणक्य नीतिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि विपत्तिका बेला मात्र सच्चा मित्र, स्त्री, सेवक र बान्धवहरूको परीक्षा हुन्छ । सुखको समयमा त शत्रु पनि मित्रको भेषमा मुस्कुराउँदै देखा पर्छ । तर, दुःखको बेला मात्रै मानिसको वास्तविक चरित्र उदाङ्गो हुन्छ । संसारमा घटित घटनाक्रम र इतिहासका पृष्ठहरू पल्टाएर हेर्ने हो भने पनि यो कठोर यथार्थका अनगिन्ती प्रमाणहरू फेला पर्छन् । फ्रान्सका शक्तिशाली सम्राट नेपोलियन बोनापार्टको जीवन यसको ज्वलन्त उदाहरण हो । जब नेपोलियन सम्पूर्ण युरोपलाई आफ्नो औँलामा नचाउँथे र युद्धको मैदानमा विजयको झण्डा गाड्थे, तब पूरा फ्रान्स र उनका सैन्य अधिकारीहरू उनकै एउटा इशारामा ज्यान दिन तयार हुन्थे । उनको स्वागतमा पेरिसका सडकहरूमा फूलको वर्षा गरिन्थ्यो । तर, जब वाटरलुको युद्धमा उनको पराजय भयो र उनलाई सेन्ट हेलेनाको सुदूर टापुमा बन्दी बनाएर पठाइयो, तब उनका नजिकका मानिसहरू, उनका प्रशंसकहरू र हिजोसम्म उनको जयजयकार गर्ने सम्पूर्ण भीड गायब भयो । जीवनका अन्तिम दिनहरूमा नेपोलियनले अत्यन्त एकांकीपन र उपेक्षामा आफ्नो प्राण त्याग्नुप¥यो ।
त्यस्तै, महान् वैज्ञानिक र आविष्कारक माइकल फराडे वा अन्य कैयौँ स्रष्टा तथा चिन्तकहरूको जीवनलाई हेरौँ । जब उनीहरू प्रयोगशालाको अँध्यारो कोठामा दिनरात भोक र प्यास बिर्सेर, आर्थिक विपन्नतासँग जुध्दै नयाँ आविष्कारका लागि संघर्ष गरिरहेका थिए, तब समाजले उनीहरूलाई पागल र निरर्थक भन्दै पन्छाएको थियो । तर, जब उनीहरूका आविष्कारले सफलताको शिखर चुमे र विश्वलाई नयाँ दिशा दिए, तब तिनै मानिसहरू उनीहरूलाई महान् भन्दै सम्मानको माला पहिराउन अघि सरे । संघर्षको कठिन समयमा समाजका तर्फबाट उपेक्षा र तिरस्कार मात्र मिल्छ, तर त्यही संघर्षले जब सफलताको रूप लिन्छ, तब दुनियाँ बधाईको ढोल बजाउन आइपुग्छ ।
संघर्षको अँध्यारोमा भेटिने उपेक्षा र सफलताको उज्यालोमा पोखिने प्रशंसा मानव समाजको सबैभन्दा ठूलो र नाङ्गो यथार्थ हो । जब मानिस आफ्ना सपना, आदर्श वा अस्तित्वका लागि अभाव, पीडा र अनिश्चिततासँग एक्लै लडिरहेको हुन्छ, तब दुनियाँ उसको अद्भूत सामथ्र्य र सङ्कल्पलाई होइन, केवल उसको वर्तमान असहायतालाई हेरेर पन्छाउँछ । मानिसका निरन्तरका प्रयासहरूलाई मूर्खता वा समयको बर्बादीको संज्ञा दिँदै समाजले उसलाई सर्वथा एक्लो छाडिदिन्छ । तर, जब तिनै पसिनाका थोपाहरू, रातभरिका एकांकी साधनाहरू र धैर्यताले सफलताको भव्य स्वरूप ग्रहण गर्छन्, तब दृश्य रातारात बदलिन्छ ।
यो यथार्थले मानिसलाई जीवनको एउटा महान् सत्यसँग साक्षात्कार गराउँछ कि संसारले व्यक्ति वा उसको निष्ठालाई होइन, केवल उसको सफलता र सामथ्र्यलाई मात्र पुज्छ । अनुकूल परिस्थितिमा झुम्मिने भीड केवल क्षणिक छायाँ मात्र हो, जबकि अँध्यारोमा एक्लै लड्दा आर्जन गरेको आत्मबल नै मानिसको वास्तविक र स्थायी सम्पत्ति हो । समाजको यो दोहोरो चरित्रलाई सम्झिएर दुःखी हुनुको साटो, यसलाई जगत्को स्वाभाविक नियम मानेर आफ्नो कर्तव्यको मार्गमा अविचलित र शालीन भावले अघि बढ्नु नै सच्चा बुद्धिमत्ता हो ।
संसारको यो रीत केवल इतिहासका महान् पुरुषहरूका लागि मात्र सीमित छैन, यो त प्रत्येक सामान्य मानिसको दैनिक जीवनमा घटिरहेको घटना हो । जब मानिसको पदोन्नति हुन्छ, जब उसले नयाँ घर बनाउँछ वा नयाँ गाडी किन्छ, तब बधाई दिने र चिया–पानमा सरिक हुने नातेदार र मित्रहरूको घुइँचो लाग्छ । तर, यदि तिनै व्यक्ति कुनै गम्भीर रोगको शिकार बनेर अस्पतालको शैयामा छट्पटाउन पुग्यो वा व्यवसायमा ठूलो घाटा बेहोरेर सडकमा आयो भने हिजोसम्म उसलाई आफ्नो भन्नेहरूको टेलिफोन पनि उठ्न छाड्छ । मानिसहरू उसको दुःख देखेर मद्दत गर्नुपर्ला कि भन्ने डरले ढोका बन्द गर्छन् र बाटो छलेर हिँड्न थाल्छन् ।
कसैको दुःख र संघर्षमा सहभागी हुनका लागि ठूलो मुटु, निःस्वार्थ भाव, त्याग र धैर्यताको आवश्यकता पर्छ । दुःख आफैँमा एउटा भारी हो र अर्काको भारी बोक्न प्रायः कोही पनि तयार हुँदैनन् । तर, जीवनको यो निर्मम सत्यलाई बुझेपछि मानिसले निराश हुनुपर्छ भन्ने होइन । बरु, यो बोधले मानिसलाई जीवन र जगत्लाई अझ वस्तुपरक र गहिरो गरी बुझ्ने दृष्टि प्रदान गर्दछ । यसले मानिसलाई सफलताको मातमा मात्तिनबाट जोगाउँछ र दुःखको बेला हतास हुनबाट बचाउँछ ।
साथै, संघर्षको घडीमा मिल्ने एकांकीपनले मानिसलाई आफ्नै भित्री शक्तिसँग परिचित गराउँछ । जब बाहिरी दुनियाँका सबै ढोकाहरू बन्द हुन्छन्, तब मानिसभित्र रहेको आत्मबल, धैर्य र विवेकको ढोका खुल्छ । संघर्षको त्यो सुनसान बाटोमा मानिसले आफ्नो वास्तविक क्षमता पहिचान गर्छ । दुःखमा साथ दिनेहरू थोरै वा शून्य नै किन नहोऊन्, तिनै औँलामा गन्न सकिने मानिसहरू वा आफ्नै आत्मबल नै जीवनका वास्तविक सम्पत्ति हुन् ।
अन्ततः, मानव जीवन सफलता र असफलता, सुख र दुःखको एउटा चक्र हो । संसारको नियम नै यही हो कि फल लाग्दा हाँगाहरू निहुरिन्छन् र मानिसहरू त्यसलाई टिप्न ओइरिन्छन्, तर हिउँदमा जब रुखका पातहरू झर्छन्, तब रुख र आकाशको बीचमा केवल मौनता मात्र बाँकी रहन्छ । जगत्को यो चञ्चल प्रवृत्तिलाई बुझेर जसले आफ्नो यात्रा जारी राख्छ, उसैले जीवनको वास्तविक मर्म र सौन्दर्यलाई प्राप्त गर्न सक्छ । सुखमा सबै हुन्छन् तर दुःखमा कोही हुँदैनन् भन्ने तथ्य जीवनको निराशाजनक अन्त्य होइन, बरु यो त मानिसलाई आत्मनिर्भरता, आन्तरिक सत्य र वास्तविक सम्बन्धहरूको मोल बुझाउने एउटा परम पावन जीवन–दर्शन हो । जब मानिसले यो बुझ्छ कि सुखको भीड केवल अनुकूल परिस्थितिको छायाँ मात्र हो, तब ऊ बाहिरी सहाराको बैसाखी फ्याँकेर आफ्नै खुट्टामा उभिन सिक्छ । संसारको यो रीतलाई बुझेपछि मानिस उपेक्षाबाट दुःखी हुन छाड्छ र प्रशंसाबाट मात्तिन छोड्छ । यसले मानिसलाई बाहिरी दुनियाँको भ्रमबाट मुक्त गराएर आफ्नै आत्माको अमर ज्योतिसँग जोडिदिन्छ र यही नै जीवनको सबैभन्दा सुन्दर, खारिएको र पावन दर्शन हो ।
(लेखक ढकाल नेपालकै पहिलो प्राकृतिक चिकित्सा विज्ञान कलेज रजहरका प्राचार्य हुन् ।)