नेभिगेशन
दृष्टिकोण

स्मृतिमा भाषासेवी गोपाल पाँडे ‘असीम’

वि.सं. १९७० जेठ १५ गते काठमाडौंमा एक बालकको जन्म भयो । त्यही बालक पछि प्रख्यात भाषासेवी गोपाल पाँडे ‘असीम’ बाट प्रख्यात हुनुभयो । प्रत्येक वर्षझंै  यसपालि पनि उहाँको जन्मजयन्ती साउन ३१ गते मनाइँदै छ । जन्मिएका सबै व्यक्तिको जन्मजयन्ती मनाइँदैन । त्यस्ता मानव जसले राष्ट्र, भाषा, साहित्य, कला र अन्य क्षेत्रमा योगदान दिन्छ, उहाँहरूको जन्मजयन्ती मनाइने गरिन्छ । त्यसरी नै असीमले नेपाली भाषा, शिक्षा तथा साहित्य सेवाका लागि व्यक्तिगत स्वार्थ त्यागी जीवनभर लागिरहनुभयो । त्यसैले नेपाली समाजले एक शताब्दी बितिसक्दा पनि उहाँलाई सम्झने गरेको छ । उहाँको स्वर्गारोहण ६५ वर्षकै उमेरमा वि.सं २०३५ सालमा भयो । जसबाट नेपाली शिक्षा र साहित्यमा अपूरणीय क्षति भयो ।
राष्ट्रभाषाका माध्यमबाट शिक्षा प्रदान गर्नुपर्छ र साहित्य संस्कृतिको उत्थानबाट राष्ट्रको सेवा गर्ने उद्देश्यले नेपाली शिक्षा परिषद्को परिकल्पना गरी वि.सं २००८ सालमा विभिन्न विद्वान् र शिक्षाप्रेमीहरूको सहयोगमा उहाँले नेपाली शिक्षा परिषद्को स्थापना गर्नुभयो । जुन संस्था नेपाली भाषा साहित्यको उत्थानका लागि कवि, लेखक तथा कलाकारको जन्मजयन्ती मनाउने नेपालको सबैभन्दा पुरानो संस्था हो । 
सानो कदको मानिस तर सत् विचारले अग्लो व्यक्तित्व उहाँ सधंै दौरा सुरवाल कोटमा सजिएर, हाते ब्याग बोकेर, नेपाली भाषा साहित्यका लागि एकलव्य जसरी निरन्तर स्वार्थविहीन यताउता भांैतारिरहने मानिस हुनुहुन्थ्यो । 
विद्यालय पढ्ने क्रममा विद्यालयको पाठ्यपुस्तकका रूपमा गोपाल पाँडे ‘असीम’को “ह्रस्व दीर्ध आदिको सवाई” भन्ने व्याकरणको पुस्तक राखिएको थियो । गुरुले पुस्तकका श्लोकहरू कण्ठस्थ गर्न लगाउनुहुन्थ्यो । मलाई अझै पनि लेख्ने क्रममा त्यस पुस्तकका श्लोकहरूले ह्रस्व दीर्ध मिलाउन धेरै सहयोग गरेको छ । यही सन्दर्भमा निम्न एक ह्रस्व दीर्घ सवाईको श्लोक मेरो मनमस्तिष्कमा अझै गुञ्जिरहन्छ ।
“पदान्तमा भाले ह्रस्व पोथी चाहिँ दीर्घ
जस्तै भाइ, नाति ह्रस्व तर दिदी दीर्घ” 

वास्तवमा नेपाली भाषाका व्याकरणसम्बन्धी अत्यन्त उपयोगी पुस्तकका रूपमा यस पुस्तकलाई लिन सकिन्छ । त्यस पुस्तकमा कुन ह्रस्व र कुन दीर्घ हुन्छ भन्ने नियम र उदाहरण विस्तृत रुपमा उल्लेख गरिएको छ । त्यस पुस्तकमा व्याकरण सम्बन्धी नियम सवाई छन्दमा मिठो गरी गाउन सक्ने गरी रचना गरिएको छ । जसका कारण शिक्षक, लेखक, कवि, पत्रकार, सरकारी कर्मचारी तथा लोकसेवा तयारी गर्ने परीक्षार्थीहरूलाई समेत सजिलो भएको थियो । यसरी नै उहाँले रचना गरेका व्याकरणसम्बन्धी पुस्तक (१) रचना दर्पण, (२) रचना केशर, (३) ह्रस्व दीर्घ आदिको सवाई, (४) सुनीति विरह, (५) भजन संग्रह आदि महŒवपूर्ण छन् । 
 नेपाली शिक्षा परिषद्को स्थापनापश्चात् प्रवेशिका परीक्षाको सुरुवात भयो । त्यो प्रवेशिका परीक्षाले त्यसबेलाको एस.एल.सी सरह सरकारी स्तरबाट मान्यता पायो । नेपाली शिक्षा परिषद्बाट नेपाली उच्च शिक्षालय खुल्यो । त्यस शिक्षालयमा रुद्रराज पाण्डे, बालकृष्ण सम, भीमनिधि तिवारी, वदरीनाथ भट्टराई, सिद्धिचरण श्रेष्ठ, चूडानाथ भट्टराय, चित्तधर हृदय, लक्ष्मीप्रसाद देवकोटा, ऋषभदेव शर्मा, यादवप्रसाद पन्त, तीर्थप्रसाद ढुङ्गाना, नेत्रबहादुर थापा, खड्मान मल्ल, लेखनाथ पौड्याल, टुकराज—पद्मराज मिश्र, ईश्वर बराल, मेरुनाथ पाण्डे आदि विद्वानहरूले उक्त शिक्षालयमा सहयोग रुपमा निःशुल्क पढाइ दिने कार्य गर्नुभएको कुरा नेपाली शिक्षा परिषद्को संक्षिप्त परिचय नामक पुस्तकाबाट ज्ञान हुन्छ । 
 प्रवेशिका परीक्षा लोकप्रिय बन्दै राजधानीबाहिर पनि विराटनगर, जनकपुर, पोखरा, पाल्पा, कुन्छा, तेह्रथुम, हनुमान नगर, भैरहवा, धरान, भरतपुर आदि विभिन्न स्थानमा परीक्षा केन्द्र खुले भने धेरै विद्यार्थीहरू यस परीक्षामा उत्तीर्ण भई देशका विभिन्न उच्च पदमा पनि कार्यरत रहे ।
 यसरी एक व्यक्तिको परिकल्पना र भगिरथ प्रयासबाट ‘असीम’ले यस्तो कार्य गर्नु कुनै चानचुने कार्य थिएन । उहाँ अरु कसैलाई प्रवेशिकाको उत्तरपुस्तिका बोकाई घर–घरमा परीक्षणका लागि पु¥याउन जानुहुन्थ्यो । त्यस बखत मेरो घरमा पनि मेरो ठूलोबुबा टुकराज मिश्र र मेरो बुबा पद्मराज मिश्रलाई प्रवेशिकाको उत्तरपुस्तिका परीक्षणका लागि पु¥याउन ल्याउनुहुन्थ्यो । त्यसबखत अहिलेको जस्तो यातायात र सञ्चारको साधनको सुविधा थिएन । उहाँ त्यसबेला नेपाली भाषा, शिक्षा तथा साहित्यका लागि अहोरात्र खटिरहनुहुन्थ्यो ।
 हाल भाषासेवी गोपालले स्थापना गर्नु भएको नेपाली शिक्षा परिषद्ले पनि ७५ वर्ष पूरा गरिसकेको छ । उहाँ नभए पनि त्यस परिषद्का हालका अध्यक्ष रमा शर्मा र परिषद्का अन्य सदस्यले यस परिषद्का कार्यहरूलाई कुशलतापूर्वक निरन्तरता दिँदै आउनुभएको छ । यस परिषद्ले उच्च शिक्षालय स्थापना, प्रवेशिका परीक्षा सञ्चालन, महाविद्यालय र विश्व विद्यालयस्तरीय शिक्षाका लागि प्रयत्न, मोती जयन्तीको आयोजना तथा मोती स्मारकको निर्माण, स्वर्गीय कवि लेखकहरूको सामूहिक जयन्ती आयोजना, समस्या पूर्ति कवि सम्मेलन आयोजना, जीवित साहित्यकार अभिनन्दन आयोजना,  लेखनाथ जयन्तीको आयोजना र लेखनाथ स्मारकको निर्माण, विभिन्न ग्रन्थहरूको प्रकाशन, प्रत्येक वर्ष कवि लेखकहरूलाई नगद पुरस्कारले सम्मान, विभिन्न स्थानमा कवि लेखकहरूको शालिक निर्माण, परिषद् ७५ वर्ष पुगेको उपलक्ष्यमा अमृत वर्ष महोत्सवका अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । 
गोपाल पाँडे ‘असीम’ले गरेका कार्यहरूको सम्मान गर्दै त्यस बखतको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिने ‘महेन्द्र प्रज्ञा पुरस्कार’ बाट वि.सं २०३४ मा उहाँलाई पुरस्कृत गरियो । यसैगरी नेपाल सरकारले पनि असीमको सम्मानका लागि उहाँको जन्म शताब्दीको अवसर पारी वि.सं २०७० सालमा उहाँको फोटो अंकित हुलाक टिकट प्रकाशित ग¥यो । देशका यस्ता रत्नहरूको जन्मजयन्ती राष्ट्रिय स्तरमै मनाई भावी पुस्तालाई जानकारी दिनु आवश्यक छ । स्मृतिमा मात्र रहनुभएका भाषासेवी गोपाल पाँडे ‘असीम’ प्रति हार्दिक श्रद्घाञ्जली ।

(मिश्रका दुई पुस्तक प्रकाशित छन् ।) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्