नेभिगेशन
दृष्टिकोण

नाग–पञ्चमी र यसको महिमा

नेपाली धर्म, संस्कृति र परम्परा अनुसार नाग पञ्चमीका दिन नागलाई पूजाआज गरिँदै आएको छ । विशेष गरी नेवारी समुदायले नागलाई अत्यन्तै सम्मान गरिन्छ । नेवारी संस्कृतिमा अभिन्न रुपमा नागको विशेष स्थान रहेकाले नागलाई पूजा गर्ने, विभिन्न चाडबाड र जात्रामा पनि नागलाई विशेष महत्व दिइन्छ । 
नाग बस्ने ठाउँ अर्थात् नागको बासस्थानका आधारमा बज्रयाना बौद्ध परम्पराअनुसार १२ तीर्थको विकास भएको छ । वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ, तक्षक नागराजको चांगु पुण्यतीर्थ, त्यस्तै शान्ति तीर्थ कोटेश्वर, शंकर तीर्थ शंखमूल, ज्ञान तीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राज तीर्थहरु विभिन्न नागका बासस्थान हुन् । हरेक वर्ष नाग पञ्चमीका दिन ती नागका बासस्थानमा गई पूजा गरिन्छ । त्यस्तै घरैपिच्छे नागको चित्र टाँसेर पूजा गर्दा नागले घरको रक्षा गर्ने, चट्याङ पर्दैन र प्रशस्त मात्रामा पानी पनि पर्ने जनविश्वास छ । 
कश्यप ऋषिकी श्रीमती कद्रुबाट नागको जन्म भएको हो । नाग सर्पहरुको राजा पनि हो । नागको पूजा गर्नुमा धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक मान्यता छ । विष्णु भगवान् र महादेवलाई अत्यन्तै मनपर्ने भएर नै भगवान विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भने महादेवले नागको माला लगाएर बस्नु भएको हो । बुद्ध धर्ममा पनि नागको महत्व छ । त्यसैले बुद्धको मुकुण्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ ।  नागहरुमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म, कुलिट, कर्कट, शेख र चेष्टलाई विशेष रुपमा लिइन्छ । 
नाग पञ्चमीका दिन धापाखेलको नाग दहमा ठूलो मेला लाग्छ । एक आख्यान अनुसार १६ वर्षकी तरुनी तर कुरुप एउटी किरातिनीलाई लोग्नेले त्यागेर गएपछि यस्तो कुरुप भएर बाँचिरहनुको केही सार छैन बरु मरेर जान्छु भनी जंगलमा गइन् । जंगली जनावरले खाओस् भनेर जंगलमा गए पनि हरिबोधिनी एकादशीदेखि कात्तिक पूर्णिमासम्म खान नपाएर बस्नु प¥यो । त्यस किरातिनीलाई जंगली जनावरले पनि नखाएकाले आत्महत्या गरेर मर्छु भनी धापाखेलको नागहमा फाल हालिन् । तर दैव संयोग त्यही समयमा एउटा किराँत युवक पनि शिकार खेल्दै त्यहाँ पुगेछ । नागदहमा युवतीले हाम फालिरहेकोे देखी बचाएर ल्याउँदा त्यस कुरुप किरातिनी अत्यन्तै राम्री सुन्दरीका रुपमा देखा परिन् । त्यस किरातिनीले नयाँ रुप लिन पाएको र त्यस नागदहको महत्व र महिमाको गुणगान गर्दै नाग पञ्चमीका दिन ठूलो मेला लाग्ने गरेको हो भनाइ छ । 
भक्तपुरको सिद्धपोखरीमा नाग पञ्चमीका दिन ठूलो मेला लाग्दछ । मल्ल वंशका प्रथम राजा अरि मल्लको शासनकालमा पानी नपरेर हाहाकार भएकाले राजाले तान्त्रिक विधिअनुसार सिद्ध पोखरीमा नाग सिद्ध गरेका रहेछन् । त्यही सिद्धपोखरीको डिलमा बसेर एक पटक ठिमीका एक जना व्यापारी र उसको साथी तान्त्रिक गफ गरिरहेको समयमा सिद्धपोखरीका नागलाई त्यो तान्त्रिकले अनेक प्रकारले हाउभाउ गरी जिस्क्याउन थालेछ । पोखरीभित्रको नागलाई साह्रै रिस उठेछ । अनि त्यसले त्यस तान्त्रिकलाई पोखरी भित्र आई लड्न चुनौती दिएछ । त्यो तान्त्रिक पनि लड्न तान्त्रिक पोखरीमा हाम फाल्छ । केही समयपश्चात् पोखरीको नागलाई मारेर त्यो तान्त्रिक साथी फर्केर आउँदा व्यापारी साथी डराएर ठिमीतर्फ भागेछ । साथीले चामलले हिर्काउला र म फेरि मान्छे हुन सक्छु भनी तान्त्रिक नाग जति जति पछि लाग्छ उति उति नै त्यो व्यापारी साथी झन् झन् डराएर गएकाले तान्त्रिक नागका रुपमा बस्न बाध्य भएर सिद्ध पोखरीमा बसेछ भनिन्छ । आजसम्म पनि ठिमीका मानिस डरले त्यस सिद्ध पोखरीमा जाँदैनन् ।    
त्यसरी नै टौदहमा पनि नाग पञ्चमीका दिन कर्कोटक नागराजको विशेष रुपमा पूजा गर्ने र मेला भर्ने परम्परा छ । महामञ्जुश्रीले उपत्यकाको पानी चोभारको हासिकापबाट बाहिर पठाउँदा कर्कोटक नागराज रिसाई बाहिर जान लाग्दा मञ्जुश्रीले नागराजलाई बिन्तिभाउ गरी मनाएर टौडहमा राखेको हो भनिन्छ । 
नागराज कर्कोटककी रानीको आँखा दुखेका बेला नागराजले वैद्य खोज्दै हिँडेका बेला बाटोमै भेटेका एक जना ज्यापुलाई लगेर रानीको आँखा दुख्ने रोग निको पार्ने आग्रह गर्दा त्यस ज्यापुले करुणामयलाई सम्झेर कानको मयल माडी रानीको आँखामा लगाइदिँदा रोग निको भएकाले नागराज खुसी भई हिरामोती नवरत्न जडित भोटो ज्यापुलाई उपहार दिए । त्यो ज्यापुले खेतमा काम गर्दा भोटो फुकालेर राखेको समयमा एउटा ख्याकले त्यो भाटो चोरेर भागेछ । एक दिन आफनो भोटो लगाएर रातो मच्छिन्द्रनाथको जात्रा हेरिरहेका ख्याकलाई देखी त्यो ज्यापुले यो भोटो मेरो हो मलाई देउ भनी झगडा गर्न थालेछ । यो कुरा थाहा पाएर रातो मच्छिन्द्रनाथले त्यो भोटो आफ्नो जिम्मामा लिई दुवैलाई प्रमाण लिएर आउन र जसको भोटो हो उसैलाई दिइनेछ भनेछन् । त्यही आख्यानअनुसार आजसम्म पनि हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा पुग्दा यो कसको भोटो हो भनी देखाउने परम्परा रहिआएको हो । यसैले हरेक वर्ष भोटो देखाउने जात्रा भनी रातो मच्छिन्द्रनाथले आफ्नो जिम्मामा रहेको भोटो देखाउने गरिएको हो । 
नागनागिनी मारेर चलाइएको भक्तपुरको बिस्केट जात्रा, छुमा गणेशको जात्रा, नागको आसन बनाई बसेका गुरु गोरखनाथलाई आशनबाट उठाएर वर्षा गराई सहकाल ल्याउन गुरु गोरखनाथका पनि गुरु रातो मच्छिन्द्रनाथलाई आसामको कामरुप कामाख्याबाट ल्याई जात्रा चलाउनु पनि नागसँग सम्बन्धित छ । 
काठमाडौंको शोभा भगवतीमा धोरे नाग, सुन्धारा टुँडिखेलको मीन नाग, गल्कोपाखा दक्षिण ठमेलको हरि नाग, इटुम्बहालको जल नाग, टेकु दोभानको टेकु नाग, थानकोटको पारी नागढुङ्गा, धापाखेलको नागदह, चोभार पारी टौडह, नक्साल र महाराजगञ्जको नागपोखरी र पशुपतिनाथको आभूषण वासुकी नाग र रातो मच्छिन्द्रनाथको आभूषण कर्कोटक नागको पूजा अर्चना गरेर नाग पञ्चमी विशेष रुपमा मनाउने गरिन्छ ।
(लेखक डंगोल धर्म संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्