नेभिगेशन
दृष्टिकोण

सिद्धान्तनिष्ठ र एकताबद्ध कांग्रेसको आवश्यकता

इतिहासको नासोलाई बचाउनैपर्छ
नेपाली कांगे्रस एउटा निर्वाचन लड्नका लागि दर्ता भएको दलमात्र होइन, यो त नेपाली इतिहासको पुनर्जागरणको प्रतीक पनि थियो र अझै छ । पुनर्जागरणको अर्थ जागृत अवस्थामा पनि नबुझेको कुरालाई अझ जागृत बनाउँदै सही बाटो पहिल्याउने काम हो । जसको नेतृत्व नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै गर्दै आएको कुरा नेपालको इतिहास साक्षी छ । चाहे २००७ सालको राणाशासन फाल्ने जनक्रान्ति होस् या २०१८, २०३१ सालको पञ्चायती व्यवस्था विरुद्धको सशस्त्र क्रान्ति होस् । अनि मुलुकको अस्तित्वका लागि २०३३ साल पुस १६ गतेको बीपीको राष्ट्रिय मेलमिलाप तथा एकताको शान्तिपूर्ण नीति होस् या २०३६ सालमा तत्कालीन महाराजबाट घोषित पञ्चायत कि बहुदल भन्ने छनोटका लागि भएको जनमत संग्रहका बेलामा बहुदलको पक्षमा जनउभार तयार गर्ने काममा होस् या २०४६ फागुन ७ गतेबाट सुरु भएर २०४६ चैत २६ गते राती बहुदल पुनप्र्राप्ति र त्यसपछि नयाँ संविधान निर्माण, नयाँ आमनिर्वाचन गरेर सत्ता शान्तिपूर्ण तरिकाले निर्वाचित जनप्रतिनिधिलाई सुम्पनेसम्मको नेतृत्व लिने काम पनि नेपाली कांग्रेसले लिएको थियो । त्यसपछिको नेपाली समाजलाई  बहुदलीय परम्परामा दीक्षित गर्नु, समसामयिक विश्वको खुला अर्थनीति, सामाजिक न्यायमुखी प्रजातन्त्रको विकास र अभ्यास गर्ने कामको नेतृत्व पनि आजसम्म नेपाली कांग्रेसको नै भागमा परेको छ र अरू दलहरू सहयोगीको भूमिकामा या विपक्षीको भूमिकामा रहेर पनि प्रजातन्त्रको विकासक्रम र अभ्यासमा लागिरहेका छन् । 
नेपाली कांग्रेसमा बेला–मौकामा आउने उतारचढाव एउटा प्रजातान्त्रिक संस्थामा आउने सामान्य प्रक्रिया मान्दामान्दै पनि अहिले भने यो संस्था जटिलतम सैद्धान्तिक तथा व्यावहारिक समस्यामा जकडिएको देखिन्छ, जसले प्रजातन्त्रप्रेमीहरूमा नयाँ छटपटी देखिन्छ भने प्रजातन्त्र विरोधीहरूमा प्रजातन्त्रको पुनर्जागरणको मियो नै कमजोर हुँदा देखिने खुसी लुकेको छैन, जसको भनक पोहोरको अप्रत्याशित जेनजी आन्दोलन र त्यसको परिणामले देखाएको छ । अहिले कांग्रेस भौतिक रूपमा फुटको संघारमा देखिन्छ भने नैतिक रूपमा कुनै पनि बेला आपसमा मिलेर नयाँ–नयाँ समस्याहरूसँग जुध्ने अवस्थामा पुग्ने अवस्था पनि छ । 
नेपालको राजनीतिक इतिहासको आधुनिक कालखण्डमा राणाशासन फाल्नेदेखि राजशाहीको पतन गराउनेसम्मको पुनर्जागरणको नेतृत्व लिएको नेपाली कांग्रेस आफैं पुनर्जागृत हुनुपर्ने अवस्थामा कसरी पुग्यो भन्नेबारेमा धेरै बहस होला तर शक्ति प्राप्ति गरेर सत्तामा झुण्डिरहनुमात्र राजनीतिको गन्तव्य मान्नेहरू र सैद्धान्तिक रूपमा प्रजातन्त्रलाई अभ्यास गर्नुपर्ने भनेर मान्नेहरूका बीचमा देखिएको वैचारिक खाडल नै अहिलेको समस्या हो भन्ने बुझ्न धेरै अनुसन्धान गरिरहनुपर्दैन ।
पन्ध्रौं महाधिवेशन बेलैमा गरेर नमुनाको प्रजातान्त्रिक दल बन्ने कि पाएको एकपटकको बहुमतलाई प्रयोग गरेर अधिवेशन सार्दै जाने भन्नेमा जुन सैद्धान्तिक विवाद जेनजी आन्दोलन पहिलेदेखि देखिएको थियो, त्यही नै आजको विवादको कारण हो । विवादका धेरै कारणहरू होलान् जसलाई ठोस प्रमाण दिन नसकिने तर सबैले अनुभूत गरेका विषयहरू हुन्, ती अदृश्य कारणहरूले नै हो नेपाली कांग्रेसभित्र धमिरा पसेको तर दृश्यमा छलकपट र दम्भ नै कारण बनेका हुन् जसलाई कार्यकर्ता पंक्तिले नसहने निधो गरेको देखियो । त्यसले विशेष अधिवेशनसम्मको यात्रा तय भएको थियो जसबाट नेपाली कांग्रेसमा कसैले भने नयाँ पुनर्जागरण आयो, कसैले भने यो त अराजकताको कारण बन्यो । तर आज नेपाली कांग्रेस संघीय संसदमा जीवित हुने कारण त विशेष अधिवेशनको परिणामपछि निर्वाचनमा आधिकारिक उम्मेदवार उठाएर सीमित मात्रामै सही, जितेकाले हो । 
अहिले आफैंलाई सभापति भन्न रुचाउनुहुने तत्कालीन सभापति शेरबहादुर देउवाको सचेतनामा नै राजधानीमा विशेष अधिवेशन भयो, त्यसलाई निर्वाचन आयोगले मान्यता दियो, सर्वोच्च अदालतले पनि रिट खारेज गरेर विशेष अधिवेशनलाई आगामी महाधिवेशन गर्न पाउने खालको फैसला दियो । अर्थात् विशेष अधिवेशनवालालाई मान्यता दिनेबित्तिकै त्यो नेपाली कांग्रेस निरन्तर रहने बाटो बन्यो । आज सायद त्यही भएर होला, सानेपाको बीपी स्मृति भवन सबैको साझा भवन बनेको छ तर राष्ट्रिय भेला गर्ने समूहले भने चुनदेवीको कार्यालयलाई समानान्तर कार्यालयका रूपमा प्रयोग गरेका छन् र साउन २९, ३० र ३१ मा राष्ट्रिय भेला गरेर कार्यकर्ताहरूको भावना बुझेका छन् । त्यसले पनि दिएको सन्देश त्यही हो, नेपाली कांग्रेसले मात्र इतिहासको नासोलाई जोगाउन सक्छ आफैंमा एकता गरेर । 
सर्वोच्चको निर्णयले आएको नयाँ तरंग
२०८३ साल वैशाख ४ गते सर्वोच्च अदालतको एउटा संयुक्त इजलासले विशेष अधिवेशनविरुद्धको रिट खारेज गरेर विशेष अधिवेशनबाट चुनिएको र निर्वाचन आयोगबाट मान्यताप्राप्त समितिलाई सहज बनाएको थियो । त्यसमा चित्त नबुझेर नेकाको १४औं महाधिवेशनबाट निर्वाचित तत्कालीन सभापति शेरबहादुर देउवा र देउवाले विदेश जाने बेलामा दिएको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमअनुसार सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए र हालै त्यो निवेदनमाथि सुनुवाइ भई अधिवेशनका बारेमा सुरुदेखि ने सुनुवाइ हुने भन्ने निस्सा दिएपछि विशेष अधिवेशन नमान्नेहरूमा नयाँ शक्ति आएको देखियो र राष्ट्रिय भेला बोलाएर त्यसैलाई सम्मेलनका रुपमा परिणत गरी वैधानिकता दिएको देखियो । तर एउटा प्रश्न त उठ्यो कि अहिले नेपाली कांग्रेस कतिवटा छन् ? बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण शमशेर राणाको अगुवाइमा गठित नेपाली कांग्रेस एउटै छ । १४औं महाधिवेशनबाट संगठित नेपाली कांग्रेसमा त्यसबेला धाँजा फाट्यो जब महामन्त्री दुवैले विशेष अधिवेशनका लागि प्राप्त निवेदनलाई स्वीकार गरी नेपाली कांग्रेसको विधानको दफा १७.२ अनुसारको बाध्यकारी अधिवेशन गराए र १४औं महाधिवेशनको समिति विघटन भई नयाँ कामचलाउ समिति गठन भयो, जसको नेतृत्व तत्कालीन महामन्त्री गगनकुमार थापाले गर्न थालेका हुन् । त्यो समितिमा को–को छन् भन्ने कुरा गौण हो तर चौधौं महाधिवेशनको अस्तित्व कति छ भन्ने कुरामा अब सर्वोच्च अदालत प्रवेश गर्ने अवस्था आएको देखिन्छ । त्यसै पनि विशेष अधिवेशनको नेतृत्वलाई अस्वीकार गर्नेहरूबाट साउन २९ देखि ३१ सम्मका लागि नेपाली कांग्रेसका नाममा नै राष्ट्रिय भेला गर्ने निधो गरेका थिए ।
अबको व्यावहारिक तथा नैतिक उपाय 
हारेको मुद्दामा सुरुदेखि नै सुनुवाइ हुने भएपछि आफूलाई मुख्य कांग्रेस ठान्ने तर विशेष अधिवेशनमा भाग नलिएका नेता तथा कार्यकर्ताहरूको भेलाले वैधानिकता प्राप्त गर्न भनेर भेलालाई सम्मेलनको नाम दिइयो । कांग्रेस अहिलेसम्म एउटै छ तर आपसमा मत नमिलेर छिन्नभिन्न हुने अवस्थामा पुगेको देखिन्छ । भन्नेले त के पनि भन्छन् भने चाहे आफूलाई मूलधार मान्नेहरू हुन् या विशेष परिस्थितिमा विशेष अधिवेशन गरेर पार्टी जोगायौं भन्नेहरू हुन् दुवै पक्षलाई आफूमा मिल्न नसक्नेहरूले निस्सा पाऊन् या भोलि निर्वाचन जितेर हस्तिनापुरको राज्य लिऊन् या सानेपामा रजगज गरुन्, तिनले कसरी मुलुकलाई मिलाएर शासन गर्लान् ? विशेष अधिवेशन गर्ने पनि उनै कांग्रेस हुन्, राष्ट्रिय भेला गर्ने पनि उनै कांग्रेस हुन् अनि विवाद गर्नुभन्दा आपसमा बसेर सूत्र निकाल्ने र आगामी महाधिवेशनलाई एकताबद्ध महाधिवेशन गर्ने नीति आवश्यक छ । अहिले वामपन्थीहरू सरकारमा घुस्ने, रास्वपाको नजिक पुगेर विश्वासिलो हुने, वाम एकताको नाममा एकीकृत हुने र बीपीले इण्डोनेसियाको उदाहरण दिँदा कामरेड अडिटको कुरा गरेजस्तै गरी संगठित हुने प्रयासमा देखिन्छन् । तर, गैरवामपन्थीहरू भने आपसमा खिचातानी गर्ने, गैरवाममध्ये सबैभन्दा विश्वसनीय र ठूलो दल नेपाली कांग्रेस आफैंमा यदुवंशीजस्तै हुने र आफ्नो संगठनभित्र गर्ने कुरा अदालतमार्फत् प्राप्त गर्ने अभीष्टता राख्ने ? अनि कोही पनि आफ्नो इगोभन्दा दललाई ठूलो नमान्ने ? भन्ने बेलामा बीपी, गणेशमानजी, किसुनजीको त्यागको कुरा गरेर आफू त्यसैको अनुयायी मान्नेहरू दलभन्दा आप्mनो व्यक्तिगत पद र स्वार्थको पक्षमा वकालत गर्दै पार्टी एकताको कुरा गर्ने ? प्रजातन्त्रवादीहरूसँग साझा मुद्दामा एकता गर्नुपर्ने बेलामा आफ्नै पार्टीमा धाँजा फटाएर अर्थात् घर जलाएर आगो ताप्ने र त्यही घरको खरानीमा लुगा धुने काम भइरहेको बाहिरबाट देखिन्छ । विशेष अधिवेशनले जस्तोसुकै विधान पारित गरेको होस्, भेलाबाट सम्मेलन भएको भेलाले जस्तोसुकै प्रस्ताव पारित गरेर जनताको आँखामा वैधानिकताको लेपन लगाउन खोजून्, नेपाली जनताले चाहेका हुन् एउटा नेपाली कांग्रेस । सबैतिरबाट संविधानमाथि धावा बोलिएको बेला छ, हिजो आफूले मानेको संविधानमाथि आफैं प्रश्न उठाउनेहरूको जमात छ अनि त्यस्तो बेलामा एकताबद्ध प्रजातान्त्रिक शक्तिको सिंगो नेतृत्व गर्ने बेलामा आफूमा फुट र गुट देखाएर अनि वैधानिकताको विवादमा अदालत धाएर के होला ? धुजा–धुजा पार्टींभित्र बाइसे चौबिसे राज्य चलाउने होला ? लाज लाग्ने बेला भयो ती मतदाताहरूलाई जसले २०८२ सालको अप्ठेरो बेलामा पनि १८ लाख मत दिए । ११ लाख मत विशेष अधिवेशनका कारणले हरायो कि त्यसकै कारणले बच्यो भन्ने कुराको अहिले निक्र्योल हुँदैन, यो काल्पनिक कुरा हो । बरु माघ ४ गते गगनको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता नदिएर झुलाएको भए नेपाली कांग्रेस निर्वाचनमा शून्यमा झथ्र्यो र समानुपातिकतर्फको मत गणना हुँदैनथ्यो किनभने नेपाली कांग्रेस भन्ने दलको वैधानिकताको नै विवाद रहेको हुन्थ्यो, कोही पनि उठ्न पाउँदैनथे दलको नाममा । कम्तीमा अहिले ३८ जना त छन् प्रतिनिधिसभामा । सायद यही भएर होला, सांसदहरू राष्ट्रिय भेलामा देखिएनन् । त्यसो त राष्ट्रिय भेला पनि कांग्रेसकै थियो, सानेपा पनि कांग्रेसकै हो । आममतदाता चाहन्छन् आपसमा बसेर त्यस्तो निर्णय गरून् जसले सर्प पनि मरोस् र लौरो पनि नभाँचियोस् । अब विवाद आयो, आपसमा मन माझामाझ गर्नैपर्ने भयो भने दुई पक्षका बीचमा समझदारी हुने गरी मध्यस्थता गर्ने प्रजातन्त्रवादीहरूको समूह तयार गरौं र आगामी निर्वाचनका लागि एकताको सूत्र निकालौं । महाधिवेशन छिटो गरौं, भावी नेतृत्व सहमतिमा तयार गरौं भनेर भन्नेहरूको आवाज हराएको देखिन्छ । अहंकारभन्दा दुवैतर्फ सहिष्णुता देखाउने काम गरौं । पार्टी एकताका लागि जुनसुकै त्याग गर्न पनि तयार हुने हो भने कतिबेर लाग्छ र एकताको सन्देश प्रवाह गर्न ? वैधानिकताको एउटा पाटो आपैंm तयार हुन्छ यदि एकता भएमा । यसमा महŒवपूर्ण भूमिका रहनेछ पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवाको  जो भर्खरै विदेशबाट स्वस्थ भएर नेपाल फर्कनुभएको छ र राष्ट्रिय भेलाको नेतृत्वसमेत गर्नुभएको छ । अदालतको निर्णयभन्दा आपसमा बसेर गरेको निर्णय स्थायी हुन्छ भन्ने कुरा जति देउवाजीलाई थाहा छ, त्यति अरू कसैलाई थाहा छैन पनि । 
नैतिकताको मूल्यांकन कसरी गर्ने ? 
हिजो विशेष अधिवेशनको परिणामतः सभापति भएका गगनकुमार थापाको हस्ताक्षरमा निर्वाचन लड्ने आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा दर्ता गराएर कोही जित्ने, कोही हार्ने तर अहिले तिनीहरू नै हाम्रो सभापति शेरबहादुर देउवा हुन् भन्दै भेला गर्नेहरूको भने कसरी नैतिकताको मूल्यांकन गर्ने ? राजनीतिमा नैतिक चरित्रको ठूलो महŒव यसकारण देखिन्छ कि नैतिकताले सिद्धान्तनिष्ठता प्रमाणित गर्छ र सिद्धान्तबाट विचलित राजनीतिक कर्मले मात्र भोगको कुरा गर्नेछ, सिद्धान्त नैतिकतामा ह्रास आएको मानिन्छ । अब एउटै कुरा हो, आपसमा विवाद समाधान गर्ने र एकताबद्ध भएर आगामी स्थानीय निर्वाचन र प्रदेशसभाको निर्वाचनमा होमिने । मिलेपछि को नेता भन्ने त जनताले भन्ने हो जसले वैधानिक मत धेरै ल्याउनेछ, उही दलको र देशको नेता हुने त प्रजातान्त्रिक परिपाटी र परम्परा नै त हो । आममतदाता को बढी नैतिकवान् हो र को सिद्धान्तविहीन हो भन्ने कुरा आफ्नो मस्तिष्कको राडारमा सञ्चित गरेर बसेका छन् नि । 
(लेखक अधिकारी स्वतन्त्र पत्रकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्