नेभिगेशन
दृष्टिकोण

निन्दा गर्नु ठूलो पाप हो

एक पटकको कुरा हो । कुनै एक राजाले दिनहुँ एक सय जना व्यक्तिलाई खीर खुवाउने घोषणा गरे । त्यसै अनुरूप राजाले दिनहुँ एक सय जना दृष्टिविहीन व्यक्तिहरूलाई खीर खुवाउन थाले । दृष्टिविहीनहरूलाई खीर खुवाउन थालेको महिनौं बितिसकेको थियो । तर अचानक एकदिन खीर बनाउने दूधमा एउटा सर्पले आफ्नो मुख डुबाएर विष छाडिदियो । तर यो कुरा कसैलाई थाहा भएन । त्यही विषालु खीर खाएर ती एक सय जना दृष्टिविहीन मानिसहरूको मृत्यु भयो । राजा धेरै दुःखी भएर आफूलाई एक सय मानिसको हत्याको पाप लाग्ने चिन्तामा परे । राजा ज्यादै दुःखी भएर आफ्नो राज्य नै छोडेर जंगलमा पापको प्रायश्चित गर्न भगवान्को भक्ति गर्न गए । बाटोमा एउटा गाउँ आयो अनि राजाले चौबाटोमा उभिरहेका व्यक्तिहरूसँग गाउँमा कोही भक्तिभाव भएका परिवार छन् भनेर सोधे । किनकि उनलाई त्यस घरमा एक रात बास बस्नु थियो । ती गाउँलेहरूले बताए, त्यस गाउँमा दुईजना दिदी र भाइ बस्छन्, ती दिनहुँ पूजापाठ गर्छन, देवताको भक्तिभाव गर्छन् । 
राजा तिनै दिदीभाइ बसेको घरमा पुग्छन् र त्यहीं रात बिताउँछन् । बिहान जब राजा उठ्छन्, दिदीचाहिँ पूजामा बसेकी थिइन् । ती दिदीको नियम थियो कि नित्य सूर्योदय हुनुपूर्व नै पूजा सकेर उठ्ने अनि नास्ता तयार पार्ने । तर, त्यो दिन दिदी धेरै बेरसम्म पूजामै बसिरहिन् । जब दिदी पूजाबाट उठेर आइन् तब भाइले सोधे, आज तिमीले यति धेरै बेर किन लगाएको ? हाम्रो घरमा पाहुना आउनु भएको छ, उहाँलाई नास्ता गरेर धेरै टाढा जानु छ । दिदीले जवाफ दिइन्, भाइ, माथि एउटा गम्भीर मामिलामा उल्झन भएको रहेछ । धर्मराजलाई कुनै उल्झनको स्थितिमा कुनै फैसला लिनु थियो र म उही फैसला सुन्न बसेकी थिएँ । त्यसैले धेरै समयसम्म ध्यान गर्दै थिएँ । तब भाइले सोधे, त्यस्तो के कुरा थियो ? तब दिदीले बताइन्, फलाना राज्यका राजाले दृष्टिविहीन व्यक्तिहरूलाई खीर खुवाउने गथ्र्यो तर सर्पले दूधमा विष राखिदिएकाले ती सयजना व्यक्तिहरू मरे । अब धर्मराजलाई समझमा आइरहेको थिएन दृष्टिविहीन व्यक्तिहरूको मृत्युको पाप राजालाई लाग्छ कि सर्पलाई लाग्छ वा दूध छोपेर नराख्ने भान्छेहरूलाई ? राजाले पनि यो कुरा सुनिरहेका थिए । राजाले आफूसँग सम्बन्धित कुरा सुनेर दिलचस्पी भयो र दिदीसँग सोधे, तब फैसला के भयो ?
    दिदीले बताइन्, अझसम्म त कुनै फैसला भएको छैन । तब राजाले सोधे, म आजको रात पनि यहाँ बस्न सक्छु ? दुवै दिदीभाइले खुशीसाथ हुन्छ भने । 
    राजा अघिल्लो दिन त्यहीं बसे । तर त्यस गाउँका चौबाटोमा दिनभर मानिसहरूले यही चर्चा गर्दै थिए, हिजो जो व्यक्ति हाम्रो गाउँमा एकरात बास बस्न आएका थिए र कोही भक्तिभाववालाको घर सोधिरहेका थिए, उनको भक्तिको नाटक त सामुन्ने आइहाल्यो । रात बितायो यसकारण ऊ गएन किनभने जवान केटीलाई देखेर त्यस व्यक्तिको नियत बिग्रियो । त्यसैले त्यो सुन्न्दर र जवान केटीको घरमा पक्कै बस्छ वा त्यस केटीलाई लिएर भाग्नेछ । दिनभर त्यस चौतारामा त्यस राजाको निन्दा भई नै रह्यो । 
    भोलिपल्ट बिहान फेरि ध्यानमा बसेर दिदी उठिन् । तब राजाले सोधे– ‘दृष्टिविहीन व्यक्तिहरूको हत्याको पाप कसलाई लाग्यो ?’ तब दिदीले भनिन्, त्यो पाप त गाउँमा बस्ने चौताराका मानिसहरूले बाँडेर लिए । 
    यस घटनाको सारांश निन्दा गर्नु कतिसम्म नराम्रो रहेछ, निन्दकहरूले सधैं अरुका पाप आफ्ना शिरमा बोक्छन् र अरुले गरेका पाप कर्मको फल पनि भोग्छन् । अतः हामीले सधैं अरुको निन्दाबाट बच्नुपर्दछ ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण