हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित गुम्बाडाँडामा पुग्दा वन र खुला चौरबीच विशाल ढुङ्गाका अनेक आकृति देखिन्छन् । मकवानपुरका राप्ती र सुकौरा खोलाबाट ल्याइएका ढुङ्गामा सात देशका २३ मूर्तिकारले कुँदेका ती मूर्तिमा कतै मातृत्व छ, कतै सपना र आशा । कुनैले प्रकृति र मानव जीवनको सम्बन्ध देखाउँछन् भने कुनैले बदलिँदो मानव सभ्यताको कथा सुनाउँछन् । बन्द भवनभित्र सीमित नभई खुला आकाश, रुख, घाँस र डाँडाको प्राकृतिक परिवेशमा उभिएका यी कलाकृति गुम्बाडाँडालाई मूर्तिकलाको खुला सङ्ग्रहालयको स्वरूप दिन्छन् ।
आज अन्तर्राष्ट्रिय मूर्तिकला क्षेत्रका लागि परिचित यो ठाउँको सुरुआत भने निकै सामान्य प्रस्तावबाट भएको थियो । मूर्तिकार तथा गुम्बाडाँडा मूर्तिकला क्षेत्रका सल्लाहकार लक्ष्मण भुजेललाई स्थानीयस्तरमा सम्मान गर्न डाँडामा लगिएको थियो । खुला चौर र प्राकृतिक वातावरण देखेपछि उनले स्थानीयसँग केही ठूला ढुङ्गा जुटाएर साथी कलाकारलाई बोलाउने र चार–पाँचवटा विशाल मूर्ति बनाएर पार्कमा राख्ने प्रस्ताव गरे । तर छलफल विस्तार हुँदै जाँदा त्यही सोच अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा परिणत भयो ।
विसं २०६९ मा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना भयो । नेपालका १८ र विदेशका पाँच गरी २३ मूर्तिकार सहभागी कार्यशालामा कलाकारलाई एउटै विषयमा बाँधिएको थिएन । आफ्नै अनुभव, संस्कृति, शैली र अवधारणाअनुसार ढुङ्गालाई आकार दिने स्वतन्त्रता दिइएको थियो । त्यसैले गुम्बाडाँडामा अमूर्तदेखि यथार्थपरक र प्रतीकात्मक शैलीसम्मका विविध सिर्जना देख्न सकिन्छ ।
विशाल ढुङ्गा जुटाउनु आफैँमा चुनौती थियो । आयोजक टोली मुटनी खोला, राप्ती क्षेत्रलगायत ठाउँमा पुगेर ढुङ्गा खोज्दै हिँड्यो । राप्तीबाट ल्याइएका प्राकृतिक ढुङ्गासँगै शिवम् सिमेन्टले उपलब्ध गराएका काटिएका ११ वटा ढुङ्गाका ब्लक पनि प्रयोग गरिए । पर्याप्त विद्युत् नहुँदा जेनेरेटर चलाएर रातिसम्म कलाकारले काम गरेका थिए । विदेशी कलाकारको बसोबास, खानपान, उपकरण र आर्थिक स्रोत व्यवस्थापन पनि सहज थिएन । तर स्थानीय समुदायको उत्साहले कार्यशाला सफल भयो ।
गुम्बाडाँडामा नेपाली र विदेशी कलाकारका सिर्जना अहिले पनि सँगसँगै छन् । ‘जीवनचक्र’, ‘स्वप्न’, ‘उत्सुकता’, ‘शान्तिभूमि नेपाल’, ‘समुद्र मन्थन’ र ‘सुनौलो भविष्यको आशा’ जस्ता कृतिसँगै इटालीका मूर्तिकार बेटिनो फ्रान्सिनीको ‘विश्वकै पहिलो आमा’ विशेष आकर्षणको रूपमा रहेको छ । प्राकृतिक ढुङ्गाको मूल स्वरूपलाई धेरै नबिगारी मानव आकृति दिइएको उक्त सिर्जनामा नेपाली महिलाले लगाउने नाकको गहनासमेत झल्किन्छ ।
मूर्तिकार तथा ललितकला क्याम्पसका प्राध्यापक ओम खत्री गुम्बाडाँडाको सबैभन्दा ठूलो विशेषता प्रकृति र कलाको सङ्गमलाई मान्छन् । परम्परागत रूपमा मन्दिर, भवन वा निश्चित संरचनासँग जोडिएको मूर्तिकलालाई प्राकृतिक वातावरणमै सार्वजनिक रूपमा हेर्न सकिने अभ्यासले नयाँ सम्भावना खोलेको उनको भनाइ छ । उनका अनुसार यो प्रतियोगिता नभई कलाकारबीच विचार र अनुभव आदानप्रदान गर्ने ‘सिम्पोजियम’ थियो । स्थानीय बासिन्दा, विद्यार्थी र कलाप्रेमीले विभिन्न देशका कलाकारले ढुङ्गामा कसरी काम गर्छन् र कस्ता औजार प्रयोग गर्छन् भन्ने प्रत्यक्ष हेर्ने अवसरसमेत पाए ।
तर एक दशकभन्दा लामो समयपछि गुम्बाडाँडाको चुनौती नयाँ मूर्ति थप्नु मात्र होइन, भएका कृतिको कथा जोगाउनु बनेको छ । अधिकांश मूर्तिसँग शीर्षक र कलाकारको नाम राखिए पनि कृतिको विस्तृत अवधारणा दर्शकले त्यहीँ बुझ्ने व्यवस्था छैन । आधुनिक वा अमूर्त कलासँग परिचित नभएका दर्शकले मूर्तिको नाम पढे पनि कलाकारले भन्न खोजेको अर्थ बुझ्न कठिन हुन्छ ।
खत्रीका अनुसार प्रत्येक मूर्तिसँग कलाकार, देश, कृतिको नाम, आकार, माध्यम, सिर्जनाको अवधारणा र निर्माण समयसहितको विवरण हुनुपर्छ । मोबाइलबाट स्क्यान गर्न सकिने क्युआर कोडमार्फत कलाकारको परिचय, कृतिको अर्थ, निर्माण प्रक्रिया, पुराना तस्बिर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउन सके गुम्बाडाँडा घुम्ने ठाउँ मात्र नभई कला बुझ्ने खुला पाठशाला बन्न सक्छ ।
भुजेल पनि अभिलेखीकरणलाई अबको मुख्य आवश्यकता मान्छन् । कार्यशालाका तस्बिर तथा श्रव्यदृश्य सामग्री सुरक्षित रहेको र वृत्तचित्रसमेत तयार भएको भए पनि विस्तृत क्याटलग प्रकाशन हुन नसकेको उनी बताउँछन् । भविष्यमा पुस्तक प्रकाशन गर्ने, पुराना दृश्य सामग्री प्रदर्शन गर्ने र सङ्ग्रहालयको स्वरूपमा विकास गर्ने उनको परिकल्पना छ ।
करिब ५ दशमलव ६७ हेक्टरमा फैलिएको मूर्तिकला क्षेत्रको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ । घामपानीले तत्काल ठूलो क्षति पु¥याउने सम्भावना कम भए पनि नियमित सरसफाइ, लेउ हटाउने, मानवीय क्षतिबाट जोगाउने र अवस्थाको निगरानी आवश्यक छ । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क राम्तेलका अनुसार यहाँ वार्षिक करिब १५ देखि २० हजार आन्तरिक पर्यटक आउने अनुमान छ । व्यवस्थित बगैँचा, बाल उद्यान, ग्यालरी र अन्य आधारभूत संरचना थपिए पर्यटकलाई लामो समय अड्याउन सकिने उनको भनाइ छ ।
वडाध्यक्ष अनिलकुमार बानियाँका अनुसार सामान्य दिनमा करिब ५०–६० जना आउने गुम्बाडाँडामा शुक्रबार र शनिबार चहलपहल बढ्छ । स्थानीय पसल तथा व्यवसायमार्फत करिब १५–२० परिवार आयआर्जनमा जोडिएका छन् । वडाले सूचना केन्द्र, विद्यमान मूर्तिको संरक्षण, थप कलाकृति, बाल उद्यान र चित्रकला प्रदर्शनीस्थललगायत संरचना विकास गर्ने योजना अघि सारेको छ । करिब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाले यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको छ ।
तर गुम्बाडाँडाको सम्भावना पर्यटनमा मात्र सीमित छैन । भुजेल यसलाई कला विद्यार्थी र अनुसन्धानकर्ताका लागि स्रोत केन्द्र तथा कलाकारका लागि ‘लाइभ आर्ट हब’ बनाउन सकिने बताउँछन् । कार्यशालाका प्रारम्भिक स्केच, निर्माणका तस्बिर, भिडियो, कृतिको व्याख्या र सहभागी कलाकारका अनुभवलाई एउटै डिजिटल अभिलेखमा जोड्न सके गुम्बाडाँडा अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख कुभिर देवानका अनुसार अरनिकोको समयदेखि नै नेपालले मूर्तिकलामा अन्तर्राष्ट्रिय पहिचान बनाएको छ । अहिले नेपालमा करिब पाँच सय मूर्तिकार क्रियाशील रहेको र मूर्तिकलाको व्यावसायिक विकास पनि बढ्दै गएको उनी बताउँछन् । देशका करिब १० स्थानमा मूर्तिसहितका सङ्ग्रहालय रहेकाले तिनको संरक्षण र पर्यटकीय उपयोगमा जोड दिनुपर्ने उनको भनाइ छ ।
गुम्बाडाँडाको कथा अन्ततः ढुङ्गाको कथा मात्र होइन । फरक देश, संस्कृति र शैलीका कलाकार एउटै भूगोलमा भेला भएर ढुङ्गामार्फत संवाद गरेको इतिहास हो । कलाकार फर्किए, छिनो र हथौडाको आवाज रोकियो, तर उनीहरूले छाडेका सिर्जना आज पनि वन र खुला आकाशबीच उभिएका छन् । ती मूर्ति जोगाउनु भनेको ढुङ्गा जोगाउनु मात्र होइन—कलाकारको विचार, समयको स्मृति र हर्नामाडीले निर्माण गरेको एउटा महत्त्वपूर्ण कला इतिहास जोगाउनु हो ।