भाद्रकृष्ण अष्टमीको दिनलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा मान्ने चलन प्राचीन समयदेखि चल्दै आएको हो । सोह्र कलाले पूर्ण चन्द्रवंशमा पूर्णअवतारका रूपमा परमेश्वरले मानवरूपमा मथुरामा वसुदेव देवकीका आठौं गर्भका रूपमा धर्तीमा अवतरित परमात्मा श्रीकृष्णलाई मुख्य दश अवतारमध्ये आठौं अवतारका रूपमा लिइन्छ । द्वापरयुगमा धर्तीमा देखिएको अन्याय, अत्याचार, कुसंस्कार र दुष्ट, क्रुर, तानाशाह, वादशाहहरूलाई निर्मूल पारी सत्य धर्मको संस्थापनका लागि ब्रह्मा आदि देवताहरूको पुकारलाई र यसअघि नै दिइएको वरदान सिद्ध गर्न क्षीरसागरबासी लक्ष्मीका पति शेषसायी श्रीविष्णुले गोरूपी पृथ्वीको आर्तपुकारपछि यादव कुलका सुरसेनपुत्र वसुदेवका पुत्रका रूपमा जन्मलिने आश्वासन मुताबिक कंसद्वारा वन्दी बनाइएका कारागारमा मध्यरात्रि, मोहरात्रिमा सबैलाई मोहित पारी पूर्व योजनाअनुसार यसअघि नै योगमायालाई पठाई आफूले जन्म लिनुभएको थियो ।
सात्विक भावका मथुरा नरेश उग्रसेन राज्य सञ्चालनमा व्यस्त हुँदा वनविहार गर्ने इच्छा राख्ने उनकी रानीको कोखमा द्रुमिल दंैत्यको कालो छायाँ पर्न गई कुसंस्कार र छलको प्रतीकका रूपमा जन्मिएको कंसले धर्तीदेखि सारा ब्रह्माण्ड तहसनहस पार्न खोज्दा प्रताडित बनेकी धर्ती एवं सम्पूर्ण देवताहरूको प्रार्थनालाई सुनेर मानवस्वरूपमा जन्मी धर्म, न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधागमन समय ५१ सय २६ वर्ष पूरा भइसके पनि उनका पावनलीला, अवतार–प्रसंगले मथुराक्षेत्रदेखि वृन्दावन र अवतार–प्रसंग चर्चा हुने सम्पूर्ण क्षेत्र हालसम्म दिव्य धामकै रूपमा रहेका छन् । राजा उग्रसेनका भाइ देवककी पुत्री देवकीलाई अति माया गर्ने कंसले बहिनी देवकीको बिहे यादवकुलका वसुदेवसँग हुँदा दाइजोसहित पु¥याउन जाँदा बाटामा ‘देवकीकै आठौं गर्भबाट तेरो मृत्यु हुन्छ’ भन्ने आकाशवाणी सुनी रिसले चूर भई बाटैमा खड्ग प्रहार गरी बहिनीलाई मार्ने प्रयत्न गरेपछि वसुदेवको अनुनय–विनय, प्रार्थना र जन्मेको बच्चा सबै बुझाउँछु भन्ने प्रतिज्ञाअनुसार देवकीको ज्यान बचेको थियो ।
वसुदेव दम्पतीबाट जन्मेका ६ वटा बच्चासम्म निमिट्यान्न पारिसकेको अवस्थामा सातौं गर्भमा शेषलाई पठाई योगबलद्वारा वसुदेवकी अर्की पत्नी रोहिणीमा त्यो गर्भ सारेर गोकुलमा बस्ने नन्दपत्नी यशोदाका गर्भमा योगमायालाई जन्म लिने प्रेरणा भएको र सबै परिवेश मिलाई देवकीमा आठौं गर्भमा भने आफू रहने अनि सम्पूर्ण देवताहरूलाई गोपका रूपमा र देवीहरूलाई गोपीका रूपमा धर्तीमा अवतरित गराउने र स्वयं महालक्ष्मी भने रुक्मिणीका रूपमा धर्तीमा अवतरण हुने प्रसंग पनि परमेश्वरबाट मिलाइसकिएको थियो । देवकीकोे सातौं गर्भश्राव भएको हल्ला हुँदा कंसलाई गुप्त कुरा थाहा भएन । आठौं गर्भधारणा भएको खबरपछि कडा पहरा दिई कारागारमा ७ ताल्चा बन्दी गर्दा सम्पूर्ण लोकालोकमा रहेका देवताहरूले संसारका नायक, अधिपतिले लोकरक्षाका लागि प्रदूषणयुक्त आमाको गर्भमा बास गर्नु परेकोमा अनेकाँैं स्तुति, पुकार, वन्दना गर्न लागे, भागवतमा यसलाई गर्भस्तुति भनिन्छ ।
प्रकृति शान्त, उत्तम, ग्रह, नक्षत्र, तारागण सबै अनुकूल, पृथ्वी, अप, तेज, वायु र आकाश नै पूरै स्वच्छ भएका बखत दिव्यतेजसहित भाद्रकृष्णका रात्रिमा कंसका कालकोठरीमा प्रस्रवपीडाबिना नै देवकीका गर्भबाट प्रकट भएका भगवान्को स्वरूप अद्भुत थियो । शंख, चक्र, गदा, पद्म, किरिट, कुण्डल, मुकुट, मयुरपंखी शिर, पीताम्बरधारी, श्रीवत्स चिह्नको वक्षस्थल, घाँटीमा कौस्तुभमणि र कमल नेत्र परमेश्वरको दिव्य दर्शन पाएका वसुदेव र आमा देवकी दुवै मोहित भइहाले ! अघि तपाईंहरूले कठिन तप गर्दा ३ जन्मसम्म तपाईंहरूको पुत्रका रूपमा प्रस्तुत हुने वचन पूरा गर्न अहिले आफू आएको स्मरण गराउँदै कंसबाट भयभीत नहुन र तुरुन्तै टोकरीमा राखी यमुनापारि गोकुलमा लगी त्यहाँ नन्द यशोदाबाट भर्खरै जन्मिएकी पुत्री यस कारागारमा लिई आउन र त्यति कार्य पूर्ण हुन्जेल कारागार सबै खुल्ने, कसैले अत्तो, पत्तो नपाउने र यी सबै कुरा गोप्य राख्नुपर्ने संकेत गरी भगवान् तत्कालै बालभावमा प्रस्तुत हुनुभयो । नभन्दै योगमायाद्वारा तयार टोकरीमा बालकलाई राखी वसुदेव कारागारबाहिर निस्कँदा सबै ढोका खुलेका, सिपाहीहरू मस्त निद्रामा परेका, हतकडी आफैं खुलेका, वरुणदेवले वर्षा गराएका, शेषनागले छहारी दिएका, यमुनाले भगवान्को पादस्पर्श गर्न क्षणिक उर्लिएर शान्त भएकी, गोकुल पूरै मस्त निद्रामा परेको, यशोदाबाट छोरी जन्मँदा उनलाई पत्तै नभएको, वसुदेवले आफूले लगेको बालकलाई त्यहाँ राखी बालिकालाई टोकरीमा बोकेर कारागार फर्कुञ्जेल कारागार खुल्लै रहेको र सबै निद्रामा परेका कुरा मार्मिक ढंगबाट शास्त्रहरूमा वर्णित छ । वसुदेव कारागारभित्र पस्नासाथ सबै ढोका, हतकडी पहिलेकै अवस्थामा भएका र बालिका रोदन सुनेपछि हस्याङफस्याङ गर्दै, सबै जुमुराउँदै उठेर बालक जन्मेको खबर कंससम्म पुगिहाल्यो । कंसका डरमा परेका वसुदेवले बालिकालाई कंससामु पु¥याउँदा ‘छोरी नै भए पनि मार्छु’ भनी हातले घुमाएर बालिकालाई ढुंगामा पछार्न खोज्दा हातबाट छुटेकी योगमायाले आकाश मार्गबाट ‘मलाई मार्न खोज्ने कंस तेरो काल गोकुलमा जन्मेको छ’ भन्ने सुन्दा गोकुलभरिका बालबालिका सबै वध गर्न मायाभी पुतना पठाउँदा यशोदापुत्र श्रीकृष्णबाट उल्टै पुतना वध भइसकेकी थिई । अघि नै देवकीका गर्भबाट प्रत्यारोपण गरिएका सातौँ गर्भ शेष रोहिणीपुत्रका रूपमा बलरामको जन्म भइसकेको र गोकुलमा वृद्ध नन्द बाबाबाट अत्यन्त सुन्दर बालक जन्मिएको र रोहिणीवाट उस्तै राम्रो बालक जन्मिएको प्रसंगअनुसार गोकुलमा धूमधामसँग नन्दउत्सव मनाइएको र वसुदेवका कुलगुरु गर्ग र नन्द बाबाका कुलगुरु शाण्डिल्य दुवैको उपस्थितिमा गोकुलमा बलराम अनि कृष्णको नामकरण भएको सुन्दर प्रसंग गर्गसंहिता एवं श्रीमद् भागवतमा विशेष चर्चाको विषय बनेको छ ।
श्रीकृष्णको जन्मप्रसंग लौकिक जस्तो देखिए पनि बन्द कारागारमा जन्मिएर पनि आफू सुरक्षित रहनु, जन्मिएको छैटौं दिनमै बालघातिनी पुतनाको वध गर्नु, आँधी तुफानका रूपमा आएको राक्षसी प्रवृत्ति तृणावर्त, वत्सासुर, अघासुर, वकासुर, धेनुकासुर आदिलाई वध गरी वृन्दावनमा स्वयं ब्रह्माजीलाई समेत मोहित पार्नुले अलौकिक कार्य स्पष्ट हुन्छ । त्यस्तै परम्परागत इन्द्रपूजालाई तोडी कृषिकार्यमा सबैलाई प्रेरित गर्दै गोवद्र्धन पूजामा सरिक गराउनु, कंसद्वारा तयार गरिएको रंगभूमिमा प्रवेश गरी दुष्ट कंसको अन्त्य गरी बाबुआमालाई कारागारमुक्त पारी गुरु सान्दिपिनीवाट ६४ कला विद्या आर्जनदेखि विवाह आदि कार्य र संसारलाई चकित पार्ने महाभारत युद्धमा सत्यको स्थापना गरी पाण्डव पक्षको विजय गराउनु उहाँका अलौकिक कार्यहरू नै हुन् । मथुरामा मानव जन्म लिएका श्रीहरिका लागि समस्त पृथ्वी तल र देवलोकमध्ये पावन क्षेत्र मथुरा वृन्दावन हो भनी वराह पुराणमा उल्लेख भएको छ । मथुरा वृन्दावन क्षेत्र ८४ कोशको छ । जसको परिक्रमा गर्नाले ८४ लाख योनिमा भड्किनु नपर्ने बताइएको छ । माघमा मघायुक्त औंसीमा प्रयास्नानको फल प्रत्येक दिन मथुरा स्पर्शले मात्र पाइन्छ । जेठ शुक्ल द्वादशी, कार्तिक शुक्ल द्वितीया र श्रीकृष्ण जन्माष्टमीमा यहाँ भ्रमण गर्नेहरूले झन् ठूलो पुण्य प्राप्त गर्न सक्छन् । मधुवनले परिचित यस क्षेत्रमा गुरु नारदका प्रेरणाले धु्रवले तप गरेको क्षेत्र सत्य युगमा नै यो पावन रहेको थियो । कालान्तरमा मधु नामक दैंत्यले मधुपुरी नगर बनाई साधक तपस्वीहरूलाई दुःख दिन लाग्दा त्रेतायुगमा श्रीरामको आदेशअनुसार शत्रुघनले यहाँ असुरहरू नाश गरी यज्ञभूमि बनाएका थिए । द्वापर युगको अन्त्यमा सुरसेन राजाहरूले राज्य गरेको यस क्षेत्रमा परमेश्वरले श्रीकृष्ण अवतार लिएका हुन् । मथुरादेखि दश किमि टाढा वृन्दावनमा श्रीकृष्णले आफ्नो बाल्यकालमा बिताउनु भएको थियो । भनिन्छ, अहिलेसम्म पनि वृन्दावनका माटाका कण–कणमा, वृक्ष, लता, वायुका कण–कणमा श्रीकृष्णको नाम गुञ्जिएकै छ । योगमायाकै सहाराले शारदीय रात्रिमा श्रीकृष्णले गोपिनीहरूसँग राशलीला गर्नुभएको थियो । सत्य युगमा वृन्दाले भगवान्लाई पति रूपमा पाउन कडा तप गरेकी र श्यामसुन्दर भगवान्को दर्शन, वरदान पाएकीले त्यो क्षेत्र वृन्दावन नामकरण भएको कुरा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । राधाकृष्णको पावन स्थलका रूपमा रहेको वृन्दावन तटमा यमुना नदी रहेको र बाल्य जीवनमै कालीय दमन गरी श्रीकृष्णले त्यसलाई निर्विषाक्त बनाउनु भएको थियो । मथुराबाट ५० कि.मि. टाढा रहेको वरसाना तीर्थचाहिँ श्रीकृष्णकी आह्लादिनी शक्ति राधा रानीको पितृगृह वृषभानु क्षेत्र हो ।
किशोर अवस्थामै अलौकिक कार्य गर्ने श्रीकृष्णले कंस दमनपछि उग्रसेनलाई राज्य पुनस्र्थापना, साम्राज्यवादी मगध राजलाई परास्त गरी बन्दी राजाहरूको मुक्ति भौम वधपछि १६ हजार एक सय राजकन्याहरूको उन्मुक्ति, राजा युधिष्ठिरका यज्ञमा रहेर ब्राह्मणहरूको पाउ धुने कार्य महाभारतको विशाल युद्धमा अर्जुनको सारथी बन्नु, संसारकै उच्चकोटिको गीता ज्ञान दिनु, पछि भक्त उद्धवलाई निमित्त बनाई उद्धवगीता ज्ञान दिनु आदि कार्य गरेर पृथ्वीबाट बिदा लिएको ५ हजार वर्षपछि पनि भगवान् श्रीकृष्णका यी कामहरू साधकहरूका मनमा ताजै छन् । अवतारको प्रसंगमा “एते चांशकला पुंसः कृष्णस्तु भगवान् स्वयंम्” भनेर भागवत्ले अन्य अवतारलाई अंश अवतार र श्रीकृष्ण अवतारलाई पूर्ण अवतार मानेको छ । चाणुर, मुष्टिक आदि बलशालीका लागि वीरका रूपमा देखिने श्रीकृष्ण, स्त्रीहरूका लागि स्वयं कामदेव, गोपीहरूका लागि आफन्त, प्यारो, दुष्ट शासकहरूका लागि यमराज, कंसका लागि काल र योगीजनहरूका लागि परम सत्वगुणीका रूपमा देखिनु हुन्छ । प्रत्येक मनलाई आकर्षण गर्ने भएकाले कृष्ण नाम भएका परमेश्वरका विषयमा जति व्याख्या गरे पनि कम हुन्छ । ज्ञान, कर्म र भक्तिको त्रिवेणी वेदस्वरूप भगवान् प्रत्येक भक्तका लागि भक्तवत्सल हुनुहुन्छ । देश दुखेका बेला भोटेकोशीमा पर्नेहरूका नाममा समेत मुक्तिको कामना गर्दै हामी बचेका सबैलाई शुभकामना, परमेश्वरले जे गर्लान् ठीकै गर्लान् । अस्तु ।
(लेखक पौडेल धर्म–संस्कृतिका अध्येता हुन् ।)