नेभिगेशन
दृष्टिकोण
जलवायु

तीन करोड टन बरफ पग्लियो, हिमनदीमा विनाशको संकेत

अल्प्सका हिमनदीमा यस वर्ष अहिलेसम्मकै ठूलो बरफ पग्लिने सम्भावना

म स्विट्जरल्यान्डको रोन हिमनदी चढिरहेका बेला खुट्टामुनि गहिराइबाट केही ठोक्किएको जस्तो आवाज आउँछ, त्यसपछि फेरि अर्को आवाज सुनिन्छ । हिमनदी पहाडबाट तलतिर सर्दै गर्दा चिरिँदै र भासिँदै छ, जसका कारण त्यसको बीचमा नयाँ चिरा खुलिरहेका छन् । कालो र धुलोले ढाकिएको बरफमाथि चम्किला नीला पानीका धाराहरू बढ्दै र फैलिँदै छन् । केही मिनेटको अन्तरालमा उपत्यकाको भित्तामा पग्लिरहेको हिमनदीको अवशेषबाट ढुंगा खस्छन् र ठूलो आवाज निकाल्दै तल बजारिन्छन् । अचानक, मेरो खुट्टामा जडित उपकरणमुनि रहेको २० मिटर बाक्लो बरफ पनि त्यति बलियो जस्तो लाग्न छाड्छ ।
चार मिटर लामो एउटा आल्मुनियमको डन्डी बरफबाट यति धेरै बाहिर निस्किएको छ कि त्यो लगभग ढल्नै लागेको छ । स्विट्जरल्यान्डको ईटीएच ज्युरिखका एन्ड्रियास बाउडर त्यसलाई निकाल्छन् । दुई दशकदेखि उनी हिमनदीमा डन्डी गाडेर गर्मी महिनामा सतहबाट कति बरफ पग्लिन्छ भन्ने मापन गर्दै आएका छन् ।
तर यस वर्षको अवस्था उनका लागि पनि अप्रत्याशित रह्यो । उनी भन्छन्, ‘डन्डीहरू पर्याप्त गहिराइमा गाडिएका छन् र तिनीहरू टिकून् भन्ने सुनिश्चित गर्छु । तर यस पटकको गर्मीजस्तो असाधारण अवस्था आयो भने अवस्था फरक हुने देख्छु । यसपटक धेरै बरफ पग्लिरहेको छ ।’
यो मौसममा युरोपले लगातारका तातो लहरको सामना ग¥यो । जुन महिनामा युरोपले अहिलेसम्मकै सबैभन्दा खराब तातो लहरसमेत सामना ग¥यो । त्यसको परिणामस्वरूप रोन हिमनदीको सतहबाट नौ मिटरभन्दा बढी बरफ पग्लिसकेको छ । अत्यधिक गर्मीको अवस्था अन्ततः अगस्टको मध्यतिर कम भए पनि मौसमविद्हरूले शरद ऋतुसम्म तापक्रम औसतभन्दा माथि नै रहन सक्ने चेतावनी दिएका छन् । फेरि अर्को तातो लहर आउन सक्ने सम्भावना पनि छ ।
यदि त्यस्तो भयो भने यस वर्ष अल्प्सका हिमनदीहरूले अहिलेसम्मकै ठूलो बरफ क्षति व्यहोर्न सक्ने बाउडर बताउँछन् । यसको अर्थ अल्प्समा रहेको कुल हिमनदी बरफको थप ६ प्रतिशत भाग हराउनेछ ।
अस्ट्रियाका हिमनदीहरूको अनुगमन गर्दै आएका इन्सब्रुक विश्वविद्यालयका रेनर प्रिन्ज भन्छन्, ‘अहिले नै अन्तिम निष्कर्ष दिन सकिँदैन, तर हामी निश्चित रूपमा अहिलेसम्मको कीर्तिमान तोड्ने वा कम्तीमा त्यसको नजिक पुग्ने दिशामा छौं ।’
बाउडर र उनका सहकर्मीहरूले ईटीएच ज्युरिखको दीर्घकालीन अनुगमन कार्यक्रमअन्तर्गत रोन हिमनदीमा मापन गरिरहेका छन् । यो कार्यक्रमले १०० भन्दा बढी हिमनदीको अध्ययन गर्छ । अल्प्समा अत्यधिक बरफ पग्लिने वर्षहरू बढ्दै गएका छन् । यसले बरफ र ढुंगाका विनाशकारी पहिरो निम्त्याइरहेको छ र ठूला नदीहरूको आकारसमेत घट्ने जोखिम बढाएको छ । स्विट्जरल्यान्डका एक हजारभन्दा बढी हिमनदी, अर्थात् कुल हिमनदीको करिब ४० प्रतिशत, पछिल्ला ५० वर्षमा हराइसकेका छन् । यस गर्मीमा थप ३० वटा हिमनदी पनि हराउने अवस्थामा पुग्न सक्छन् ।
रोन हिमनदीले यस वर्ष ३ करोड टन बरफ गुमाइसकेको छ । यो पग्लिएको बरफ १२ हजार ओलम्पिक आकारका पौडी पोखरी भर्न पर्याप्त हुन्छ । हिमनदीको तल्लो भागमा दर्जनौं मिटर चौडा ठूलो चिरा परेको छ । त्यसको तल बालुवामिश्रित खैरो पानीको नदी बगिरहेको छ, जसमा ठूला ढुंगा र बरफका टुक्राहरू देखिन्छन् ।
हामी हिमनदी चढ्दै जाँदा त्यो ठूलो चिराबाट बच्नुपर्ने हुन्छ र चिराहरू पार गर्दै अगाडि बढ्नुपर्छ । टोलीका सदस्यहरूले हिमनदीको तल्लो भागमा पानीको बहाव पत्ता लगाउन जमिनभित्रसम्म प्रवेश गर्ने राडार जडान गर्न थाल्छन् ।
ईटीएच ज्युरिखकी इलारिया सान्टिनका अनुसार माथिबाट ठाडो सुरुङजस्ता भाग हुँदै तल झरेको पग्लिएको पानीले हिमनदीमुनि नदी बनाएको छ । यही नदीका कारण यहाँको बरफ भत्किएको हो । उनी भन्छिन्, ‘त्यहाँबाट धेरै पानी बगिरहेकाले थप बरफ पनि तीव्र गतिमा पग्लिरहेको छ ।’
रोन हिमनदी सन् १९६४ को जेम्स बन्ड चलचित्र ‘गोल्डफिङ्गर’मा बेलभेडेर होटलको छेउमा सेतो बरफको उकालो झरनाजस्तो दृश्यमा देखिन्छ । तर आज यो हिमनदी उपत्यकाभित्र करिब दुई किलोमिटर पछाडि हटिसकेको छ ।
हिमनदीको जीवनको मुख्य आधार हिमपात हो । गर्मीमा कम उचाइमा परेको हिउँ पग्लन थाल्छ र त्यसको मुनिको बरफ बाहिर देखिन थाल्छ । त्यसपछि त्यो बरफ न्यानो हावा र घामको सम्पर्कमा आउँछ । जाडोमा भने बढी उचाइमा नयाँ हिउँ पर्छ र पुरानो हिउँमाथि थुप्रिँदै गएर बाक्लो हुन्छ, जसबाट नयाँ बरफ बन्छ । माथिबाट तलतिर बग्ने नयाँ बरफले तल्लो भागमा हुने बरफको क्षतिलाई विगतमा केही हदसम्म पूर्ति गर्ने गरेको थियो ।
तर यस पटकको जाडोमा अल्प्स क्षेत्रमा पर्याप्त हिमपात भएन । असामान्य रूपमा मे महिनामै आएको तातो लहरका कारण बरफ पग्लिने क्रम पनि चाँडै सुरु भयो । स्विट्जरल्यान्डका आल्प्समा गर्मीमा पग्लिने बरफको मात्रा जाडोमा परेको हिउँभन्दा बढी हुने दिनलाई ‘हिमनदी क्षय दिवस’ मानिन्छ । यस वर्ष त्यो दिन जुलाई २ मै आयो । प्रिन्ज भन्छन्, ‘यो त सेप्टेम्बरको अन्त्यतिर हुनुपर्ने थियो ।’
हामी करिब २६ सय मिटर उचाइसम्मको ठाडो बरफे भिर चढ्छौं । त्यहाँ अर्को बरफ मापन गर्ने डन्डी पनि ढलिरहेको भेटिन्छ । बाउडर त्यसलाई निकालेर नयाँ डन्डी गाड्छन् । विगतका दशकहरूमा गर्मीमा बरफ पग्लिने सीमा यति उचाइसम्म विरलै पुगेको थियो । तर यस वर्ष त्यो सीमा ३१ सय मिटरभन्दा माथि पुगिसकेको छ र अझै माथितिर बढिरहेको छ ।
रोन हिमनदीको सबैभन्दा माथिल्लो भाग ३६ सय मिटरमा छ । बरफ पग्लिने सीमा त्यहाँसम्म नपुग्न सक्छ । तर तल्लो उचाइमा रहेका धेरै हिमनदीमा भने यो सीमा पहिले नै माथिसम्म पुगिसकेको छ । ईटीएच ज्युरिखका माउरो वेर्डर भन्छन्, ‘त्यस्तो अवस्थामा अब ती हिमनदी हराउनु अब केही समयको कुरा मात्र हो । केही समय पर्खनुपर्छ, ती  हराउनेछन् ।’
हाल लागू जलवायु नीतिहरू यथावत् रहेमा सन् २१०० सम्म अल्प्सका ९७ प्रतिशतभन्दा बढी हिमनदी हराउनेछन् । स्क्यान्डिनेभिया, रुस, उष्णकटिबन्धीय एन्डिज तथा पश्चिमी क्यानडा र अमेरिकाका अधिकांश हिमनदी पनि हराउनेछन् । रोन हिमनदीको भने ५ प्रतिशत भाग मात्र बाँकी रहनेछ ।
यसले धेरै महŒवपूर्ण जलस्रोतमा ठूलो असर पार्नेछ । उदाहरणका लागि, रोन नदीको स्रोत रोन हिमनदी नै हो । यो ठूलो नदी जेनेभा ताल हुँदै फ्रान्स प्रवेश गर्छ । यसको किनारमा १९ वटा ठूला जलविद्युत् आयोजना छन् । यसै नदीको पानीले चारवटा आणविक ऊर्जा केन्द्रका रिएक्टर चिसो राख्न सहयोग गर्छ । हरेक वर्ष यसको बाटो हुँदै बार्जमा ५० लाख टनसम्म सामान ओसारिन्छ । फ्रान्सको ठूलो हिस्सा फलफूल उत्पादनका लागि पनि रोन नदीको पानीबाट सिँचाइ हुन्छ ।
अल्प्सका हिमनदीहरू यसअघि नै ‘चरम जल उपलब्धता’को अवस्थाबाट अघि बढिसकेका छन् । यसको अर्थ गर्मीमा नदीमा हिमनदीबाट थपिने पानीको मात्रा क्रमशः घट्दै गइरहेको छ । त्यसैले युरोपले नयाँ जलाशय निर्माण गर्नेजस्ता अनुकूलनका उपायबारे सोच्नुपर्नेछ ।
ईटीएच ज्युरिखका माथियास हुस भन्छन्, ‘स्थिति निकै जोखिमपूर्ण छ, किनभने तातो लहरको प्रत्येक दिनसँगै हामी बरफका ती भण्डार प्रयोग गरिरहेका छौं, जुन दशकौं वा शताब्दीयौंमा जम्मा भएका हुन् ।’
पहाडलाई एकै ठाउँमा बाँधेर राख्ने चिसो जमिन अर्थात् स्थायी रूपमा जमेको माटो पनि हिमनदीसँगै पग्लिरहेको छ । स्विट्जरल्यान्डको ब्लाटेन गाउँनजिकै रहेको बिर्च हिमनदीमा ढुंगा खस्ने क्रम बढ्नुको कारण यही हो । सन् २०२५ को मे महिनामा हिमनदी चिरिएर भत्किँदा २ करोड टन ढुंगा र बरफ गाउँमाथि खस्यो र एक गोठालाको मृत्यु भयो । हिमनदीको निगरानी गरिरहेका विशेषज्ञहरूले भत्किनुभन्दा नौ दिनअघि नै ३०० जना स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए ।
हिमनदी भत्किने समस्या अल्प्समा मात्र सीमित छैन । ‘न्यू साइन्टिस्ट’मा यो समाचार प्रकाशनका लागि तयार पारिँदै गर्दा गत साता नेपाल र तिब्बतमा भएको विनाशकारी आकस्मिक बाढी पनि हिमनदी भत्किएका कारण आएको थियो ।
गत महिना अनुसन्धानकर्ताहरूले हिमनदीमाथि फाइबर अप्टिक तार बिछ्याउँदा २५ मिटर तल लुकेका चिरासमेत पत्ता लगाउन सकिने देखाएका थिए । हिमनदी भत्किने अवस्थाको निगरानी गर्न यो विधि भूकम्प मापन गर्ने उपकरणभन्दा निकै सस्तो हुन सक्छ । स्विट्जरल्यान्डको भाले क्षेत्रमा रहेको एउटा हिमनदीको कुल आयतनको ८ प्रतिशत भागभित्र लुकेका चिराहरूका कारण खाली रहेको पत्ता लाग्दा अनुसन्धानकर्ताहरू पनि आश्चर्यचकित भएका थिए ।
अध्ययनका एक लेखक तथा ईटीएच ज्युरिखका थोमस हड्सनका अनुसार वैज्ञानिकहरूले हिमनदीको स्थिरतामा भइरहेको क्षतिलाई कम आँकलन गरिरहेका हुन सक्छन् । उनका अनुसार पहिले हिमनदीको संरक्षणका लागि मात्र यसको निगरानी गरिन्थ्यो । उनी भन्छन्, ‘अब हामीले विपद् रोकथामका लागि निगरानीमा बढी ध्यान केन्द्रित गर्नुपर्छ ।’
मैले वेर्डरसँग हिमनदी जोगाउन भू–वस्त्र वा प्रकाश परावर्तन गर्ने माटोका कण प्रयोग गर्ने प्रयास सफल हुन सक्छ कि भनेर सोध्छु । उनी भन्छन्, यस्ता भू–इन्जिनियरिङ उपायको परिणाम निकै अनिश्चित छ ।
स्की रिसोर्टहरूले अन्य आठवटा हिमनदीका केही भागमा भू–वस्त्र ओछ्याइसकेका छन् । तर स्विट्जरल्यान्डका ठूला हिमनदीमा यसलाई व्यापक रूपमा प्रयोग गर्न वर्षमा १.३ अर्ब पाउन्ड खर्च हुनेछ । यसले बरफ पग्लिने गति केही कम मात्र गर्न सक्छ, पूर्ण रूपमा रोक्न सक्दैन । तर विश्वव्यापी तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभित्र सीमित गर्न सके सन् २१०० सम्म बाँच्ने हिमनदीको संख्या झन्डै दोब्बर हुन सक्छ । त्यसमा अल्प्सका २६९ वटा हिमनदी पनि पर्नेछन् ।
वेर्डर भन्छन्, ‘अन्य सबै उपाय निकै निराशाजनक छन् । हामीले वास्तवमै कार्बन डाइअक्साइडको उत्सर्जन तीव्र गतिमा घटाउनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्