नेभिगेशन
दृष्टिकोण
संस्कृति

श्रीकृष्ण जन्माष्टमी र तानसेन भगवतीको जात्रा

भगवान् श्रीकृष्ण यस जगत्का उत्पत्ति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णको सबैले वन्दना गर्नुपर्छ र मान्नुपर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ । करिब बाउन्न सय वर्षअघि भाद्र कृष्ण अष्टमीका दिन रोहिणी नक्षत्रमा उत्तर भारतको व्युटसेन नामक देशको राजधानी मथुराको झ्यालखानामा राती १२ बजेको समयमा वासुदेवकी पत्नी देवकीको गर्भबाट परब्रह्म परमेश्वरको पूर्ण अंश लिएर श्रीकृष्ण अवतारका रूपमा जन्म भई अवतरण हुनुभएको हो । 
श्रीकृष्णलाई महाभारतको युद्धमा मुख्य पात्रका रूपमा लिइन्छ । अत्यन्तै कूटनीति गर्न जान्ने श्रीकृष्णलाई धूर्त र छलीका रूपमा पनि नेवारी समाजमा लिइँदै आएको छ । किनभने काठमाडांैका किराती राजा यलम्बरलाई महाभारतमा युद्ध हेर्न भनी जाँदा कृष्णले छल गरी यलम्बरको शिर छेदन गरी मारेका हुन् भनिन्छ । कौरव र पाण्डवको बीचमा भएको युद्धमा जसले हार्छ उसैको पक्षमा लड्न भनी नेपालबाट युद्ध मैदान कुरुक्षेत्रमा पुगेका राजा यलम्बरले हारेकाका तर्फबाट युद्ध गरिरह्यो भने महाभारत युद्धको अन्त्य नै नहुने ठानेर कृष्णले छल गरेर राजा यलम्बरको शिर छेदन गरेका हुन् भनिन्छ । छेदन भइसकेको शिरबाट महाभारत युद्ध हेर्ने मौका श्रीकृष्णले दिनुभयो । महाभारत युद्ध सकिएपछि राजा यलम्बरको शिर उडेर आई हालको वंघः (त्यस समयको बागमती र विष्णुमतीको दोभान भएको स्थान) इन्द्रचोकमा खसेको देखेर जनता सबै मिलेर हाम्रो राजाको शिर भनी चिनेर सम्मानपूर्वक त्यसैको मूर्ति बनाई मन्दिरमा स्थापना गरे । उक्त समयमा यस स्थानलाई ह्वंगः भनिन्थ्यो । ह्वंगः भनेको दोभान हो । ह्वंगःकै अप्रभंश भएर वंघः भनिएको हो । इन्द्रजात्राको समयमा मन्दिरअगाडि आजुद्यःको शिर (यलम्बरको शिर) प्रदर्शन  गरी मान्ने गरिन्छ । यलम्बरलाई नै आकाश भैरव भनी मान्दै आइरहेका छन् । आकाश भैरवको शिर प्रदर्शन गरी राख्दा मूर्तिको मुखमा जोडिराखेको पाइपबाट हाथु हायेकेगु भन्दै जाँड झार्ने गरिन्छ । भक्तजनहरूले तँछाडमछाड गर्दै उक्त जाँड प्रसादका रूपमा खाने गर्छन् । 
हरेक वर्ष कृष्णाष्टमीका दिन विभिन्न कार्यक्रम र जात्रा गरी श्रीकृष्णलाई द्वापर युगदेखि मान्दै आएको हो भनिन्छ । तर नेपालमा भने पाटनका प्रथम मल्ल राजा सिद्धिनरसिंह मल्लले सन् १६३७ मा ढुंगैढुंगाले मात्र बनाएको २१ वटा गजुर भएको विश्वमा प्रसिद्ध कृष्णमन्दिर पाटन दरबारअगाडि स्थापना गरेपश्चात् श्रीकृष्णको महिमा र महŒव बढ्दै गएको हो । आफ्नो सपनामा यसै ठाउँमा कृष्ण र राधा आई दर्शन दिएको हुँदा राजा सिद्धिनरसिंह मल्लले मन्दिर बनाउन लगाएको हो । यस मन्दिर बनाउन ढुंगामात्र प्रयोग गरिएको छ । काठ र इँटा प्रयोग गरिएको छैन । भनिन्छ एउटामात्र ढुंगा प्रयोग गरी यो मन्दिर बनाइएको हो । यस मन्दिरको स्वरूप भारतको मथुरामा रहेको कृष्ण मन्दिरको नक्कल हो र ग्रन्थकुट शिखर शैलीमा मुगल र द्रविड शैली सम्मिश्रण गरेर यस मन्दिरको स्वरूप निकालिएको छ । यस मन्दिरमा सबै तलामा गरी जम्मा २१ वटा सुनले लेपिएका गजुरहरू राखिएका छन् । यस मन्दिरमा तीन तला रहेका छन् । प्रथम तलामा कृष्णको मूर्ति रहेको छ भने दोस्रो तलामा शिवको मूर्ति छ । त्यस्तै तेस्रो तलामा अवलोकेश्वरको मूर्ति रहेको छ । 
कृष्ण मन्दिरभित्र महाभारत र रामायणका विभिन्न किसिमका चित्रहरू कलात्मक ढंगले ढुंगामा कुँदिएका छन् । त्यस्तै मन्दिरको चारैतिर ढुंगाको विष्णुको दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीको कवितात्मक भावमा स्थापना गरिएको छ । कृष्ण मन्दिरभित्र मूल देवताका रूपमा कृष्ण र सत्यभामाको मूर्ति रहेको छ । नेपालको मौलिक लिपि रञ्जना लिपिमा विभिन्न घटनाका विवरण मन्दिरमा लेखिएको छ । श्रीकृष्ण भगवान्ले राजा सिद्धिनरसिंहलाई सपनामा मेरो र सत्यभामाको मूर्ति स्थापना गरी मन्दिर बनाउनु भनी आज्ञा भएकाले गुरु हरिवंश उपाध्यायको सल्लाहअनुसार मूर्ति स्थापना गरी मन्दिर बनाई ठूलो भव्य मेला चलाएका हुन् । कृष्णको मन्दिरमा कृष्णाष्टमीका दिन रातभर जाग्राम बसी भक्तजनहरूले पूजा, पाठ, भजनकीर्तन गर्छन् । बिहान राष्ट्र प्रमुखले देवताको दर्शन गर्न आउने र भक्तजनहरूको भीड हुने भएकाले कृष्ण मन्दिरमा ठूलो मेला नै लाग्छ । कृष्णाष्टमीका दिन राती पाटनका टोलटोलमा कृष्णको खट जात्रा गरिन्छ ।
    श्रीकृष्णका विभिन्न किसिमका लीला सम्झनास्वरूप कृष्णाष्टमीका दिन देशैभरि विभिन्न कार्यक्रम गरिन्छ । भक्तपुरमा पनि टोल–टोलमै राधाकृष्ण र कृष्णको बाललीला प्रदर्शन गरिन्छ भने दत्तात्रयमा भक्तजनहरूको ज्यादै भीड लागिरहन्छ । 
    कृष्णाष्टमीका दिन श्रीकृष्णको जन्मदिनका रूपमा, मुख्य पर्वका रूपमा मनाउने क्रममा काठमाडांै ठमेलस्थित ब्रह्मकुमारी सेवा केन्द्र, कृष्ण प्रणामी इस्कोन बुढानीलकण्ठ, कृष्ण सेवा केन्द्र इमाडोल, रामकृष्ण वेदान्त समाज ललितपुर, साइबाबा केन्द्र नक्साल, नारायणचौरलगायत टोखा, साँखुदेखि विभिन्न स्थानमा कृष्णको खट जात्रा, कृष्णका झाँकी बनाई प्रदर्शन गर्दै नगर परिक्रमा गराइन्छ । 
    त्यस्तै कलात्मक विशाल मन्दिर नभए पनि काठमाडांैको वसन्तपुर दरबारअगाडि कृष्णको मन्दिर बनाई राखेको छ । नेपाल सम्वत ७६९ मा राजा प्रताप मल्लका ३० वटी रानीहरूमध्ये अत्यन्तै मन पर्ने दुईवटी राजमती र अनन्त प्रिया रानीहरू दिवंगत भई दुःखी भइरहेका राजाले आफूलाई कृष्ण र रानीहरूलाई राधिकाको प्रतीकका रूपमा साना–साना कलात्मक मूर्ति बनाई च्यासिं कृृष्णका नामले खट जात्रा चलाएका हुन् । 
    यसरी विभिन्न कार्यक्रम गरी कृष्णाष्टमी देशैभरि मनाइन्छ । द्यःला समाजको आयोजनामा हरेक वर्ष नाग पञ्चमीका दिनदेखि सुरु हुने मतिगा लाखे नाच कृष्णाष्टमीका दिन टेकु सबल बहालमा समापन गरिन्छ । 
    नेपाल सम्वत् २६२ मा मरु सत्तल एउटा रुखको काठले बनाइसकेपछि बाँकी रहेको काठले बनाइएको सिंल्यं सतः (सत्तल) रहेछ । तर त्यसमा कुनै पनि देवता भने राखिएको छैन । नेपाल सम्वत् १०४० मा सिंल्यः सत्तलसँगै रहेको तहबिलमा बसेका धमना साय्मीको घरमा आगलागी भएर नयाँ घर बनाउन जग खन्दा चार हात भएका कृष्ण नारायण देवताको धातुको मूर्ति भेटिएको छ । त्यसबेलाका राणा सरकारसँग स्वीकृति लिएर भेटिएको कृष्णको मूर्ति स्थापना गरी चारैतिर कुनामा उडिरहेका सिंह बनाई सिंल्यं सत्तल बनाइएको रहेछ । त्यही सिंल्यं सत्तलको नाम सिंह सत्तल हुन गएको हो ।
    यसरी देशैभर कृष्ण जन्माष्टमी मनाइरहेका बेलामा नेवारहरूको बस्ती भएको पाल्पा तानसेनमा भने रणउजेश्वरी भगवतीलाई राँगाको बलि दिएर खट जात्रा गरिन्छ । भगवतीले महिषासुर दैंत्य वध गरेको खुशीयालीमा राँगा, हाँस, कुखुरा, बोका, भेडा बलि दिँदै दाफा भजनका साथै रणउजेश्वरी देवीको भव्य रूपमा रातभर जात्रा गरिन्छ ।  भोलिपल्ट नवमीमा दिन रातभर दियो बोकेका, देवताको खट बोक्नेहरू र जात्रामा भाग लिई सघाउनेहरू सबैलाई भगवतीलाई भोग दिइएको राँगाको मासु राखी भोज खुवाइन्छ । भोज खुवाइसकेपछि देवीको खट बोक्नेहरूलाई बेताली (फेटा) बाँधिदिँदै, रातो क्वखा राखिदिँदै टीका लगाइदिएर दिनमा सिन्दुर जात्रा गर्छन् । यो जात्रामा प्रहरीले सलामी दिँदै तोप पड्काएर बधाई दिन्छ । ढोलक, झ्याली, पञ्चेबाजा, धाः बाजा बजाउँदै नगर परिक्रमा गर्छन् । 
    यो भगवतीको जात्रा अंग्रेजसँग भएको युद्धसँग सम्बन्धित छ । ई.सं. १७३४ देखि १७९७ सम्म नेपाल र अंग्रेजका बीचमा युद्ध हुँदा पाल्पाका तत्कालीन बडाहाकिम कर्णेल उजीरसिंह थापाले युद्धमा जित्न सकेमा राजकीय सम्मानपूर्वक देवीको जात्रा मनाउनेछु भनेर तानसेनका भगवतीसँग प्रार्थना गरेका रहेछन् । भगवतीलाई यति प्रार्थना गरिसकेपछि कर्णेल उजीरसिंह थापाले बुटवलको तिनाउ नदीवारि रहेको मणिमुकुन्द सेनको पुरानो भग्नावशेष दरबारलाई किल्ला बनाएर दुईपटकसम्म अंग्रेज जनरल उडलाई युद्धमा हराउन सफल भए ।
    ई.सं. १८१६ मार्च ३ तारिखमा सुगौली सन्धिपछि भगवतीको सानो मन्दिरलाई ठूलो बनाएको राजकीय सम्मानका साथ जात्रा चलाएका हुन् भनिन्छ । अंग्रेजसँग युद्ध जिती उजीरसिंहले स्थापना गरेकी देवी भएकाले रणउजेश्वरी नाम हुन गएको हो भनिन्छ । यो रणउजेश्वरी भगवतीको जात्रा देशकै मौलिक परम्परागत जात्रा हुन गएको छ । सोही दिन काजी अमरसिंह थापाले चलाएको लक्ष्मी नारायणको खट जात्रा पनि कायमै रहेको छ ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार छन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्