अमेरिकाबाट भर्खरै आएकी दुई वर्षीया नातिनीलाई कमलपोखरीकी ५५ वर्षीया खकुरेल थरकी महिलाले सेरेलेक किनेर खुवाइन् । खाएको ४ घन्टाजति पछि ती बालिकालाई झाडाबान्ता हुन थाल्यो । बढी नै हुन थालेपछि उसलाई अस्पताल लगियो । उपचारका क्रममा डाक्टरले बालिकाले खाएका खानाबारे शोधपुछ गरिन् । उनलाई सेरेलेक खुवाएको जानकारी पाएपछि डाक्टरले सेरेलेकको म्याद गुज्रिसकेको थियो कि भनेर शंका व्यक्त गरे ।
डाक्टरको कुराले हजुरआमा झसङ्ग भइन् । घरमा गएर राम्ररी हेर्दा सेरेलेक नामक त्यो पीठोमा मसिना कीरा परेको र ढुसी लागेको पाइयो । सेरेलेकको म्याद कतै लेखिएको रहेनछ । त्यो सेरेलेक त्यतिकै फालियो ।
बजारबाट खरिद गरिएका पाकेटबन्द खाद्यवस्तुहरूको उत्पादन मिति र खान मिल्ने अन्तिम म्यादबारे नेपाली उपभोक्ता त्यति सचेत रहेको पाइँदैन । त्यसैले गर्दा यस्ता पाकेटबन्द खाद्यवस्तुहरूमा म्याद नलेख्ने, म्याद गुज्रिएको भए पनि बजारमा पठाउने र बिक्री गर्ने गरेको पाइन्छ ।
साथै कतिपय उत्पादक तथा बिक्रेताहरूले त खाद्यवस्तुमा लेखिएअनुसारको म्याद गुज्रिएपछि पुनः नयाँ म्याद लेखिएको लेबल टाँसेर बजारमा पठाउनेजस्ता आपराधिक काम गरेर जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्ने गरेको पनि पाइएको छ । गाउँघरमा त प्रायः उत्पादन मिति र म्याद गुज्रिने मिति पनि नलेखी वा म्याद गुज्रिएपछि सच्याएर स्टिकर टाँसी पठाउने गरेको पनि पाइन्छ ।
खाद्यवस्तुमा उत्पादन मिति र त्यसको खान हुने अवधिको मिति हेर्ने बानी नभएकाले पनि उपभोक्ता ठगिने र व्यापारी मोटाउने काम भइरहेको छ । म्याद गु्रजिएका खानेकुराहरूले तत्कालै र दीर्घकालीनरूपमा स्वास्थ्यमा असर पुर्याउँछन् तर कतिपयलाई यसबारे जानकारी नै छैन । म्याद गुज्रिएर ढुसी लागेका र कीरा लागेका खानेकुराले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ ।
म्याद गुज्रिएका खाद्यवस्तु खाँदा झाडापखाला लाग्ने, बान्ता हुनेजस्ता तत्कालीन समस्या हुन्छन् । साथै म्याद नाघेका र ढुसी परेका खाद्यवस्तुहरू प्रयोग गर्दा दीर्घकालीन रूपमा कलेजोमा समस्या उत्पन्न हुन सक्छ । बाहिरबाट आएका वा कारखानामा बनेका पाकेटबन्द र डिब्बाबन्द खाद्यवस्तुलाई लामो समयसम्म सुरक्षित राख्न त्यसमा विभिन्न रसायन पनि मिश्रण गरिएको हुन्छ । त्यस्ता रसायनहरूमध्ये कतिपय अखाद्य पनि हुन सक्छन् । यदि अखाद्य रसायन मिसाइएको छ भने त्यसले झनै स्वास्थ्यमा नकारात्मक असर निम्त्याउँछ ।
विकसित देशहरूमा म्याद गुज्रेका खाद्य वस्तु बजारमा बेच्न नपाइने कडा नियम हुन्छ । तर बढी मात्रामा उत्पादन गरिएका तथा बजारमा बिक्री नभएर स्टकमा रहेका खाद्यवस्तु नष्ट गर्दा पनि विभिन्न समस्या आउने र खर्चिलो हुने हुन्छ । यसले गर्दा त्यस्ता खाद्य वस्तुलाई उत्पादकले मिति सच्याएर नेपालजस्ता पिछडिएका मुलुक र त्यसमा पनि ग्रामीण क्षेत्रमा पठाउने गर्छन् । यसतर्फ उपभोक्ता सचेत हुन जरुरी छ ।
चाडबाडका बेलामा बजारका खाद्यवस्तुहरू ठूलो मात्रामा उपभोग गर्ने गरिन्छ । यस्तो बेलामा बजारमा भिडभाड पनि धेरै हुने भएकाले प्रायः आम मानिसहरू वस्तुको गुणस्तर हेर्ने, म्याद गुज्रेको छ छैन हेर्नतिर लाग्दैनन् । यसले गर्दा गुणस्तरहीन तथा स्वास्थ्यलाई हानी गर्ने वस्तु खरिद गरेर उपभोग गर्ने गर्छन् ।
व्यापारीहरूले यस्तै मौका छोपेर म्याद गुज्रिएका खाद्यवस्तु बजारमा पठाउने गर्छन् । अनि यस्ता वस्तुको बढी बिक्रीका लागि व्यापारीहरूले आकर्षक विज्ञापन पनि गर्ने गर्छन् । यस्ता विज्ञापनको विश्वास गर्ने सर्वसाधारण उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने खतरा बढी हुन्छ । हाम्रो समाजमा घरमा लामो समय राखेको अन्नमा यदि घुन, भुसुना लाग्यो भने घाममा सुकाउने वा धेरै नै पुरानो छ भने चरालाई दिने चलन छ । तर प्याकेटमा कीरा र ढुसी लागेका वस्तुचाहिँ म्याद अर्को राखेर उपभोक्तालाई दिने ठूला व्यापारीको चलन छ ।
खाद्यवस्तुलाई लामो समय टिकाइ राख्नका लागि प्रयोग गरिने विभिन्न किसिमका रसायनहरूको म्याद निश्चित समयसम्म मात्र हुन्छ । म्याद सकिएपछि त्यस्ता रसायनहरूको गुणमा परिवर्तन आउन थाल्छ । यस्तो परिवर्तनका कारण खाद्यवस्तु अत्यन्त हानिकारक बन्छ ।
तर सामान्यतया उपभोक्ताहरूलाई यस्तो कुराको ज्ञान नहुने भएकाले बजारमा किनिने खाद्यवस्तुहरूको म्याद कहिलेसम्म छ भन्ने कुरा हेर्ने गरिँदैन । तर स्वास्थ्यका दृष्टिले बजारमा किनिने औषधिलगायत खाद्यवस्तुहरू र अरू सामानको पनि म्याद कहिलेसम्म छ भन्ने कुरा किन्नु अगाडि नै राम्रोसँग जाँच पड्ताल गर्नुपर्छ ।
सामान्यतया उत्पादकहरूले वस्तुको उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने अन्तिम मिति पाकेटको खोल, बोतल वा बट्टाको बाहिरपटी लेखेर राखेका हुन्छन् । तर यो अलि सानो अक्षरमा लेखिन्छ । उपभोग्य वस्तुहरू खरिद गर्नु अगाडि त्यस वस्तुको उपभोग गरिसक्नुपर्ने मिति तथा उत्पादन मिति हेर्न जरुरी छ । खाद्यवस्तु किन्दा यस्ता कुरामा विशेष ध्यान दिन जरmरी छ ।
डा. अरूणा उप्रेती
सामान्यतया हाम्रा घरमा बनाएको अचारमा ढुसी लाग्यो भने त्यो प्रयोग गरिन्न तर बाहिरका व्यापारिक प्रयोजनले बनाइएका अचारमा ढुसी लाग्यो भने त्यसलाई मजासँग चलाइदिएर नयाँ म्यादको स्टिकर टाँसी बेच्दा उपभोक्ताले किनिरहेका हुन्छन् । उपभोक्ताले म्याद गुज्रिएको र ढुसी परेको थाहा नपाउँदै उपभोग गर्छन् । त्यति मात्र होइन, कतिपयले त त्यस्तो वस्तु खाँदा स्वास्थ्यमा गम्भीर हानि पुगिसकेपछि पनि त्यसकै कारणले होला भनेर अनुमानसम्म गर्न सकेका हुँदैनन् ।
अहिले पनि म्याद गुज्रिएका र नयाँ मिति भएको स्टिकर टाँसिएका थुप्रै पत्रुखानाहरू कर्णाली लगायतका पश्चिम नेपालमा पाइएका छन् । त्यसले विशेष गरी स्कुले बालबालिकालाई बढी असर गरिरहेको छ । आमसञ्चार माध्यमले कहिलेकाहीँ मात्र होइन म्याद गुज्रिएका खाद्यवस्तु त्यत्तिकै वा नयाँ मिति भएको स्टिकर टाँसेर बेच्ने कार्य वर्षभरि नै भई नै रहने भएकाले सधैँजसो यस्तो मुद्दालाई निरन्तर उठाएर जनचेतना वृद्धि गर्न आवश्यक छ ।
एक उपभोक्ता बालकृष्ण दाहालको अनुभव छ, ‘म चाउचाउ धेरै खान्छु। एकपटक केही प्याकेट चाउचाउ किनेर ल्याएको थिएँ । एकदिन चाउचाउको प्याकेट खोलेर हेरेको त सेतो रंगको चाउचाउमा कालो–कालो पदार्थ देखेँ । भाँडामा चाउचाउ खन्याएर हेर्दा थुप्रै स–साना वस्तु पानीमा तैरिएको देखेँ । चम्चाले निकालेर हेर्दा मरिसकेका घुन रहेछन् । यसबारेमा सम्बन्धित कम्पनीमा भन्न खोज्दा पनि सफल भइनँ । मैले त्यो कम्पनीमा इमेल लेखेर पठाएँ, फोन गरे । वास्तै गरेनन् ।’
यस्ता थुप्रै भेटिन्छन् । कतिपयले पकाउनुभन्दा पहिले देख्छन् र फाल्छन् । कतिपयले देख्दैनन्, खाएर बिरामी पर्छन् । यस्ता सडेका खाद्यवस्तुबाट बालबालिका बढी पीडित हुने गरेको पाइन्छ । यस्तैगरी विभिन्न पंक्षी वा जनावरको मासु म्याद गुज्रिएपछि यसमा गन्ध, रङ परिवर्तन भएमा वा ढुसी देखिएमा तुरून्तै मिल्काइनुपर्छ ।
अण्डाको म्याद गुज्रिएपछि यसमा नराम्रो गन्ध आउन थाल्छ । म्याद नाघेका खानामा ढुसी लाग्ने सम्भावना धेरै हुन्छ । मानव स्वास्थ्यमा नराम्रो असर पार्ने ढुसीबाट उत्पन्न हुने विषहरूको समूहलाई माइकोटक्सिन्स भनिन्छ । विभिन्न प्रकारका माइकोटक्सिन्समध्ये अफ्लोटक्सिन मान्छे र पशुपक्षीको लागि पनि घातक हुन्छ । यसले कलेजोमा क्यान्सर गराउन सक्छ ।
सन् १९६० मा टर्कीमा एक लाखभन्दा बढी टर्की नामका पक्षी मरे । कारण खोज्दै जाँदा थाहा भयो, ब्राजिलबाट ल्याइएको बदाममा ढुसी परेको रहेछ । अफ्लोटक्सिन नामक त्यही ढुसीले त्यति धेरै चल्ला मरेका रहेछन् । खाद्यवस्तुमार्फत् यस्तो ढुसीले बालबालिका र गर्भवतीलाई बढी असर पुर्याउँछ । नेपालमा यस्ता ढुसी परेका पदार्थ खानेहरू गरिब र गाउँका मानिसहरू बढी हुन्छन् । उनीहरू किन बिरामी हुन्छन् भन्ने कुरा नै थाहा पाइन्न तर धेरै घटनामा प्याकेटका खानाको ढुसीका कारण यस्तो भएको हुन्छ ।
केही समयअघि कर्णाली क्षेत्रको भ्रमणमा जाँदा मैले यसरी ढुसी परेको बदाम बच्चाको लागि बेच्न राखेको देखेको थिएँ । प्याकेटबन्द गरिएका त्यस्ता ढुसी परेका पत्रुखानाले धेरैको कलेजोमा क्षति पुगेको हुन्छ तर पीडित यसबारे अनभिज्ञ हुन्छन् । यस्तो ढुसी परेको भोजनले रोग प्रतिरोधात्मक शक्ति पनि क्षीण बनाउँछ ।
हामीले प्रायः खाने पाकेट बाहिरको खाद्यवस्तु बदाममा पनि ढुसी लाग्ने सम्भावना उच्च हुन्छ । ढुसी लागेका खाद्यवस्तुलाई घाममा राख्दा घामको किरणले ढुसीको प्रभाव केही कम हुन सक्छ । कोसामा भन्दा छोडाएर राखिएको बदामको गेडामा बढी ढुसी उत्पन्न हुन्छ । त्यसैले सर्वप्रथम बजारबाट ल्याएको बदाम कस्तो छ भन्ने राम्ररी हेर्नुपर्छ ।
त्यस्तै गरी पाकेटबन्द खानाहरूमा पनि ढुसी पर्ने सम्भावना धेरै हुने भएकाले प्याकेटमा राखेका यस्ता वस्तुलाई भोजनमा समावेश नगरेकै राम्रो । ढुसी भएको खाद्यवस्तु खाँदा शरीरभित्र ढुसी प्रवेश गरी कलेजो बिगार्न सक्छ । त्यसैले यस्ता वस्तुभन्दा घरका ताजा खानामा जोड दिइनुपर्छ ।