नेभिगेशन
स्वास्थ्य

निद्राले मष्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छः अध्ययन

लन्डन । एउटा नयाँ वैज्ञानिक अनुसन्धान अनुसार निद्राले मष्तिष्कबाट अल्जाइमर्स रोगसँग जोडिएका प्रोटिन जस्ता विषाक्त फोहोरहरू सफा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसैगरी, स्मार्टवाचको तथ्याङ्कले मष्तिष्कमा देखिने सम्भावित समस्याहरूका बारेमा पहिल्यै सचेत गराउन सहयोग पु¥याउने देखिएको छ ।
मष्तिष्क सफा हुने यो प्रक्रिया र धडकनहरू बीचको समयमा आउने सूक्ष्म परिवर्तनहरू एकैसाथ हुने ‘साइन्स’ जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । नाडीमा बाँधिने उपकरण (स्मार्टवाच आदि) को सहयोगले धडकनको यो अन्तरलाई नाप्न सकिन्छ ।
यो अध्ययन निद्राको उद्देश्य र यसको कमीका कारण स्वास्थ्यमा पुग्ने जोखिमहरू पत्ता लगाउने बढ्दो प्रयासको एउटा हिस्सा हो । अध्ययनले शरीरका अत्यावश्यक जैविक विकारहरू सफा गर्न निद्रा आवश्यक पर्ने देखाएको छ । यसको अर्थ निद्रा नपुग्दा काममा थकाइ लाग्ने वा सामाजिक रूपमा निष्क्रिय महसुस हुने मात्र नभई यो भन्दा अझ ठूला जोखिमहरू निम्तिन सक्छन् ।
अमेरिकाको युनिभर्सिटी अफ रोचेस्टरकी स्नायु वैज्ञानिक (न्यूरोसायन्टिस्ट) तथा यस अनुसन्धानकी लेखिका माइकेन नेडरगार्ड भन्छिन्, ‘दशकौंदेखि हामीले निद्रालाई मुख्य रूपमा सम्झना शक्ति र शरीरलाई आराम दिने माध्यमका रूपमा मात्र सोच्दै आएका थियौं ।’
‘तर अहिले के कुरा बाहिर आएको छ भने, निद्रा मष्तिष्कको स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्ने एउटा व्यवस्थित तरल–प्रवाहको अवस्था पनि हो। निद्राका धेरै कामहरू छन्, तर मष्तिष्कको सफाइ गर्ने कार्य ती सबैमध्ये सबभन्दा आधारभूत र महŒवपूर्ण हुन सक्छ,’ उनले थपिन् ।
यो अनुसन्धान मष्तिष्कलाई नियन्त्रण गर्ने ‘न्यूरोमोडुलेटर’ भनिने रसायनहरूको समूहमा केन्द्रित छ, जसमा सेरोटोनिन र डोपामिन जस्ता तŒवहरू पर्छन् । मानिस ब्युँझिएको बेला यस्ता रसायनहरूले मूड, ध्यान, सिकाइ र व्यवहारलाई असर गर्न एकअर्काबाट स्वतन्त्र रूपमा काम गर्छन् । तर निद्राले उनीहरूको गतिविधिलाई मष्तिष्कको एउटा निश्चित लयमा बाँधेर सञ्चालन गर्छ भनी अध्ययनमा बताइएको छ ।
यी न्यूरोमोडुलेटरहरूको मात्रामा आउने सन्तुलित परिवर्तनले रक्तनलीको आकार बदल्छ र ‘सेरेब्रोस्पाइनल’ तरल पदार्थको प्रवाहलाई बढाउँछ । यो तरल पदार्थले मष्तिष्कलाई बाहिरी चोटपटक र कीटाणुहरूबाट जोगाउने काम गर्छ ।
यो तरल पदार्थ ग्लाइम्फ्याटिक प्रणाली हुँदै बग्छ । यो प्रणालीलाई सन् २०१२ मा नेडरगार्डको टोलीले पत्ता लगाएको थियो, जसले मष्तिष्कका हानिकारक फोहोरहरू सफा गर्न मद्दत गर्छ । यसमा अल्जाइमर्स र अन्य डिमेन्सिया (विस्मृति) का बिरामीहरूमा विषाक्तता बढाउने ‘एमाइलोइड–बेटा’ र ‘टाउ’ जस्ता प्रोटिनहरू पर्छन् ।
निद्राको समयमा न्यूरोमोडुलेटर ‘नोरपाइनफ्रिन’ को स्तरमा आउने परिवर्तन र मुटुको धडकन बीचको समयको उतारचढाव एकैसाथ अघि बढ्ने देखिएको नेडरगार्डले बताइन् ।
मुटुको धडकनमा आउने यो उतारचढाव (हार्ट रेट भेरिएबिलिटी) ले रात्रिकालीन समयमा हुने मष्तिष्कको सफाइ प्रक्रियामा उत्पन्न हुनसक्ने खतरनाक अवरोधहरूलाई संकेत गर्न सक्ने उनले थपिन् ।
नेडरगार्ड भन्छिन्, ‘यस अवधारणालाई अझै प्रयोगात्मक रूपमा परीक्षण गर्न बाँकी छ, तर मुटुको धडकनको उतारचढावको एउटा राम्रो पक्ष के हो भने यसले निद्राको अवधि मात्र नभएर निद्राको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी दिन सक्छ ।’
अन्य विज्ञहरूले पनि मष्तिष्कले कसरी काम गर्छ भन्ने हाम्रो अपूर्ण ज्ञानलाई बुझ्नका लागि यो प्रतिवेदनले महŒवपूर्ण योगदान दिएको भन्दै यसको स्वागत गरेका छन् ।
‘अल्जाइमर्स रिसर्च यूके’ नामक संस्थाकी अनुसन्धान निर्देशक शिओना स्केल्सले लामो समयसम्म निद्रामा अवरोध आउँदा मानिसमा डिमेन्सियाको जोखिम बढ्न सक्छ भन्ने पुराना अध्ययनहरूलाई यसले थप बल पु¥याएको बताएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्