नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि प्रजातान्त्रिक व्यवस्थामात्रले त्यो दायित्व पूरा गर्छ भनेर देशमा जय नेपालको बिगुल फुक्न खुलेको नेपाली कांग्रेसका जीवनमा विभिन्न आरोह अवरोह पार गर्दै १५औँ महाधिवेशनसम्म आइपुगेको छ । यसका संस्थापकहरू स्वयं सामाजिक तथा राजनीतिक जीवनमा आफैँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो र नेपाली कांग्रेसले आफ्नो स्थापनाको छोटो समयमा नै नेपालको राजनीतिमा ऐतिहासिक उथलपुथल ल्यायो । १०४ वर्षदेखि जरा गाडेर बसेको राणा शासकहरूको परिवारवादलाई २००७ सालको जनक्रान्तिमार्फत् उखेलेर मिल्काएको इतिहास साक्षी छ । संयुक्त जनआन्दोलनको नेतृत्व गर्दै ३० वर्षे निर्दलीय पञ्चायत ढालेको इतिहास छ । योक्रमको निरन्तरतामा नै मान्नुपर्छ, २००७ सालदेखि बाँकी रहेको जनताले बनाउने संविधानको कार्य पनि २०७२ सालसम्ममा सम्पन्न भएको थियो । त्यहीबीचमा मुलुकमा राजतन्त्रले प्रजातन्त्रलाई देखी नसकेपछि २०६५ देखि मुलुक गणतन्त्रात्मक लोकतन्त्रमा प्रवेश ग¥यो । त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले नै लिएको थियो । प्रजातन्त्र बहाली हुँदा या प्रजातन्त्रको ठाउँमा निर्दलीयताको नाटकभित्र एकतन्त्रीय हुकुमी शासन चल्दा पनि प्रजातन्त्र र जनअधिकारका पक्षमा अविचलित कांग्रेस अहिले सबैभन्दा संकटको अवस्थामा छ र त्यस्तो बेलामा पनि पार्टी एउटै हुँदा पनि दुईवटा महाधिवेशन हुँदैछ । विशेष महाधिवेशनमार्फत् जनादेश प्राप्त गगन थापाको नेतृत्वमा गठित आधिकारिक नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब सम्पन्नोन्मुख छ भने आफूलाई नियमित महाधिवेशन पक्षधर मान्ने १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवाका पक्षधरहरूले मंसिर २१ गतेदेखि नै १५ आँै महाधिवेशनको तयारी गरेको छ ।
कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशका आधारमा गगन थापाले नेतृत्व गरेको १५औँ महाधिवेशन २०८३ असोज १८ गतेबाट सुरु भएको छ र निर्वाचन प्रक्रिया जति लम्बिए पनि असोज मसान्तसम्ममा नयाँ कार्यसमितिलाई अहिलेको समितिले कार्यभार सुम्पनेछ । यो महाधिवेशनको कार्यतालिकाले असोज १६ गतेदेखि हुने भनिएको भए पनि मुलुकमा आएको अविरल वर्षाका कारण कतिपय क्षेत्रमा अधिवेशन हुन नसकी दुई दिन सारेर भए पनि अधिवेशन सुरु भएको छ । त्यसो त प्रदेश अधिवेशन, जिल्ला अधिवेशनहरू बाँकी नै छन् र ती अधिवेशनहरू फुर्सदमा गर्ने अवस्था सिर्जना भएको छ किनभने अब तत्कालै दसैँ, तिहार अनि खेतीमा पाकेको अन्नबाली भित्र्याउने बेला सुरु भएकै छ । साथै पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि असोज १५ गतेबाट नै आफ्नो समूहका तर्फबाट १५औँ महाधिवेशनका लागि वडा अधिवेशन सुरु गरेर प्रक्रियागतरूपमा मंसिर २१ देखि महाधिवेशनको तयारी गर्न थालेका समाचारहरू आउन थालेका छन् ।
गगन थापाले नेतृत्व गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएकाले त्यो नै आधिकारिक नेपाली कांग्रेसका रूपमा देखिएको छ भने देउवा पक्षमा खुलेको राष्ट्रिय भेला आयोजक समितिको महाधिवेशन तयारी समितिका संयोजक पूर्वमहामन्त्री तथा बीपी पुत्र डाक्टर शशाङ्क कोइराला नेतृत्वको समूहले भने आफूलाई १४औँ महाधिवेशनको निरन्तरता र नियमित अधिवेशन पक्षधर मानेको छ ।
यसबाट दुईवटा कांग्रेस मान्ने अवस्था देखिए पनि मूलधारका रूपमा गगन नेतृत्वको कांग्रेस नै देखिएको छ जबसम्म सर्वोच्च अदालतले देउवाको समूहलाई आधिकारिक नमान्दासम्म । देउवा समूह अदालतबाट आधिकारिकता दिने कुरामा ढुक्क देखिए पनि विशेष अधिवेशनलाई मान्यता दिएर अघि बढेको गगन समूहको आधिकारिक नेपाली कांग्रेसले असोज मसान्तसम्ममा अधिवेशन गरेर नयाँ कार्यसमिति नै बनाइसक्दा पनि निस्सा पाएको पक्षका लागि सर्वोच्च अदालतको नयाँ कुनै फैसला आउने देखिँदैन र यो पार्टीको आन्तरिक समस्यामा अब अदालत पनि धेरै अल्झिने अवस्था पनि छैन भन्ने राजनीतिक विश्लेषकहरू ठान्छन् । त्यसैले देउवा समूहका धेरै ठूलो संख्या जो राष्ट्रिय भेला गराउनका लागि उद्यत थियो, ती पनि आधिकारिकताका लागि गगन समूहमा समाहित भएका देखिन्छन् र वडादेखि नै निर्वाचन लडेर महाधिवेशन प्रतिनिधि बनेका छन्, गगन समूहको आधिकारिक महाधिवेशनका विभिन्न पदमा समेत उठेर आफ्नो राजनीतिक भविष्यको परीक्षण गरिरहेका छन् ।
विधानले दिएको कार्यादेशअनुसार बेलैमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरिनुपथ्र्यो । त्यसमा तत्कालीन सभापति देउवाको प्रचण्ड बहुमत रहेको कार्यसमितिले बेलैमा महाधिवेशन त गरेन, गरेन, बरु मागेको विशेष महाधिवेशनसम्म स्वीकार गरेन र महाधिवेशनलाई धेरै पर धकेल्यो । महाधिवेशन भनेको कुनै पनि पार्टीका लागि एकातर्फ वैधानिकताका लागि निरन्तरता हो भने पार्टी जीवनलाई चलायमान गराउने प्रक्रिया पनि हो । तर, एउटा जीवन्त पार्टीका लागि नियमित प्रक्रिया थियो तर त्यसलाई रोक्न खोज्दा विशेष अधिवेशनको चटारो आएको हो ।
विशेष अधिवेशनले एउटा बाटो समायो र असोज १८ गतेदेखि महाधिवेशन हुन लागेको हो । महधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ सदस्यहरूको आगमन, करिब १० लाख सदस्यहरूको संख्या पुग्नु अनि क्षेत्रीय अधिवेशनहरू भएर करिब ७३ सयभन्दा बढी प्रतिनिधिहरू चुनिनु, ठूलो संख्यामा युवा, महिला, दलित, मधेसी, थारु, मुस्लिम, जनजाति, उपेक्षित वर्ग, सहिद परिवार, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित परिवारको सहभागिता रहनु आफैँमा सकारात्मक पक्ष हो र पार्टी जरासम्म नै चलायमान भएको प्रमाण हो । फेरि शेरबहादुर पक्षले पनि त्यही प्रक्रिया गर्दा फेरि पार्टी चलायमान त हुन्छ तर भाँडभैलोमा परिणत नहोस् भन्ने कामना गर्नुपर्छ ।
सबै प्रक्रियाबाट महाधिवेशन हुँदा पनि र अर्को पक्षले निहुँ खोजेर अर्को तयारी गर्दा पनि आमकार्यकर्तामा एकताको भावना यथावत् पाइन्छ । पार्टी एकताका लागि दुवै पक्ष जागरुक भएको भनेका छन् र दुवै महाधिवेशन पक्षधरहरू महाधिवेशनपछि पार्टीमा कुनै विवाद नरहने भनेर आमकार्यकर्ताहरूलाई विश्वस्त पार्न पनि तल्लीन छन् ।
आधिकारिक समूहले गरेको महाधिवेशनमा धेरै कुरा सतर्कताका साथ गरेको पाइन्छ र भोलि अर्को समूह आएमा पनि समायोजन गर्न सक्ने गरी केन्द्रीय समिति २९७ जनाको बनाएर मनोनीतहरूको संख्या पनि राखिएको छ । मिल्दा संयुक्त अधिवेशनले पनि विधान तयार गरी संख्या र पद निर्धारण गर्न सकिने देखिन्छ तर यो बिचमा पनि सहमति र समझदारी भएन भने मंसिरमा जस्तो भए पनि अधिवेशन हुनेछ र आगामी स्थानीय निर्वाचनमा दुई पक्ष भएर निर्वाचनमा जाने निश्चित छ ।
मुलुकलाई सम्पूर्ण रूपान्तरण गरेर इतिहासदेखि नै प्रजातन्त्रको पर्यायका रूपमा रहेको नेपाली कांग्रेस उदाहरणका रूपमा देखिन्थ्यो र अझै देखिनुपर्छ । निरन्तरताको बिम्बका रूपमा रहेको कांग्रेस यदि दुई समूहमा या धेरै समूहमा विभाजित भयो भने त्यसले नेपाली प्रजातान्त्रिक आन्दोलनलाई विखण्डन गर्नेछ र मुलुक नयाँ द्वन्द्वमा फस्दासमेत कांग्रेसको विभाजित शक्तिले राष्ट्रको नेतृत्व गर्न सक्नेछैन ।
आठ दशकदेखि अनवरत प्रजातन्त्रको पर्यायका रूपमा सतीसालझैँ खडा रहेको पार्टी विखण्डन हुँदा प्रजातन्त्रका पक्षमा उभिने आधिकारिक र बलियो संस्था नरहने हो कि भन्ने चिन्ता देखिन्छ । देउवा पक्षमा रहेका कांग्रेसहरू चिनिएका कांग्रेसहरू हुन् भन्ने शंका छैन तर प्रक्रिया र अहंकारका कारणले आजको अवस्था सृजना भएको हो भन्ने कुरामा आत्मसमीक्षा भएको छैन ।
चलायमान कांग्रेसले नयाँ बाटो समाएर अघि बढ्न लागेको यो महाधिवेशनको क्षणमा शुभकामना व्यक्त गर्नुपर्छ, नियमित प्रक्रियामा जोजो नेतृत्वमा आउनेछन्, तिनले जसरी पनि पार्टीलाई एकताबद्ध गर्नेछन् भन्ने विश्वाससमेत लिन सकिन्छ ।
व्यक्ति गौण हो भन्दाभन्दै पनि व्यक्तिमा रहेका अनेक गुणहरूले नै नेतृत्व बन्ने हो । जस्तो कि बीपी कोइराला बन्नका लागि आज पनि कोसिस भएका छन् र पनि कोही किन त्यस्तो विचारवान नेता बनेको देखिएन । त्यही दलको आज जनताबाट तिरस्कृत हुनुपर्ने यो हबिगत किन भयो भने सत्तामा रहँदा गरिएका अल्पदृष्टिका निर्णयहरूले र त्यसपछि झनझन अतीतमा भएका गल्तीहरू दोहोरिने र नयाँ प्रजातान्त्रिक विचारले पार्टी डो¥याउन नसक्दा यस्तो भएको हो । अब त्यस्तो नहोस् भन्ने कुरा १५ औं महाधिवेशनबाट आउने नेतृत्वले सुझबुझ राखोस् भन्ने कामना गरौँ र शेरबहादुर समूहले पनि आजको समयसापेक्ष विचारलाई मनन गरी आपसमा विवाद होइन, समझदारी गरौँ भन्नेमा जानुपर्छ । उनै कार्यकर्ता, उही भुइँ सत्यता, उही सिद्धान्त अनि केको विवाद ? विवाद त गरौँ संगठन बलियो बनाउनमा, सिद्धान्त जोगाउनमा, नयाँ–नयाँ सिद्धान्त प्रतिपादन गरेर विश्वलाई प्रजातन्त्रको आवश्यकता अब झन् छ भनेर सिकाउनमा ।
गणेशमानले पञ्चायतको अन्ततिर गर्न थालिएको सुधारमार्फत् प्रजातन्त्रीकरण रोक्न खोज्दा भन्ने गर्नुहुन्थ्यो, सर्पले मुखमा गाँजेको भ्यागुतोले आफ्नो अवस्था बिर्सिएर नजिकै आएको झिँगा खान जिभ्रोले तानेजस्तै एकातिर मुलुक अराजकता र भाँडभैलो अनि दण्डविहीनताको भुमरीमा गाडिन थालेको अवस्था छ भने त्यस्तो अवस्थाबाट मुलुकलाई प्रजातान्त्रिक कार्यप्रणालीमा फर्काउनुपर्ने दल आपसमा विवादको भुमरीमा जाकिनुले मुलुकमा नयाँ निराशा देखिएको छ । यस्तो बेलामा महाधिवेशन जतिवटा भए पनि मुलुकलाई दिशानिर्देश दिन सकेन भने कांग्रेसको भविष्य पनि अन्धकारमय हुनेछ र अतीतका गीत गाएरमात्र आजको समाजको नेतृत्व गर्न सकिने छैन । जस्तो कि प्रजातन्त्रको जग बसेको र कसैले हल्लाउन नसक्ने भनिएको गणतन्त्रात्मक लोकतन्त्रको संसदीय परम्परा पोहोरको जेनजी आन्दोलनले कति छिट्टै धराशायी भयो र फेरि प्रजातान्त्रिक प्रक्रियाको बाटोमा मुलुक अझै जान सकेको छैन । त्यसको कारणमा पनि नेपाली कांग्रेसको अक्षम नेतृत्व जोडिएको छ ।
२००७ सालमा जय नेपालको नाराले जागेको नेपाल फेरि पनि जाग्नेछ । कामना गरौँ, २००७ सालबाट गुञ्जिएको जय नेपालको नारा सार्थक पार्न बिनाद्वेष र बिनाअहंकार र स्वार्थरहित राष्ट्रसेवामा समर्पित हुने भावना नेपाली कांग्रेसजनमा आओस् र एकताबद्ध कांग्रेसको जय नेपालको नारा नेपाली आकाशमा फेरि घन्कियोस् र आजको प्रजातान्त्रिक मूलप्रवाह भनेको नेपाली कांग्रेसमात्र हो भन्ने सार्थक भावना पूरा होस् भन्ने कामना गरौँ ।
(लेखक अधिकारी स्वतन्त्र पत्रकार हुन् ।)