नेभिगेशन
उपत्यका

दसैं मान्न उपत्यका छाड्नेको लर्को

काठमाडौं । नवरात्रि सुरु भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कमा यात्रुको भीड छ । उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्नहरू धमाधम गाउँघर फर्कन थाल्दा लामो तथा छोटो दुरीको सवारीमा चाप भएको हो । 
नयाँ बसपार्कबाट विभिन्न जिल्ला जाने सार्वजनिक यातायातमा यात्रुको चहलपहल छ । नयाँ बसपार्कको सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले करिब डेढ सातामा नयाँबसपार्कबाट मात्र २ लाख ७ हजार २५१ यात्रु बाहिरिएको बताए । दसैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ परेको छ । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचवि डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।  बस टिकटको अग्रिम बुकिङ शुक्रबार खुला गरिएको थियो । त्यही साँझ   धादिङको गलौंदीमा पृथ्वी राजमार्ग भासिँदा सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसले सवारीसाधन आउने र छुट्ने तालिका नै प्रभावित भएको महासचिव गौतमले बताए । महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । 
नौ दिनमा कहिले कति बाहिरिए ?
असोज १७ गते- १८ हजार ७२९ 
असोज १८ गते- १९ हजार ५३०, 
असोज १९ गते- २३ हजार १६, 
असोज २० गते- २९ हजार ६०२, 
असोज २१ गते -२२ हजार २८८, 
असोज २२ गते- २५ हजार २०१, 
असोज २३ गते- ३१ हजार २३५, 
असोज २४ गते- १६ हजार ९७० 
असोज २५ गते- २९ हजार ३८०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्