फिल्म उद्योगमा वर्षाले कदम चालेको ११ वर्ष पूरा भएको छ । यस क्रममा उनले १६ वटा फिल्ममा अभिनय गरेकी छन् । तीमध्ये आधा दर्जन फिल्मलाई हिट मान्ने हो भने उनको करियर ग्राफमा उतारचढाव देखिन्छ ।
अहिले उनको ‘माग्ने राजा’ फिल्म प्रदर्शोन्मुख छ । यही कारणले उनको दौडधूप पनि निकै देखिन्छ । अहिले उनी एकपछि अर्को टीभी र पडकास्टमा देखा परिरहेकी हुन्छिन् ।
एउटा पडकास्टमा उनी भन्छिन्, ‘फिल्ममा काम गर्न मलाई पैसाले भन्दा कामले नै लोभ्याउँछ । राम्रो काम गर्यो भने त पैसा स्वभाविक रुपमा आइहाल्छ ।’
अहिले रिलिज हुन लागेको फिल्म ‘माग्ने राजा’का कारण आफूलाई डर र उत्साह एकसाथ भइरहेको उनी बताउँछिन् । ‘त्यसो त मलाई पहिलो फिल्म रिलिज हुँदा पनि यस्तै हुन्थ्यो । अहिले १६ औं पुगिसक्दा पनि डर र उत्साह कम भएको छैन,’ उनी भन्छिन् ।
उनलाई दुःख लाग्ने चाहिँ, आधा दर्जन फिल्म हिट भए, ती फिल्ममा उनको कामको राम्रो चर्चा भयो तर कहिल्यै पनि तिनका बारेमा कसैले चर्चा गरिदिँदैन । जहिले पनि यत्रा फ्लप फिल्म खेल्नु भयो भनेर घाउ कोट्याइदिने भनेर उनले गुनासो गरिन् । उनले त घुमाउरो पाराले ती शुभचिन्तक नभएकोसमेत टिप्पणी गरिन् ।
उनी भन्छिन्, ‘सबैको करियरमा सबै फिल्म सफल हुँदैनन् । सबैको करियर सधैं राम्रो हुन्छ भन्ने पनि छैन । त्यसैले अचेल चाहिँ मलाई यस्ता कुराले दुःख दिँदैनन् ।’
अहिले आफूलाई फिल्मको कथाले आकृष्ट गर्ने भएकाले फिल्म नचल्दा पनि राम्रो फिल्ममा काम गर्न पाएकामा सन्तुष्ट हुने गरेको उनको भनाइ छ । अहिले पनि आफूले ‘माग्ने राजा’जस्तो राम्रो विषयमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै अहिले सफलताको कामना गरिरहेको बताउँछिन् ।

उनले आफ्नो करियर पिङजस्तो कहिले माथि जाने र कहिले तल झर्ने भइरहेको बताइन् । यस्तोमा फिल्म नचलिदिँदा सबैले ‘अभागी’को ठप्पा लगाउँदा दुःख लाग्दैन भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई हरेक फिल्मले केही न केही सिकाएको छ । म फिल्म पढेर वा अभिनय सिकेर फिल्म उद्योगमा आएको होइन । काम गर्दै सिक्दै आएको हो । त्यसैले हरेक फिल्मबाट म सिकिरहेको छु ।’
सधैँ फिल्म उद्योगमा काम गर्ने रहर भए पनि नायिकाका रुपमा रहिरहन सम्भव नभएकाले फिल्म उद्योगकै अन्य काममा आफू लाग्ने उनले बताएकी छन् । ‘निर्देशनको रहर छ तर यो काम रहरले मात्र गर्न सकिँदैन । मैले गर्न सक्ने चिज अरु पनि धेरै छन् । तर त्योभन्दा पहिले अभिनयमै पनि धेरै काम गर्न बाँकी नै छ ।’
उनले कलाकारितामै चित्त बुझिनसकेकाले, आफूले चाहेजस्ता चरित्रमा काम गर्न नपाएकाले र क्षमता देखाइनसकेकाले पहिला तिनमा आफ्नो क्षमता परख गर्ने उनको ध्येय रहेको बताउँछिन् ।
‘जबसम्म एउटा क्षेत्रमा सन्तुष्ट भइनसकी अरु क्षेत्रमा हात हाल्नु उचित हुँदैन,’ उनले निर्देशनतर्फ इंगित गर्दै बताइन् । भविष्यमा त्यसतर्फ लाग्ने कुरा त सम्भावना निकै रहेको समेत जनाइन् ।
उनलाई कहिलेकाहीँ राम्रो विषय खेर गएकोमा चुकचुक लाग्छ । उनले अभिनय गरेको एउटा फिल्म सामाजिक सञ्जालमाथि बनेको थियो । त्यो फिल्म रिलिज त भयो तर व्यापक रुपमा चर्चा नभई फिल्म हलबाट उत्रियो । त्यसको मार्केटिङ राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लाग्छ । त्यो विषय स्कूल–कलेजमा पढाइनुपर्ने विषय हो भन्ने उनलाई लाग्छ ।
उनी ‘नाइँ नभन्नू ल २’ बाट फिल्म उद्योगमा छिरिन्, भन्छिन्, ‘मेरो करियर एउटा राम्रो फिल्मबाट शुरु भयो । ट्राई गरुँ न त भनेर म यस क्षेत्रमा आएँ । मेरो कुनै परिवार फिल्म क्षेत्रसँग सम्बन्धित थिएन । यहाँ आइसकेपछि मात्र मलाई धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने थाहा भयो ।’
उनले कुनै नयाँ कलाकार फिल्म उद्योगमा छिर्नु र यो संसारमा बच्चा जन्मनु उस्तै उस्तै रहेको बताइन् । ‘बच्चा जन्मिएपछि हुर्किन समय लाग्छ,’ उनले भनिन्, ‘पाँच वर्षसम्म त मलाई मेरो पनि अस्तित्व छ है भन्न प्रमाणित गर्न संघर्ष गर्नुप¥यो । अहिले बल्ल म काम सिक्दैछु । मैले धेरै गर्न र सिक्न बाँकी छ ।’
फिल्म उद्योगमा एक दशक पूरा भइसकेपछि बल्ल आफू भविष्यमा पनि यही क्षेत्रमा हुन्छु भनेर निश्चिन्त हुन सकेको बताउँछिन् । ‘बल्ल म राम्रो कलाकार हुने प्रयासमा छु । के गर्दा अरुभन्दा फरक हुनसक्छ, राम्रो कलाकार कसरी बन्न सकिन्छ र आफूलाई स्थापित गर्न सकिन्छ भनेर बल्ल बुझ्न थालेकी छु ।’
फिल्म उद्योगले बिस्तारै कन्टेन्ट ठूलो कुरा हो भन्ने विश्वास गर्न थालेकाले यतिबेला वास्तविक कलाकारले काम गर्ने सम्भावना अझ वृहद् हुन थालेको उनको बुझाइ छ । त्यसैले भविष्यमा महिला विषय केन्द्रित फिल्म बढी बन्ने र त्यसमा काम गर्ने कलाकारहरुले आफूलाई प्रमाणित गर्न सक्ने ठाउँ अझ वृहद् हुने उनले देखिरहेकी छन् ।
‘अहिले हामी रोचक समयमा छौँ,’ उनले भनिन्, ‘अहिले त हामी कन्टेन्ट बिक्ने समयमा छौँ । तर अहिले हामी त्यसमा फोकस हुन सकिरहेका छैनौँ । हामीले कतै यो समय खेर त फाल्ने होइनौं भन्ने डर छ ।