नेभिगेशन
मनोरञ्जन

अस्कर अवार्ड पाइखानामा हेर्नू

प्रख्यात अवार्ड जित्ने हरकोहीको सपना हुन्छ । त्यो सपना पूरा भएपछि विजेताले त्यो अवार्ड कहाँ राख्छ ? पक्कै पनि कसैले नदेख्ने ठाउँमा !

तर अस्कर विजेता अभिनेत्री केट विन्सलेटले भने आफ्नो अवार्ड पाइखानामा राखेकी छन् । उनले सन् २००९ मा ‘द रिडर’ चलचित्रबाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी थिइन् ।

उनले दोस्रो विश्वयुद्धपछि ट्रायलमा रहेको एउटा अशविज् गार्डको भूमिकामा अभिनय गरेकी थिइन् । उनले सन् २०१० मा नै एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै आफूले अस्कर अवार्डलाई पाइखानामा राखेको बताएकी थिइन् ।

उनले टेलिभिजनसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘सबैले यसलाई छुन चाहन्छन्, समातेर उठाउन चाहन्छन् तर लाजगाल उनीहरु त्यसो गर्न चाहँदैनन् । त्यसैले मैले यो अवार्डलाई यस्तो निजी ठाउँमा र सबैले देख्ने गरी राखिदिएँ ताकि मान्छेहरु यसलाई देखेर उठाऊन्, लाज त्यागेर त्यसलाई चुमून् । त्यसलाई उठाऊन् र भनून्– अहो, यो त कति भारी रहेछ !’

पाहुनाहरुले यो अवार्ड उचाल्छन् भन्ने तिमीलाई कसरी थाहा भयो ? भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘जब उनीहरु पाइखानालाई फ्लश गर्छन्, त्यसको केही समय म उनीहरु आउलान् भनेर कुरी बस्छु । उनीहरु पाइखानाबाट निस्कनुको साटो अवार्ड उचाल्न थाल्छन् । त्यससँग खेल्न थाल्छन् । हुँदाहुँदा कतिपय साथी त अवार्ड हात परेपछि नक्कली भाषण गरेर आफूले यो अवार्ड प्राप्त गरेकामा अस्कर समितिलाई धन्यवाद दिनसमेत भ्याउँछन् । जब त्यसो गरेर ढिला हुन्छन्, उनीहरुको अनुहार रातोपीरो भएको हुन्छ । अनि, मलाई थाहा हुन्छ, पाइखानामा उनीहरुले शौच मात्र गरेनन्...।’

उनले भनेकी छन्, ‘जसले त्यसो गर्दैन, म उनीहरुलाई अवार्ड उठाएर जितेको अभिनय गर्न हौस्याउँछु ।’

त्यसो त उनले यो अवार्ड यसरी पाइखानामा राख्ने सोच बनाएकी थिइनन् । एक दिन अस्कर अवार्ड जित्नुअघि एम्मा थम्सनको घर गएकी थिइन् । थम्सनले अवार्ड पाइखानामा राखेको देखिन् । त्यो देखेपछि उनलाई कुतकुती लागेर अवार्ड उठाइन् र अवार्ड जित्न सघाएकामा फिल्मका निर्देशक, निर्माता र अन्य समूहलाई धन्यवाद भनी लामो समय भाषण दिइन् ।

त्यसो गरेको केही वर्षपछि भने उनले साँच्चिकै अवार्ड जितिन् । एम्मा मात्र होइन, हन्टर किङले पनि आफूले जितेका दुई एम्मी पुरस्कारमध्ये एउटा बाथरुममै राखेकी छन् । त्यो देखेपछि भने उनी पक्का भइन्, आफूले जिते अवार्डलाई पाइखानामा नै राख्नेछिन् ।

सन् २००९ मा अवार्ड थाप्ने बेलामा केटले भनेकी थिइन्, ‘यो अवार्ड थाप्ने बेलामा मैले भाषणको तयारी गरेकी छैन भनेँ भने म झूटी हुँ । यसअघि मैले बाथरुममा उभिएर यो अवार्ड हातमा लिएको र भाषण गरेको अभिनय गरिसकेकी छु । त्यसअघि पनि म शायद ८ वर्षकी छँदा बाथरुमको ऐनामा हेर्दै सेम्पूको बोतल हातमा लिएर अवार्ड पाएकामा धन्यवाद दिएकी थिएँ । आज आएर यो सपना पूरा भएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन