झापा, १२ असोज - दशैंको सुरुवातसँगै झापाका गाउँदेखि शहरसम्म पिङ हाल्ने र खेल्ने पुरानो परम्परा पुस्तौँदेखि चलिआएको हो । पिङ र दशैंलाई पर्यायवाचीका रूपमा लिइने गरिन्छ । तर पछिल्लो समय भने गाउँघरमा लिङ्गे पिङ हाल्ने चलन बिस्तारै हराउँदै गएको छ ।
पहिल्यैदेखि नै दसैं नजिकिँदै गर्दा युवादेखि बुढापाका सक्रिय भई कसैले डोरी, कसैले बाँस र काठको जोहो गररे गाउँ गाउँमा लिङ्गे पिङ बनाउने गर्थे । त्यसपछि बालबालिकादेखि युवायुवतीसम्म भीडभाड गरेर ‘सररर चचहुई’ भन्दै रमाइलो गर्ने चलन थियो । तर, आजकाल डिजिटल दुनियाँमा रमाउने र आधुनिक मनोरञ्जनका साधनतर्फ युवापुस्ताको आकर्षण बढेसँगै मौलिक संस्कृति बिर्सिँदै गएको समाजका अगुवाहरू बताउँछन् ।
पहिलेजस्तो ठाउँठाउँमा लिङ्गे पिङ हाल्ने र खेल्ने चलन हराउँदै गएको छ । यो हाम्रो मौलिकता हो, यसलाई नयाँ पुस्ताले पनि जोगाउनु पर्ने स्थानीय चन्द्र कोइराला बताउँछन् । त्यस्तै स्थानीय निर्मला नेपालले बिगतमा आफुहरू बाल्यकालदेखि नै दसैं आएसंगै लिङ्गे पिङ हाल्ने र गाउँ घरमा सबै मिलेर रमाइलो गर्दै खेल्ने गरेको सुनाउँछिन् ।
तर, अहिले भने त्यस्तो चलन बिस्तारै हराउँदै गइरहेको उनको भनाइ छ । मौलिक संस्कृति हराउँदै जाँदा बुढापाकादेखि स्थानीय सामाजिक अगुवाहरू पनि चिन्तित बन्न थालेका छन् ।उनीहरूले दशैंमा पिङ खेल्नु केवल रमाइलो मात्र नभई मौलिक तथा धार्मिक संस्कृतिको एउटा पाटो भएकाले यसलाई जगेर्ना गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले पुनः लगाव जगाउनुपर्ने बेला आएको सुरेन्द्रनगर घैलाडुब्बा नन्देश्वर शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष गणेश खरेल बताउँछन् । मौलिक परम्परा र संस्कृतिको जगेर्ना आफैले गर्ने हो । दशैंमा खेलिने पिङ हामी सबैको पुरानो संस्कृति हो । यसलाई जोगाइराख्नु सबैको दायित्व रहन्छ । त्यसैले आफुहरूले यश पटक पनि मन्दिर परिसरभित्र लिङ्गे पिङ लगाइएको उनी बताउँछन् ।
पछिल्लो समय युवापुस्ता आफ्ना मौलिक संस्कृतिप्रति उदासीन बन्दै गएकाले चाडपर्वको मौलिकता हराउँदै गएको छ । आधुनिकताको नाममा आयातित प्रविधि र मनोरञ्जन साधनप्रति बढ्दो आकर्षणले लिङ्गे पिङ मात्र होइन, तिहारका देउसी–भैलो जस्ता मौलिकता पनि कमजोर हुँदै गएको देखिन्छ ।
तसर्थ झापामा मात्रै नभइ देशभरका गाउँघर तथा शहर बजारको खुला ठाउँमा पिङ हाल्ने पुरानो परम्परा जोगाउन स्थानीय, समाजसेवी, युवा र सरोकारवालाहरू सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।