नेभिगेशन
प्रदेश

असल सासूबुहारीलाई पालिकाको सम्मान

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले सासू–बुहारी सम्बन्धप्रतिको नकारात्मक धारणा तोड्दै उत्कृष्ट जोडीलाई सम्मान गरेर समाजमा सकारात्मक सन्देश दिने पहल गरेको छ ।
नेपाली समाजमा नराम्रो सम्बन्ध जनाउने दुई प्रतीकका रुपमा सासूबुहारी रहेको बताइन्छ । यी दुई बीचको सम्बन्ध कहिल्यै राम्रो हुँदैन भन्ने मान्यता राखिन्छ र केही अपवादलाई लिएर त्यसैलाई सामान्यीकरण गर्दा सासूबुहारीको सम्बन्ध खराब भन्ने मान्यता समाजमा स्थापित छ । तर यस गलत मान्यतालाई चीर्ने प्रयास सिन्धुलीको फिक्कल गाउँपालिकाले थालेको छ ।
यस क्रममा पालिकामा रहेका केही जोडी सासुबुहारीलाई संयुक्त रुपमा सम्मान गर्दै पालिकाले नयाँ सुरुवात गरेको छ । फिक्कल गाउँपालिकाले यो वर्ष पालिकाभरिका छ जोडी उत्कृष्ट सासूबुहारीलाई सम्मान गरेको छ । सासू र बुहारीबिच भइरहने झगडालाई हटाई आमा र छोरीको जस्तो सम्बन्ध बनाउन तथा सभ्य समाज निर्माणका लागि उक्त सम्मान कार्यक्रमले प्रोत्साहन गर्ने गाउँपालिकाका उपाध्यक्ष राजु बराल बताउँछन् । 
सम्मानित हुनेहरूमा सासू सुनसरीमाया कामी र उनकी बुहारी सुमित्रा विश्वकर्मा, सासू पञ्चमाया सुनुवार र बुहारी प्रविना सुनुवार, सासू भमाया लुंगेली र बुहारी लक्ष्मीमाया मगर, सासू शिवमाया पहाडी र बुहारी सावित्रा पहाडी, सासू छलिमाया सुनुवार र बुहारी इन्दिरा सुनुवार र सासू कृण्णमाया विक र बुहारी कमला विक छन् । उत्कृष्ट सासूबुहारीलाई एक कार्यव्रmमबीच नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । छ वटै वडाबाट एक जोडीका दरले ती सासूबुहारीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने सासू र बुहारीलाई जनही नगद पाँच हजार रुपियाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरी गाँउपालिकाका उपाध्यक्ष राजु बरालले सम्मान गरेका थिए । गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सासू र बुहारीलाई सम्मान गरिएको हो ।
वडा सचिवहरूको संयोजकत्वमा सबै वडाका महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संयोजक, महिला सहकारीका पदाधिकारी, आमा समूहका अध्यक्षसहितको समिति र वडा अध्यक्ष सल्लाहकार रहेको समितिले सिफारिस गरी पठाएका उत्कृष्ट सासू र बुहारीलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
समाजमा वितगदेखि नै सासुबुहारीको सम्बन्ध नराम्रो रहनुमा तत्कालीन सामाजिक आर्थिक कारण रहेको समाजशास्त्री नवीन गोदार बताउँछन् । ‘गाउँघरमा कामको चाप हुँदा बुहारीलाई मेसिनझैं काममा जोताउन सासूले पेलाउँदा सासूबुहारीको सम्बन्ध नराम्रो हुँदै आएको हो,’ उनी भन्छन्, ‘अशिक्षा र चेतनाको अभावमा पनि विगतमा आफूमाथि भएको शोषण बुहारीउपर थोपर्दा ‘कहिले सासुको पालो कहिले बुहारीको’ भन्ने उखान नै बन्न गयो ।’ तर विगतको सामाजिक आर्थिक चक्र भत्किसकेको र अहिलेका प्रायः बुहारीले कम्तीमा पनि विद्यालय शिक्षा लिएको अवस्थामा विगतको जस्तो पारिवारिक शोषण कम हुँदै गएको उनको धारणा छ ।
नेपाली साहित्यको पहिलो आधुनिक उपन्यास ‘रुपमति’मा चण्डाल र भद्र बुहारीको कथा बुन्ने तत्कालीन सरकारी हाकिम पनि रहेका लेखक रुद्रराज पाण्डेले दर्शाएकोजस्तो तत्कालीन अवस्थमा केही फेरबदल आए पनि अहिले पनि सासुबुहारीलाई सम्मान गर्नुपर्दा अझै यो विषयले समाजलाई पिरोलेको स्थानीय शिक्षक राममणि शर्मा बताउँछन् । छोरी पढाउँ अभियान र गाउँ गाँउमा हुने महिला सशक्तिकरण र मेडियाले गर्दा अहिले पहिलेको जस्तो अवस्था नभए पनि पारिवारिक मनोमालिन्य आर्थिक र सामाजिक कारणले मात्र हुने देखिएको स्थानीय शर्मा बताउँछन् । ‘बाबुआमा झगडा गर्दा पनि छोराछोरीले हस्तक्षेप गर्ने वातावरण आएको छ,’ उनी भन्छन्, ‘कतिपय पारिवारिक मध्यस्तका लागि विद्यार्थीले शिक्षक गुहार्ने गर्दा हिजोको जस्तो दिन वातावरण छैन । बुहारी र सासुबीचको सम्बन्ध सुधार्न पनि चेतना र  शिक्षा महत्वपूर्ण हुने रहेछ । पालिकाको यो प्रयासले पनि राम्रै प्रभाव पार्ने देखिन्छ ।’ 
त्यस्तै, फिक्कल गाउँपालिकाले बागमती प्रदेश सरकारको बाबुआमाविहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत सोही कार्यक्रममा बुवाआमा गुमाएका २४ जना बालबालिकालाई स्टेसनरी सामग्रीसहित जनही २४ हजार रुपियाँ प्रदान गरी सहयोग गरिएको छ । बुवाआमाविहीन ती बालबालिकालाई चालु आव २०८२÷८३ को साउनदेखि असारसम्मको मासिक दुई हजार रुपियाँका दरले सहयोग गरी संरक्षण गरिएको गाउँपालिका सामाजिक विकास शाखा प्रमुख नारायणप्रसाद अधिकारीले जनाए ।
यसअघि पनि यस्ता सम्मानका कार्यक्रम अरु पालिकाले आयोजना गरेका थिए । तनहुँको म्याग्दे गाउँपालिकाले सासु र ससुराको स्याहरसहित सम्मान र माया गर्नेको खोजी गरी ‘असल बुहारी सम्मान कार्यक्रम’ गरेको थियो भने पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ‘असल बुहारी’ का रूपमा १७ जना महिलालाई सम्मान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्