नेपाली समाजका लागि वडादशैं केवल परम्परागत चाड मात्रै होइन, यो आशा, पुनर्जीवन र नयाँ शुरुवातको प्रतीक हो । यस वर्ष दशैंले हाम्रो देशका लागि अर्को विशेष अर्थ बोकेको छ– जेनजी विद्रोहपछिको अन्तरिम सरकार गठन भई राजनीतिक परिवर्तनको नयाँ चरण सुरु भएको छ । यद्यपि नयाँ सरकारका लागि चुनाव समयमै सम्पन्न गरेर जनताबाट वैधता पाउनु आवश्यक छ, त्यहीसँगै सामाजिक मनोबल उठाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
विगतका वर्षहरूमा हामीले अनेक कठिनाइहरू चिरेका छौं । राजनीतिक अस्थिरता, आर्थिक चुनौती, प्राकृतिक प्रकोप र सामाजिक विभाजनका बाबजुद पनि नेपालीले कहिल्यै निराश भएर हार मानेन । यही दृढता र सहनशीलताले हामीलाई प्रत्येक संकटलाई अवसरमा परिणत गर्दै अघि बढ्न मद्दत गरेको छ । अहिले पनि यस्तै सोच राखेर अगाडि बढ्नु आवश्यक छ ताकि लोकतन्त्र र विकास दुवै सुनिश्चित गर्न सकियोस् ।
अन्तरिम सरकार गठनसँगै सबैभन्दा ठूलो चुनौती चुनाव समयमै सम्पन्न गरेर देशलाई स्थिरता र विकासको मार्गमा लैजानु हो । चुनावको म्यान्डेट समयमै पुरा गर्न सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरूको उच्च जिम्मेवारी छ । चुनाव ढिला हुनु भनेको नागरिक विश्वासमा दरार पर्नु र राजनीतिक अस्थिरता बढ्नु हो, जुन अहिलेको अवस्थामा सबैभन्दा विपरीतको उहापोह हुनेछ । यसैले लोकतान्त्रिक प्रक्रिया खरो बनाइ समयमै निर्वाचन सम्पन्न गरेर नयाँ सरकार गठन गर्नु अति आवश्यकीय छ ।
अर्कोतिर, पछिल्लो समय प्रहरी र विद्यार्थी दुवैको मनोवल घटेको छ । प्रहरीमा हुने तनाव र असन्तुष्टिले सुरक्षा व्यवस्था कमजोर पार्छ भने विद्यार्थी आन्दोलनमा आएको निरासाले देशको भविष्यलाई असर पार्न सक्छ । यी दुवै शक्तिलाई सकारात्मक ऊर्जा भरेर उत्साहित बनाउनु जरुरी छ । प्रहरीलाई उचित सुविधा, सम्मान र चुस्त नेतृत्वमार्फत मनोबल उचाल्नु पर्छ । विद्यार्थीहरूलाई संवाद र लोकतान्त्रिक सहभागिताबाट प्रेरित गरिनुपर्छ । विद्यार्थीहरू र सुरक्षा अंगबीच सहकार्यले मात्र सामाजिक शान्ति र विकास सम्भव छ ।
नेपालको समृद्धि र स्थायित्व हामी सबैको साझा जिम्मेवारी हो । नेपाली समाज पछिल्ला वर्षहरूमा संघीय व्यवस्था अपनाउन, केही सीमा समृद्धि हासिल गर्न र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुमा पनि सफल भएका छन् । यस्ता सफलताहरूले देखाउँछन् कि हामी जति नै चुनौती किन नआओस्, हाम्रो सामाजिक सम्बन्ध, सहिष्णुता र परिश्रमले समाधान निकाल्न सक्छ ।
यो दशैंमा हाम्रो संकल्प यो हुनुपर्छ कि हामी सबै मिलेर वर्तमान समस्याहरू पार गर्नेछौं । राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सामाजिक असन्तुष्टिलाई चिरेर नयाँ शक्ति र एकता निर्माण गर्नेछौं । दशैंको शुभ अवसरमा पुराना गुनासो र मतभेद भुली समृद्धि, शान्ति र विकासको साझा सपना पूरा गर्न अघि बढ्ने निर्माण गरौं ।
अन्त्यमा, दशैंले हामीलाई सन्देश दिन्छ, जुनसुकै कठिनाई आए पनि नेपाली समुदायले चिरेर समृद्धि र विकासको नयाँ मार्ग खोल्न सक्छ । यस विश्वास र आशामा यो महान् पर्व मनाउँदा हामी सबै नेपालीमा आत्मबल जाग्रत होस् र नयाँ नेपाल निर्माणको यात्रालाई थप गति मिलोस् ।
वडादशैंको पुनः हार्दिक शुभकामना ।