नेभिगेशन
नेपाल

बाढी पहिरोबाट क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न १२ अर्बभन्दा बढी खर्च हुने

काठमाडौं, २२ असोज : मनसुन र त्यसपछि आएको बाढी पहिरोले देशभरका सडक पुर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । असोज १८ देखि २० गतेसम्म आएको भीषण वर्षासँगैको बाढी पहिरो र विगतमा आएको बाढीले क्षतिग्रस्त सडक, पुल, कल्भर्ट, बेलीब्रिज लगायतका पूर्वाधारको पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले बाढी र पहिरोबाट सडक तथा पुल लगायतका पूर्वाधारमा क्षति पुग्दा ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको छ । विभागका उप–महानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाका अनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक पूर्वाधारमा क्षति पुग्दा ७ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । 

पुलहरूमा भएको क्षतिको नोक्सानी ९१ करोड रुपैयाँ बराबर छ । असोज १८ देखि २० गतेको बाढी र पहिरोले क्षति पुर्‍याएको संरचना पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लगानी आवश्यक पर्ने सडक विभागको प्रारम्भिक अनुमान छ ।

अधिकांश सडक मर्मत गरी खुलाएर सवारी आवागमन सुचारु गरिए पनि यो वर्ष र अघिल्ला वर्षमा आएको बाढीले क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्न ठूलो लगानी आवश्यक पर्ने देखिएको भौतिक पूर्वाधर तथा यातायात मन्त्री कुलमान घिसिङले बताए । ‘बाढी र पहिरोले क्षतिग्रस्त अधिकांश सडकहरू अवरोध हटाएर सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले आवागमन खुलाइएका धेरै सडकको पुनर्निर्माण गर्नुपर्ने भएकाले प्रारम्भिक अध्ययन गररे आवश्यक लगानी जुटाउन काम गरिरहेका छौं ।’

उनका अनुसार यो वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । अघिल्ला वर्षमा बाढी र पहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पनि १ अर्ब ७० करोड रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको हो ।

बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत छुटै व्यवस्थापन गरिने घिसिङले बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीसहितको प्राधिकरण अन्तर्गत बनेको समितिले बाढी पहिरोले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आह्वान गर्ने निर्णय भएको बताए ।

यसपटकको बाढीले सबैभन्दा बढी क्षति मेची राजमार्गका विभिन्न सडक खण्डमा पुर्‍याएको छ । मेची राजमार्ग अन्तर्गत जोरकलास–फिक्कल, फिक्कल–गोदाक, गोदाक–माइखोला, माइखोला–राजदुवाली, राजदुवाली–इलाम बजार, इलाम–धोबिधारा, धोबिधारा–नेपालटार, नेपालटार–राँके र राँके–फिदिम खण्डमा बाढी र पहिरोले क्षति पुर्‍याएकाले पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।

अहिले पनि मेची राजमार्ग भएर हुने सवारी आवागमन अवरुद्ध छ । मेची राजमार्गका ठाउँ–ठाउँमा बाढी र पहिरोका कारण क्षति पुगेर सडक तथा पुलहरू भत्किएकाले ट्र्याक खोलेर सवारी आवागमन खुलाउन अझै केही दिन लाग्ने घिसिङले बताए ।

यो राजमार्गमा पर्ने पाँच वटा स्थायी पुल बाढीले बगाएको छ । स्थायी पुल भत्किएका स्थानमा बेलीब्रिज निर्माण गरी सवारी आवागमन सुचारु गराउने तयारी भइरहेको छ । ‘मेची राजमार्गमा स्थायी पुलहरू नै बगाएकाले अहिलेसम्म सवारी आवागमन खुलाउन सकिएको छैन । बेलीब्रिज राखेर आवागमन सुचारु गराउन काम भइरहेको छ,’ घिसिङले भने ।

बाढीले पुल बगाएका स्थानमा बेलिब्रिज बनाएर सवारी आवागमन सुचारु गराउन खरिद प्रक्रिया सुरु भइसकेको पनि मन्त्री घिसिङले जानकारी दिए । उनले बेलिब्रिज जडानका लागि चाँडै बोलपत्र खुलाउने गरी सबै स्रोत परिचालन भइसकेको बताए ।

प्रारम्भिक अध्ययन अनुसार मेची राजमार्गको पुनर्निर्माणका लागि मात्रै एक अर्ब ५० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै, उपत्यका प्रवेश गर्ने मुख्य मुग्लिन–नारायणगढ सडक खण्डमा पनि बाढीले यो वर्ष अधिक क्षति पुर्‍यायो । 

दशैं अघि नै अधिक पानी परेका बेला पहिरो खसेर सडकमा क्षति पुग्न गयो । यो खण्डमा अहिले पहिरो पन्छाएर यातायात आवागमन रुचारु गराइएको भएपनि यो सडक खण्डको पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । यो सडक खण्डको पुनर्निर्माण गर्न १८ करोड रुपैयाँ लगानी आवश्यक देखिएको सडक विभागले जनाएको छ ।

बाढीले बिपी राजमार्गको बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिकेल सडकको विभिन्न स्थानमा पहिरो तथा क्षति गरेको छ । यो राजमार्गको भकुण्डेबेसीदेखि नेपालथोकसम्मको सडक खण्डमा पनि अधिक क्षति पुर्‍याएको छ । यो खण्डमा सवारी आवागमन सुचारु गराउन तीन स्थानबाट काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अहिलेका लागि डाइभर्सन बनाएर सवारी आवागमन सुचारु गराई सडकको पुनर्निर्माण गरिने मन्त्रालयको योजना छ । हरेक वर्षको बाढीले बिपी राजमार्गमा क्षति पुर्‍याएर सवारी आवागमन अवरुद्ध हुँदै आएकाले यसको वैकल्पिक मार्ग बनाउनका लागि पनि ठूलो लगानी चाहिएको मन्त्री घिसिङले बताए ।

यस्तै, बाढीले विभिन्न जिल्लामा सञ्चालनमा रहेका १७ वटा स्थायी पुलमा क्षति पुर्‍याएको छ । यी पुलको पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ । बाढीले क्षति पुर्‍याएका स्थानमा नयाँ बेलिब्रिज राख्नका लागि पनि ८० करोड रुपैयाँ लगानी चाहिने भएको छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

यस्तै, बाढी र पहिरोका कारण क्षतिग्रस्त भई पुनर्निर्माण गर्नुपर्ने अन्य सडक पूर्वाधारमा हुकाली राजमार्ग पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका विभिन्न खण्ड छन् । सडक विभागका अनुसार ग्वार्को–लुभु–लाकुरी भञ्ज्याङ, पनौती–दाहालटार, जगतभञ्ज्याङ–चापाकोटको जगत–किसान सडक खण्डको पनि पुनर्निर्माण गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्