नेभिगेशन
प्रदेश

बिपी राजमार्गमा शनिबार आवागमन खोल्ने तयारी

काठमाडौं, २३ असोज - सडक विभागले सबै शक्ति लगाएर डाइर्सन बनाइरहेको बिपी राजमार्गमा शनिबारदेखि सवारी आवागमन खुलाउने तयारी छ । यो खण्डमा गत शुक्रबार र शनिबारको बाढीले क्षति गरे यता सवारी आवागमन बन्द छ । पूर्वी नेपाललाई काठमाडौं उपत्यकासँग जोड्ने यो छोटो रुटमा आवागमन रोकिँदा बेलामा काम गरेर देखाउन सरकार निकै दबाबमा छ । 

दसैं सकेर सर्वसाधारण गाउँघरबाट उपत्यका आउने बेलामा भएको घटनाले सडक छिटो खुलाउन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँगै सम्बद्ध सरकारी अधिकारी र प्राविधिकमाथि सडक मर्मत र पुनर्निर्माण छिटो सक्न नैतिक दबाब परेको हो । घिसिङ बुधबार मन्त्रालयका अधिकारीहरू लिएर अनुगमनमै पुगेका थिए । मुग्लिन-नारायणगढ खण्डको अवरोध हटाएपछि फुर्सदिलो बनेको सडक विभागले सबै शक्ति यो रुटमा केन्द्रित गर्दै छिटोको कोसिस गरिरहेको हो ।

‘डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ,’ विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभावकुमार झाले भने, ‘लक्षअनुसार काम भए शनिबार बिहानसम्ममा यो राजमार्गबाट सवारी आवागमन खुलाउँछौं ।’ यो राजमार्ग बनाउन विभागले आफ्नो सम्पूर्ण जनशक्ति परिचालन गरेको उनले बताए । उनले भने, ‘करिब एक दर्जन ठाउँमा काम पूरा भइसकेको छ । अब बाँकी केही ठाउँको सम्पन्न गर्दा शनिबार बिहानसम्ममा सवारी आवागमन सुरु गराउने हाम्रो योजना हो ।’

विभागका अनुसार बाढीले बिपी राजमार्गअन्तर्गत चौकीडाँडादेखि बर्खे खोलासम्म ३ हजार ९ सय ४८ मिटर (नयाँ निर्माण गरिएको पक्की सडकसहित डाइभर्सन सडक) सडक खण्ड बगाएको थियो । त्यहाँ पुनः डाइभर्सन सडक बनाएर आवागमन खुलाउन काम भइरहेको झाले जानकारी दिए । बर्खेखोला, माम्ती खोला, माथिल्लो माम्ती, पिप्ले सिरान, तल्लो पिप्ले, सुक्खा पहिरो पिप्ले, डालाबेंशी, कालढुंगा, बोक्सीकुना, चिउरी बाँसझ्याङ, नार्के, गिम्तीबेंशी, चारसय बेशी, चौकीडाँडा र दाप्चे पुल गरी १९ स्थानमा बाढीपहिरोले नयाँ तथा पुरानो डाइभर्सन सडक बगाएको थियो । 

यी सबै खण्डमा डाइभर्सन बनाउने काम धमाधम रहेको विभागले जनाएको छ । क्षतिग्रस्त खण्डमा विभागले आवश्यकताअनुसार सिंगल र डबल लेनको डाइभर्सन निर्माण गरिरहेको छ । बाढीले क्षतिग्रस्तमध्ये अहिलेसम्ममा विभिन्न ११ स्थानमा डाइभर्सन सडक बनाउने कार्य सम्पन्न भइसकेको झाले जानकारी दिए । बिपी राजमार्गको बर्खेखोला–धुलीखेल सडकखण्ड अन्तर्गत चौकीडाँडा, सुक्खा पहिरो, दाप्चे पुल नम्बर १, कटुन्जे घुमाउने, नार्के, घिम्दीबेंशी, कालढुंगा, डालाबेंशीमा डाइभर्सन निर्माणको काम पुरा भएको छ । चारसयबेंशी सडकको दुई खण्डमध्ये एउटाको काम सकिएको छ ।

शुक्रबारसम्ममा चारसयबेंशी सडकको दोस्रो खण्ड तथा बोक्सीकुना, चिउरीबास, तल्लो पिप्ले, माथिल्लो पिप्ले, माम्ती र माथिल्लो माम्तीसम्मको डाइभर्सन सडक निर्माण सम्पन्न गर्नेगरि काम भइरहेको विभागले जनाएको छ । यस्तै, राजमार्गको नेपालथोक–आँपघारी सडक खण्डमा पनि नयाँ डाइभर्सन निर्माण गर्ने कार्य पूरा भइसकेको छ । गत साताको बाढी र पहिरोले राजमार्गको आँपघारी खण्डमा पक्की सडक कटान गरेको थियो । त्यहाँ अस्थायी डाइभर्सन तयार भइसकेको छ । 

चारसयबेंशीदेखि मंगलटारसम्मको करिब ८ किलोमिटर सडकमा डाइभर्सन बनाउने काम पनि पुरा हुने चरणमा छ । शुक्रबारसम्ममा सुक्खापहिरोदेखि माम्तीसम्मको करिब ४ किलोमिटर खण्डमा पनि डाइभर्सन बनाउने काम पुरा हुने भएको छ । यो राजमार्गको नेपालथोक, आँपघारी र बर्खेखोला सडक खण्डमा गत वर्ष असोजमा आएको बाढीले पनि ठूलो क्षति गरेको थियो । राजमार्गको यी खण्डमा डाइभर्सन बनाउने कार्य सकिएकाले यातायात आवागमन पुनः सुरु गराउने तयारी भएको छ ।

यो राजमार्गले बागमती, मधेश र कोशी प्रदेशका जिल्लालाई काठमाडौं उपत्यकासँग जोडेको छ । गतवर्षको बाढीले क्षति पुर्‍याएको राजमार्ग पूर्णरूपमा पुनर्निर्माण भइसकेको थिएन । रोशी खोलाबाटै अस्थायी डाइभर्सनहरू बनाएर आवागमन खुलाइएको थियो । शुक्रबार र शनिबारको भारी वर्षसँगै बाढीपहिरोले पुनः सडक क्षतविक्षत बनाएको हो । दसैंका बेला भएको घटनाले सवारी आवागमन बन्द छ । यो राजमार्ग अवरुद्ध हुँदा राजधानी आउने यात्रुलाई लामो रुटबाट यात्रा गर्नुपर्ने बाध्यता छ भने वैकल्पिक मार्गहरूमा लामो सवारी जाम लाग्ने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्