नेभिगेशन
अर्थतन्त्र

तिहारका लागि बजारमा बढ्यो चहलपहल

काठमाडौं, ३० असोज - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तिहार नेपालीको घरदैलोमै आइपुग्न लाग्दा राजधानीका मुख्य बजारहरूमा ग्राहकको भीड देखिन थालेको छ । तिहार सुरु हुन केही दिनमात्रै बाँकी रहेकाले काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य व्यापारिक क्षेत्रहरूमा धनतेरस, लक्ष्मी पूजादेखि भाइटीकासम्मका लागि चाहिने सामग्री तथा कपडा खरिद गर्न आउने ग्राहकको भीड बढ्दै गएको हो ।

उपत्यकाका असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायतका क्षेत्रमा तिहारका सामग्री खरिद गर्न आउने सर्वसाधारणको चाप बढेको देखिन्छ । झिलिमिलि बत्ती पसल, भाइमसला, सुनचाँदीका सिक्का, कलश, दियो तथा तामा–पित्तलका भाँडा बिक्री हुने पसलहरूमा ग्राहकको घुइँचो लागेको छ ।

तिहारमा ग्राहकले माटोका पाला (दियो), झिलिमिलि बत्ती, सप्तरंगी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा, गरगहना खरिद गर्ने गरेको व्यापरीहरू बताउँछन् । तिहारमा धनतेरस र लक्ष्मी पूजाका लागि ग्राहकले चाँदीका भाँडा, कलश, दियो तथा सिक्काहरू खरिद गर्ने गरेको न्यूरोडकी व्यवसायी संगीता शाक्यले बताइन् ।

‘धनतेरस र लक्ष्मीपूजाका लागि चाँदीका सिक्का, कलश, दियो, पूजाको थालीलगायत सामानको बिक्री बढ्ने गरेको छ,’ उनले भनिन्, ‘चाँदीका भाँडाकुँडाको व्यापार बढेको छ ।’ उनले बजारमा चाँदीको अभाव भए पनि व्यवस्थापन गर्न समस्या नभएको बताइन् ।

तिहारमा धातु खरिद गर्नुपर्ने धार्मिक मान्यता रही आएकाले तामा र पित्तलका सामग्री खरिद गर्ने ग्राहक पनि छन् । यमपञ्चक सुरु भएपछि व्यापार अझै बढ्ने व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी सानाठूला पसल तथा सपिङ सेन्टरका व्यापारीले विभिन्न छुटको अफर दिएर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

भित्री बजारका सडक तथा गल्लीको फुटपाथमा पनि रंगोली बनाउने रंग, भाइटीकामा प्रयोग हुने सप्तरंगी रंग बिक्री गर्ने साना व्यापारीको सक्रियता देखिन्छ । तिहारका सामान बिक्री गर्न बसेका अजितकुमार साहले अहिले खासै बिक्री नभएपनि केही दिनपछि व्यापार बढ्ने बताए ।

यस्तै, तिहारका लागि झिलिमिलि बत्ती, प्लास्टिकका माला, मखमली फूलका माला बिक्री गर्ने व्यापारीको चहलपहल पनि बढ्दै गएएको देख्न सकिन्छ । तिहार नजिकै आएकाले झिलिमिलि बत्ती खोज्न आउने ग्राहकको संख्या बढ्दै गएको असनका व्यापारी विपिन शाही बताउँछन् । ‘मैले हरेक वर्ष तिहारलाई लक्षित गरी झिलिमिलि बत्तीको व्यापार गर्दै आएको छु,’ उनले भने, ‘यो व्यापारमा लगानी गर्न सक्ने हो भने राम्रो मुनाफा कमाउन सकिन्छ ।’ 

उनले तिहार नजिकिँदै जाँदा अहिले दैनिक १५ हजार रुपैयाँ बराबरको झिलिमिलि बत्ती बिक्री गर्दै आएकामा तिहार सुरु भएपछि यो बढेर दैनिक ४० हजार रुपैयाँसम्म पुग्ने बताए । यो वर्ष इलेक्ट्रिक दियोको माग खासै नदेखिएको पनि उनले बताए । झिलिमिलि बत्तीको व्यापारमा बढी नाफा हुने व्यापारीहरू बताउँछन् ।

काठमाडौंका भित्री शहरका गल्लीमा खाने मसलाको पसलमा पनि ग्राहकको भीड लागेको छ । ग्राहकले काजु, किसमिस, ओखर, बदाम, ल्वाङ, सुकुमेलजस्ता मसला खरिद गरिरहेका छन् । व्यापारी लक्की कुमार तिहार सँघारमै आएकाले मसलाको व्यापार बढिरहेको बताए ।

‘हाम्रो पसलमा विभिन्न मसलाहरू खरिद गर्न अरू समयमा पनि ग्राहकहरू आउँछन् । तर, तिहारमा अन्य समयमा भन्दा बढी व्यापार हुन्छ,’ उनले भने । उनले यो वर्ष अघिल्लो वर्षको तुलनामा काजु, किसमिसजस्ता भाइमसलाका लागि चाहिने सामग्रीको मूल्य घटेको दाबी गरे ।

महँगी बढेको उपभोक्ताको गुनासो पसलमा भाइमसलाका सामग्री खरिद गर्न पुगेकी बानेश्वरकी पार्वती सापकोटाले कुनैपनि सामानमा महंगी बढेको बताइन् । अर्की ग्राहक सीता श्रेष्ठले पनि भाइमसला अन्य वस्तुको तुलनामा महंगो मूल्य पर्ने गरेको बताइन् ।

यस्तै, मुख्य बजारहरूमा कपडा, ढाकाटोपी किनमेल गर्ने ग्राहकको पनि चहलपहल बढेको छ । यी सामग्री बिक्री गर्न मुख्य पसलदेखि फुटपाथसम्म खुद्रे पसलहरू व्यापारीले राखेका छन् । बजारमा भीड देखिए पनि ढाकाटोपीको व्यापार खासै नभएको दोलखा स्थायी घर भई टोपीको व्यापार गर्दै आएकी सन्तोषी कार्कीले गुनासो गरिन् ।

‘हामीले पनि होलसेलमा खरिद गरेर ल्याएका टोपी तिहारको समयमा खुद्रा मूल्यमा ग्राहकलाई बिक्री गर्ने हो । अघिल्लो वर्ष राम्रो व्यापार भएको थियो । तर, यो वर्ष ढाका टोपीको मूल्य घटाएर दिँदा पनि व्यापार बढ्न सकेको छैन,’ उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्