नेभिगेशन
अर्थतन्त्र

पर्व स्वदेशी, सामान विदेशी

काठमाडौं, ३० असोज - तिहार पर्वलाई लक्षित गर्दै देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा भिलिमिलि बत्ती, माटाका पाला, मैनबत्ती, भाइमसला, लत्ताकपडा लगायतको व्यापार बढेको छ । व्यापारिक हिसाले दशैंपछि तिहार सबैभन्दा धेरै किनमेल हुने पर्व हो । गरगहना, भिलिमिलि बत्ती, फूल, मिठाइ तथा भाइमसला लगायतको कारोबार तिहारमा धेरै हुने गर्छ । तर यस्ता उत्पादनहरू आन्तरिक भन्दा आयातित बढी हुने गरेका छन् । अधिकांश वस्तु भारत, चीन र थाइल्याण्डलगायतका मुलुकबाट आयात गरिएका छन् ।

व्यापारीहरूका अनुसार सस्तो मूल्य र आकर्षक डिजाइनका कारण विदेशी वस्तुप्रति उपभोक्ताको आकर्षण हुनेगर्छ । व्यापारीहरूले पनि धेरै नाफा कमाउने लोभमा विदेशी वस्तु आयात गरि बिक्री वितरण गर्ने गरेका छन् । नेपालमा बनेका माटाको पालाको गुणस्तर राम्रो भए पनि राम्रो नाफा पाउने लोभमा व्यापारीहरूले भारतबाट आयात गरेर बिक्री वितरण गरेका छन् । भक्तपुरका कुमालेहरूले आयातित माटाका पालाका कारण आफूहरूको व्यापार घटेर गएको छ ।

यस्तै, विद्युतीय बत्तिका कारण माटाको पालाको व्यापार पनि घटेको छ । चिनियाँ विद्युतीय बत्ती, विद्युतीय सजावटका सामग्रीहरूले बजारमा विशेष स्थान बनाएको देखिन्छ । अनलाइन प्लेटफर्म र सुपरमार्केटहरूमा भारतीय र चिनियाँ ब्राण्डका यस्ता वस्तुहरू बिक्री वितरण भइरहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिन प्रयोग हुने भाइमसलाको आयात धेरै भएको छ । भाइमसलामा प्रयोग हुने सुपारी, किसमिस, ओखर, बदाम, काजु, सुकमेल, ल्वाङलगायतको वस्तु आयात भएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा मात्रै तिहारमा प्रयोग हुने सुपारी मलेसिया र इन्डोनेसियाबाट ४७ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै चीनबाट ३७ करोड ६६ लाख रुपैयाँ बढीको किसमिस आयात भएको छ । चीन बाटै २४ करोड ६४ लाख रुपैयाँ बढीको ओखर आयात गरिएको छ ।

बदाम अमेरिकाबाट ल्याइएको छ । विभागको तथ्यांकअनुसार २३ करोड ७९ लाख रुपैयाँ बराबरको बदाम आयात भएको छ । यस्तै काजु १७ करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको देखिन्छ । काजु साउदी अरब, भियतनाम र भारतबाट आयात गरिएको छ । मसलामा सुकमेल ११ करोड ३० लाख रुपैयाँको र ल्वाङ ३ करोड ४ लाख रुपैयाँको आयात भएको छ । सात करोड ६६ लाख रुपैयाँको नरिवल आयात भएको छ ।

तिहारमा प्रयोग हुने माटोका पाला समेत भारतबाट आयात भएको छ । भन्सार विभागको तथ्यांकमा नदेखिए पनि व्यापारीहरूले भारतबाट आयात गरिएका माटाका पाला बिक्री वितरण गरिरहेका छन् । माटाका पालाको सट्टामा प्रयोग हुने भिलिमिलि बत्ती मात्रै २५ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । भिलिमिलि बत्ती सबैभन्दा धेरै चिनियाँ बजारबाट आयात गरिएका छन् ।

भन्सार विभागका अनुसार गत साउन र भदौमा मात्रै तीन खर्ब पाँच अर्ब रुपैयाँ बराबरको आयात भएको छ । चाडपर्वमा प्रयोग हुने सामानको बढी आयात हुँदा यि दुई महिनामा आयात उच्च हुने गरेको भन्सार विभागका आधिकारीहरू बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्