नेभिगेशन
दृष्टिकोण

तिहार, रंग र जीवन

तिहार रंगको पर्व हो, फूलैफूलको पर्व हो र रंगीन जीवनको पनि । वैदिक सभ्यता बोकेका हाम्रा लागि हरेक दिन चाड हुन्छन्, पर्व हुन्छन्, जीवन छ, जीवन्त बनाउँछन् जीवनलाई चाड पर्वहरूले । रंगको ठूलो चाड तिहार हाम्रा वरिपरि आइसकेको छ । 

तिहारमा मात्र होइन हाम्रा लागि रंगको सधैं महत्व छ । घर, भवन, सजाउने रंगले नै हो । शास्त्रीय मान्यता आप्mना राशि र तिनका मालिक अनुसारको रंगको प्रयोग गर्दै घर, कोठा, कपडाको प्रयोग गरे मानिस सदैव प्रसन्न रहन सक्छ । हामी सौर्य मण्डल नवग्रहको प्रभावमा छौं । 

ग्रहमा सबैको मालिक सूर्य हो । मेष, वृश्चिक, सिंह राशिका मानिसलाई रातो कपडाको पहिरन उत्तम हुन्छ । कोठा, भवन, सवारी साधन सकेसम्म केही भए पनि मूल भाग कपडा नै किन नहोस् रातो रंगले शुभ हुन्छ । वृष, तुला राशिका मानिसको मालिक शुक्र भएको र शुक्रको रंग जहिले पनि सेतो हुन्छ, यसर्थ छातीको भाग वा शिर भागको पहिरनमा, गाडी, कोठा, भवन, मूल ढोकामा सेतो रंगले शुभ हुन्छ । 

मिथुन राशिको मलिक बुध हो हरियो रंग सार्थक हुन्छ । कर्कट राशिका लागि मालिक चन्द्रमा भएका, उनको रंग पनि सेतो हो, सौम्य रंग सेतो शुभ हुन्छ सबैतिर । कन्या र मिथुन राशिको हरियो हो । धन राशि र मीन राशिका मालिक हुन् गुरु वृहस्पति, उनको रंग पहेंलो हुन्छ, यस्ता राशिका मानिसहरूले आफ्ना विषय बस्तुहरूलाई पहँेलो रंगलाई प्राथमिकता दिनु पर्छ । 

मकर र कुम्भ राशिका मानिसका मालिक शनिदेव हुन्, कालो रंगको सबै समग्रीहरू शुभ हुन्छ, नभए मूल पहिरन वा घर ढोका वा कोठामा हल्का कालो रंग शुभ हुन्छ । जीवनका हरेक आयाम, उद्यम, व्यापारमा यसको अर्थ रहन्छ । कुम्भ, मकर राशिकालाई तिल, तेल, धातुमा हार्डवेयरका सामानको व्यापार फस्टाउँछ । 

वैदेशिक रोजगारी, वैदेशिक व्यापार, आयात निर्यात गर्दा पनि आफ्नो ग्रह, राशिको दिशा र मालिक हेररे गर्दा सफल हुन सकिन्छ । शुक्रको दिशा पूर्व हो, शनि, राहु, केतु ग्रहको दिशा पश्चिम, नैऋत्य, वायव्य हो भने बुधको उत्तर, वृहस्पतिको पनि ईशान, उत्तर, पूर्व बासस्थान हो । मंगलको दक्षिण, चन्द्रमाको वायव्य वा आग्नेय हो, सूर्यको त पूर्व भइहाल्यो । दिशा र रंग मिलाउन सके वास्तु दोष पनि रहन्न र उद्योग, उद्यमशीलताको विकास गर्न सहज हुन्छ, उद्यम, व्यापार अपार हुँदै आउँछ ।

पद्मपुराणले उद्घोष गरेको छ रातो टिका हरेक कार्यको लागि मंगल सूचक हो । ग्रहमध्ये मंगल ग्रहको रुप रङ रातो वर्णको छ । सेतो रङ शान्तिको प्रतीक हो, शुक्र ग्रहको रुप, रङ श्वेत वर्णको छ । पहेंलो रङले दीर्घजिवीको संकेत गर्छ, गुरु बृहस्पति, ग्रह बुधको रुप रङ पहेंँलो, हरियो वर्णको छ । 

Achyut-Prasad-Paudel-1757129561.jpg
अच्युतप्रसाद पौडेल ‘चिन्तन’

पिताम्वरको कपडा शिवजीलाई अर्पण गरिनु, घर कोठाहरू पहेंँलो रङले सजाउनु आफू र वरिपरिको बातावरण शान्त र दीर्घजिवीहोस् भन्ने नै हो । निलो रङले निरोगिताको संकेत गर्छ । कुम्भ, मकर राशिलाई कालो र नीलो पनि शुभ हुन्छ, आकाशको रङ निलो छ, समस्त भूमण्डलमा निरोगिता होस् र बातावरण सकारात्मक होस् भनी सबैको छहारी छाता भएर ब्रह्मका रुपमा आकाश सर्वव्याप्त भएर रहेको छ । हरियो रङ बौद्धिकताको रंग हो । बौद्धिक व्यक्तित्वबाटै ठूला कार्यहरू सिद्ध हुन्छन् ।

त्यसो त हरेक पूजा बिधानमा आ-आफ्नै शैली र शिष्टता हुन्छन् । रंगिन फूलहरूको माला सजाएर समाज उपयोगी, कलात्मक, रंगिन जीवन निर्वाह गर्न प्रेरित गरिन्छ र ओखर फुटाएर घटना, दुर्घटना, यमको भय दूर गर्ने प्रयास गरिन्छ । 

सती, साध्वी, तपस्वी, दिदी बहिनीहरूको आशीर्वाद र दाजुभाइहरूको मनोरथ पूर्तिको असल नमूना चाड तिहार विशेषले आपसी कटुतालाई बिर्साएर आत्मउन्नति र स्वाभिमान, एवं सर्व कल्याणका लागि प्रेरित हुन हामी सबैलाई संकेत गर्दछ । हर्ष र विजय उत्सवको पर्व दाजुभाइलाई देवता र दिदी बहिनीहरूलाई देवीको रुपमा पुज्ने हाम्रो वैदिक परम्परा संसारकै अनुपम र उदाहरणीय छ ।

तिहारमा देवी लक्ष्मीको उपासना गरिन्छ, त्यसो त दसैँमा पनि महालक्ष्मीको पूजा उपासना गरिएकै हो, कोजाग्रत भन्नु जीवनलाई सक्रिय गरानु नै हो । सक्रिय जीवनमै लक्ष्मीको बास हुन्छ र सफाइ मूल आवश्यकता हो । तनको सफाइ गर्छौं हामी तर मनको गर्दनौं । मनको सफाइ भनेको सत्संग, सत्य वाणी र अध्यनशीलता नै हो । देखेर, सुनेर, बुझेर, मनन गरेर जीवन सार्थक बनाउने हो । 

लक्ष्मीको चर्चा गर्दा यिनको स्वरुप बुझ्नु पर्ने हुन्छ । यिनका मुख्य २ रुप छन् । एउटा हो भौतिकरुप, अर्को हो आध्यात्मिक वा दैवीस्वरुप । भौतिक रुपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन् । दैवी र आध्यात्मिक रुपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ । तर उपयोगको रुपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् । 

जहांँ लक्ष्मीको सेवा हुन्छ त्यहांँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने बस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् । मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुवै पाउँदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्