संवाददाता, काठमाडौं, कात्तिक १८
चालू आर्थिक वर्ष २०८२÷८३ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँको व्यापार (बीमाशुल्क संकलन) गरेका छन् । कुल सात लाख ८० हजार ६१३ बीमालेखबाट सो रकम संकलन भएको देखिन्छ छ ।
माइक्रो इन्स्योरेन्स बाहेकका १४ बीमा कम्पनीले कुल १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ६ लाख ८८ हजार ९८२ वटा बीमा बीमालेख बिक्री भएका छन् । चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीले ९१ हजार ६३१ पोलीसीबाट कुल २६ करोड ८१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसपछि शिखर इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ संकलन गरेका छन् ।
सबैभन्दा कम बीमाशुल्क राष्ट्रिय बीमा कम्पनीले संकलन गरेको छ । यो कम्पनीले कुल पाँच हजार ५७२ बीमालेखमार्फत ४१ करोड ४१ लाख रुपैयाँ संकलन गरेको हो ।
बीमालेख बिक्रीमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि छ, जसले १ लाख २ हजार ४९४ बीमालेख बिक्री गरी ८८ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ ।
५० हजारभन्दा बढी बीमालेख बिक्री गर्नेमा शिखर, हिमालयन एभरेष्ट, नेको, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, एनएलजी र आइजीआई प्रुडेन्सियल रहेका छन् ।
माइक्रो निर्जीवन बीमा कम्पनीतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै सात करोड तीन लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पाँच करोड ८२ लाख रुपैयाँ संकलन गरेको छ ।