नेभिगेशन
अर्थतन्त्र

बागमती प्रदेशका उद्योगमा बैंकहरूको ऋण लगानी १२ खर्ब ११ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँग अहिले ७४ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै, ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्ये बागमती प्रदेशमा रहेका उद्योगहरूमा प्रवाह  भएको कर्जा १२ खर्ब भन्दा बढी छ । २०८२ असार मसान्तसम्मको तथ्यांकअनुसार बागमती प्रदेशको औद्योगिक कर्जा १२ खर्ब ११ अर्ब रुपैयाँ छ ।

बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले २०८२ असार मसान्तसम्म ४७ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ३६.४ प्रतिशत छ । त्यसमध्ये पनि काठमाडौं जिल्ला भित्र रहेका उद्योगहरूमा ११ खर्ब १९ अर्ब रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड रुपैयाँ कर्जा लगानी भएको छ ।

अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा पनि काठमाडौंमा नै देखिएको राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ मा उल्लेख छ ।

विशेषगरी काठमाडौं उपत्यका, नेपालको आर्थिक, व्यापारिक र प्रशासनिक केन्द्र भएकाले बैंकहरूको कर्जा लगानी अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै देखिन्छ । सबैभन्दा बढी जनसंख्या र शहरीकरण, उद्योग, व्यापारिक संस्था र सेवा क्षेत्र पनि बागमती प्रदेशमा नै धेरै भएकाले वित्तीय क्रियाकलाप पनि धेरै हुने गरेको छ । यसबाहेक मुख्य कार्यालयहरूको केन्द्रिकरण, पूर्वाधार र बजारको पुहुँच, रियल स्टेट र निर्माण क्षेत्रको विस्तार, पर्यटन र सेवा क्षेत्रको आकर्षण र उपभोक्ताको उपभोग क्षमतार आम्दानी पनि बागमती प्रदेशमा नै धेरै छ । यहीकारण बैंकहरूले आफ्नो कर्जाको ठूलो हिस्सा बागमती प्रदेशमा नै केन्द्रित गरेका छन् ।

कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा २२.०९ प्रतिशतले, विद्युत्, ग्याँस तथा पानीमा २१.१ प्रतिशतले, निर्माण उद्योगमा १५.३० प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ४.९० प्रतिशतले कर्जा बढेको छ । खानी उत्पादनसम्बन्धी उद्योगमा १.३४ प्रतिशतले र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगमा २.५८ प्रतिशतले कर्जा घटेको छ ।

बागमती प्रदेशको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले एक खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये ३.७० प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ । देशभर प्रवाह भएको कुल कृषि कर्जामध्ये बागमती प्रदेशको हिस्सा ३६.१६ प्रतिशत छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत, चितवन जिल्लाको हिस्सा २३.१ प्रतिशत, मकवानपुर जिल्लाको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा ४.३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ । जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौं र चितवनमा अधिकेन्द्रित भएको देखिन्छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको कर्जा सीमा बमोजिम केन्द्रीय एवम् क्षेत्रीय कार्यालयहरूबाट कर्जा स्वीकृत हने र त्यस्ता कार्यालयहरू धरैजसो काठमाडौं जिल्लामा भएको कारण सो जिल्लाहरूको कृषि कर्जाको हिस्सा बढी देखिने गरको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र