नेभिगेशन
नेपाल

रमाइलो चाड योमरी पूर्णिमा

नेपालका आदिवासी नेवारहरूले मनाउँदै आइरहेको रमाइलो चाड योमरी पूर्णिमा महत्त्वपूर्ण विशेषताले भरिएको चाड हो । नयाँ धानको चामलबाट बनाइने योमरीका लागि चामलको पिठो लस्सादार हुनुपर्छ । विगतमा तौली धानको चामल हुन्थ्यो । अहिले ताइचिन चामलको पिठो प्रयोग गर्न थालिएको छ । चाकु र पिसेको तिल राखेर बनाइने शंख आकारको योमरीलाई ‘बायो’ भनिन्छ । तीनकुने आकारकोलाई ‘मायो’ भनिन्छ । मायोभित्र चाकु तिल राखिँदैन । यो ‘मायो’, ‘बायो’ भनेको सृष्टिको आदि पुरुष र आदि शक्ति आमा र बाबु अर्थात् पुरुष र स्त्रीको प्रतीक हो । यसरी रमाइलो दर्शन लुकिरहेको योमरी बनाई योमरी पूर्णिमाका दिन नयाँ धान राख्ने भकारी माथि योमरी राखेर पूजा गर्ने चलन नेवारहरूको आफ्नै मौलिक संस्कार हो । भकारीलाई लक्ष्मी मानेर पूजा गरिन्छ । पूजा गर्दा चामलकै पिठोबाट गणेश, लक्ष्मी, कुबेर र यिनै देवताका वाहन मुसा, कछुवा र ख्याक पनि बनाउने चलन छ ।

परापूर्वकालदेखि नेवारहरूले बनाई खाँदै आइरहेको यो योमरीमा लुकिरहेको अर्को दर्शन भनेको हाम्रा पुर्खाहरूले हामीलाई र हाम्रा बालबच्चाहरूलाई एक किसिमले चित्रकला, मूर्तिकला र सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने मौका प्रदान गरिरहेका छन् भने बालबालिकाले पनि योमरी बनाउन सिक्ने क्रममा आफ्नो कला र प्रतिभा पनि प्रस्तुत गर्ने अवसर पाइने हुँदा उनीहरू अत्यन्तै हर्षित भई योमरी र विभिन्न किसिमका देवता र जनावरका मूर्ति बनाउने प्रयास गरिरहेको हुन्छन् । यसले गर्दा केटाकेटीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त भइरहेको हुन्छ । पछि गएर उनीहरूले आफ्नो संस्कारलाई उपयोगमा ल्याई आफ्ना बच्चाहरूलाई पनि सिकाइरहेको हुन्छन् । योमरी बनाउँदा ल्वहंचा मरी पनि बनाइन्छ । ल्वहंचा मरी र स–साना योमरी बनाई देवतालाई पूजा गर्दा चढाउने गरिन्छ । उपत्यकाका विभिन्न देवताका रथयात्रा र खट जात्रा गर्दा पनि ल्वहंचा मरी, चटामरी र योमरी वरिपरि घरका झ्यालबाट छरेर देवतालाई अभिषेक गर्ने चलन छ । त्यसरी छरेका योमरी जसले हात पार्न सक्यो उसलाई पुत्रलाभ हुन्छ भन्ने जनविश्वास छ ।

बालकहरूको २, ४, ८ र १२ वर्षको जन्मोत्सवमा पनि योमरीको माला बनाई पहिर्‍याई दिने चलन छ । यो संस्कारले के सिकाइरहेको हुन्छ भने बालकहरू होसियारी गर्दै हेर अब तिमी यति वर्षका भयौ तिमीले यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुन्न भन्ने शिक्षा दिने गरिन्छ जुन अत्यन्तै व्यावहारिक छ भन्न सकिन्छ । बालक जति वर्ष पुगेको हो त्यति नै ओटा योमरीको माला बनाई पहिर्‍याइन्छ । १२ वर्ष पुग्दा पहिर्‍याउने १२ ओटै योमरीमा चाकु राखिएको हुन्छ भने २, ४ र ८ ओटा योमरी पहिर्‍याइ दिँदा उक्त योमरीभित्र पाँच गेडा अक्षता मात्र राख्ने चलन छ । यसरी पाँच गेडा अक्षता राख्नुको अर्थ पञ्चतत्त्व वा पञ्चबुद्धको प्रतीकका रूपमा लिँदै आएको छ ।

योमरीलाई पनि पञ्चतत्त्वकै रूपमा लिइएको पाइन्छ । अग्नि, जल, वायु, आकाश र धर्तीलाई पञ्चतत्त्व भनिन्छ । योमरीभित्र धर्तीका रूपमा चामलको पिठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली स्थान र वायुका रूपमा तिललाई लिइएको छ ।

आयुर्वेदिक मान्यता र आधुनिक चिकित्साको मान्यताअनुसार पनि योमरी स्वास्थ्यवर्धक र पौष्टिकताले भरिपूर्ण खाद्यका रूपमा लिइन्छ । जाडो याममा पर्ने योमरी पूर्णिमाको समयमा बढ्दो चिसोबाट बच्न आवश्यक कार्बोहाइड्रेट प्राप्त हुने योमरी खानाले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुग्ने र यसका साथै योमरीमा रहेको चाकुले हाम्रो स्वास्थ्यमा हेमोग्लोबिन कमी हुन नदिने भएकाले योमरी निकै नै स्वास्थ्यवर्धक छ । योमरी ऊर्जावान् र बढी पौष्टिकता भएकै कारणले गर्दा नै नेवारी संस्कारमा गर्भवती चेलीलाई खुवाउने गरिन्छ । यसले गर्भमा रहेको शिशुको स्वास्थ्यमा पनि पौष्टिकता प्राप्त हुन पुग्छ । बालकको जन्मदिन, बुढा बुढीहरूको जंक्व (बुढो पास्नी), गुथिका समयमा पनि विशेष गरी योमरी खाने र खुवाउने गरिन्छ । जाडो समयमा मात्र चाड मानेर खाँदै आइरहेको योमरी हाल आएर बाह्रै महिना जताततै खान पाइन्छ ।

योमरी पूर्णिमाका दिन घरैपिच्छे केटाकेटीहरू गएर गीत गाउँदै योमरी माग्न जाने चलन थियो, देउसी–भैलो मागेजस्तै । अहिले आएर समयको परिवर्तनसँगै केटाकेटीहरूले योमरी मागेर खाने चलन हराउँदै गए पनि गाउँघरमा अझै छ ।

विश्वमै प्रख्यात नेवारी संस्कृति, परम्परा र संस्कारको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ज्यापु संस्कृति विकास कोष र ज्यापु महागुथिको संयुक्त प्रयासमा २०६१ सालदेखि योमरी पूर्णिमाको दिनलाई ज्यापु दिवसका रूपमा मान्दै आएको छ । नेपाल सरकारले पनि ज्यापु दिवसलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिएर सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

मार्ग शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । दत्तात्रय भगवानको जन्मदिन पनि यही दिन भएको हो । यही पूर्णिमाका दिन रात्रिको समयमा बनेपामा धनेश्वर महादेवको जात्रा गरिन्छ । यसै दिन कतिपय नेवारहरूले देवली पूजा गर्दछन् भने अन्य कतिपयले घरमा गैडु पूजा, गोठ पूजा पनि गर्ने चलन छ ।

नेवारी संस्कृतिमा पुराणमा भनिएझैं भगवती, गणेश, कुमारको आकारमा योमरी बनाई विभिन्न देवदेवीलाई सम्झी नयाँ धानको भकारीमा राखी पूजा गरेर छोपी राख्छन् र चार दिनसम्म पूजा गरेपश्चात् चेलीबेटीलाई नखत्या बोलाई प्रसाद खाने र खुवाउने गर्दछन् ।

महामाया भगवतीलाई दशैंमा महाकाली, तिहारमा धनलक्ष्मीका रूपमा मान्ने गरिन्छ भने मार्गशीर्ष पूर्णिमाका दिन धान्य लक्ष्मीका रूपमा मान्ने गरिन्छ । योमरीको गर्भमा रहेको तिल र चाकुलाई महामाया भगवतीको प्रतीकका रूपमा लिइन्छ । भित्र मासु भएको योमरीलाई गणेशका रूपमा लिइन्छ भने मासको छाँटाको पिठोभित्र भएको योमरीलाई कुमारको प्रतीकका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्