नेभिगेशन
दृष्टिकोण

मन जोड्ने सम्बन्ध आवश्यक

भूपेरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल भूपरिवेष्ठित होइन, भूजडित मुलुक भनेर दिनुभएको अभिव्यक्ती सराहनीय छ । विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिँदै उहाँले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिनुभएको छ । 

यसका लागि द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय स्तरमा सहयोग र साझेदारीलाई बलियो बनाउन आवश्यक छ भन्ने प्रमद्वारा व्यक्त भएको छ । यो नेपालको लागि आफ्नो छवि र क्षमता सुधार गर्ने अवसर हो, जुन उन्नत कूटनीतिक पहलबाट सम्भव हुन सक्छ । नेपालको संविधान २०७२ ले स्पष्ट रूपमा परराष्ट्रनीति संयुक्त राष्ट्रसंघ, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानून, र विश्वशान्तिका आधारमा सञ्चालन गर्न निर्देशन दिएको छ । 

नेपालका दुईमात्र छिमेकी भारत र चीनसँगको सम्बन्ध प्राचीनकालदेखि सांस्कृतिक, धार्मिक, राजनीतिक रूपमा अघि बढिरहेको छ । कहिल्यै कसैसँग पराधीन हुनु नपरे पनि नेपाल समय सन्दर्भ अनुसार छिमेकीहरूबाट बेला–बेला प्रभावित हुँदै भएन भन्न चाहिँ सकिँदैन । अहिले भूपरिवेष्ठित नेपाल बदलिँदो विश्व परिवेशमा भूजडित हुने तयारीमा अघि बढिरहेको छ । भूराजनीतिक अवस्थाका आधारमा हामीले फैलिने भनेको भूजडित सम्बन्धकै आधारमा हो । 

पछिल्ला दिनमा चीनसँग व्यापारिक मार्ग विस्तार भइरहेको छ र पारवहन सम्बन्धी ऐतिहासिक सम्झौता पनि भएको छ । सम्झौताले यसबाट फाइदा लिन नेपाल नै अग्रसर हुनुपर्नेछ । सोको तयारीका लागि हाम्रो परराष्ट्र निकायले राजनीतिक नेतृत्वलाई झकझक्याउनु पर्नेछ भने सबै दलको नेतृत्वले परराष्ट्र नीतिमा एक मत जाहेर गर्नुपर्नेछ ।

पञ्चशीलमा आधारित नीति अवलम्बन गर्दै नेपालले दुवै देशबीचको सम्बन्धलाई नयाँ आयाममा लानुपर्ने देखिन्छ । अहिलेको पर्यावरणीय अवस्थाले तीन मुलुकको सहकार्य खोजेको छ । विगतमा हिमाललाई सिमाना मानिन्थ्यो । तर जलवायु परिवर्तनको बढ्दो असरसँगै अब हिमाली क्षेत्र सहकार्यको सेतु बनाउनुको विकल्प छैन । 

नेपालमा बग्ने सबै ठूला नदीको स्रोत तिब्बत भएको र नेपालको सबलता जलस्रोत र हरित ऊर्जा भएको सन्दर्भले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित देशमा रूपान्तरण गर्न थप मद्दत पु¥याउनेछ । सिमाना जोडिएर मात्र भूजडित हुँदैन । आपसमा मन र सम्बन्ध पनि जोडिनुपर्ने । 

भूजडितको फाइदा के के हुन सक्छन्, नेपालले त्यसबाट के लाभ लिन सक्छ भन्नेमा राजनीतिक दलहरूले एक्यबद्ध धारणा ल्याउनु पर्नेछ । कुटनीतिलाई मार्गप्रशस्त गर्ने पनि आखिरमा राजनीतिले नै हो । तर, यथार्थमा नेपालको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल भएको अवस्थालाई नेपाली राहदानीको गिर्दो साखले प्रष्ट गरिरहेको छ ।

पछिल्ला दिनमा भारत र चीन एसिया मात्र होइन विश्वकै प्रमुख अर्थतन्त्र हुन अग्रसर भइरहेको सन्दर्भमा त्यसको लाभ लिन पनि कुटनीतिक पहल तीव्र बनाउनुको विकल्प छैन । हामीले हाम्रो असंलग्नताको मान्यतालाई आधार मान्दै सन्तुलित विदेश नीति अपनाई त्रिदेशीय सहकार्यको पुल बन्न सक्ने सम्भावनालाई उजागर गर्नुपर्नेछ ।

नेपालको परराष्ट्र नीतिका विज्ञ यदुनाथ खनालले ‘छिमेकीले नेपालको विश्वसनीयता गुमाएमा विदेशनीति असफल हुन्छ, तर नेपाली स्वार्थका मुद्दामा संवादद्वारा समाधान खोज्नु नै कूटनीतिक सफलताको बाटो हो’ भन्नुभएको छ । व्यवहारमा भूजडित बन्ने कुरा गर्दा खनालको यो भनाइ स्मरण गर्न जरुरी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्