नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाको वि.सं. १९४३ मा मोतिराम भट्टले काशीमा छपाएका गोरखा भारत जीवन मासिकलाई लिइन्छ। नेपालमै छापिएको पहिलो पत्रिका वि. सं. १९५५ सालको साउन महिनामा प्रकाशित सुधा सागर मासिक पत्रिका हो । सुधासागर छापिएको १ सय २७ वर्षमा लोकप्रिय समाचार आजदेखि नयाँ व्यवस्थापन र कलेवरमा आएकोछ ।
सुधासागरले कोरेको गोरेटो पच्छ्याएर नेपाली पत्रकारिता जगत सूचना राजमार्गमा दौडिएको पनि निकै वर्ष भइसक्यो । पत्रकारिताको बलमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्थपना भएको तथ्य सर्वविदितै छ । पुनर्स्थापित बहुदलीय प्रजातन्त्रले बहुल समाज निर्माणमा दिएको महत्वपूर्ण योगदान स्वतन्त्र प्रेस पनि हो । विभिन्न राजनीतिक संक्रमणलाई चिरेर सशस्त्र द्वन्द्व हुँदै मुलुक गणतन्त्रमा अग्रसर भएको छ ।
अहिलेको समयमा दैनिक पत्रिका सुरु गर्नु चुनौतीपूर्ण काम हो भन्नेमा हामी सचेत छौ । किनभने, अहिले डिजिटल प्रविधिको बाढीमा समाचार सामाजिक सजाल अनलाइन पोर्टल, र मोबाइल एप्समार्फत प्राप्त भइरहेका छन् । विविध कारणले समग्र छापा माध्यम र दैनिक पत्रिकाको माग घट्दो भएको बताइन्छ ।
नेपाली पत्रकारिताको स्वतन्त्रता र निष्पक्षताको प्रश्न बेला - बेला उठ्ने गरेको छ । ती प्रश्नलाई तथ्यपरक, वस्तुनिष्ठ र सन्तुलित पत्रकारिताले नै किनारा लगाउन सक्छ भन्ने तथ्य पनि जगजाहेर छ । तर गलत समाचारको प्रकोप डढेलो भन्दा चर्को छ । समाचार गलत भएको प्रमाणित हुनुभन्दा अघि नै त्यसले पार्ने आघातबाट बच्न पनि पत्रकारिता विगतको जस्तो सूचना, जानकारी र विश्लेषण सम्प्रेषणमा सीमित नभई प्रविधिको विस्तारका कारण थप चनाखो हुनुपर्ने चुनौती छ ।
नेपालमा बेला - बेला प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने दुष्प्रयास पनि हुने गरेको छ । प्रेस स्वतन्त्रता अधिक भयो, प्रेस नियन्त्रण हुनुपर्छ भन्ने आवाज पनि बेला बेला सुनिने गरेको छ । तीनको बुटी जिम्मेवार पत्रकारिता नै हो । समाजमा भएका बेथिति जुन छन् तीनलाई चिर्न प्रेसको योगदान छ । प्रेस स्वतन्त्रता बढी भयो भन्नेहरुले यति पनि स्वतन्त्रता नहुँदो हो त समाज कहौ पुग्थ्यो भन्नेतर्फ पनि सचेत हुनुपर्ने छ ।
संविधान प्रदत्त प्रेस स्वतन्त्रतालाई विस्तार गर्ने काम फेरि पनि जिम्मेवार पत्रिकारिताले नै गर्ने हो, अरुले होइन । अबको प्रकाशनले पाठकको आशा केवल समाचार मात्र होइन त्यस पछाडिको अनगिन्ती प्रश्नको उत्तर पनि हो । त्यसैले हामी स्वतन्त्र र निष्पक्ष पत्रकारिताको आधारमा अधि बढ्नुपर्नेमा सचेत छौ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारसँगै पाठकहरूलाई आफ्नो समुदाय, आफनो पालिकाको जानकारी पनि चाहिरहेकै छन् । जो अहिलेसम्म अपेक्षाकृत पूरा भएको छैन ।
अब वैश्विक चिन्तन र स्थानीय आचरणलाई अझ गतिशील बनाउँदै स्थानीयको आवाजलाई मुखर बनाएर समाधान उन्मुख पत्रकारिता पनि गर्नुपर्नेछ । मुद्दा उठाउने मात्रै होइन, त्यसलाई सही निष्कर्षमा पुर्याउन समस्याको समाधान खोज्ने दायित्व पनि पत्रकारिताको हो, जुन हामी गर्न चाहन्छौ । फेरि पनि हाम्रो प्रण दोहोर्याउन चाहन्छौ ।
सबै जात, लिङ्ग, वर्ग र क्षेत्रका आवाजको प्रतिनिधित्व नै हाम्रो प्राथमिकता हो । पीडितको पक्षमा बोल्ने मूल्यलाई हामीले गम्भीरताका साथ लिएका छौ । हामी यहाँहरूको विश्वास जित्ने आत्मविश्वासका साथ आएका छौ । निषक्ष समाचार, स्पष्ट विचार नै हाम्रो बटम लाइन हो, यही नै हाम्रो मार्गदर्शक सिद्धान्त हो ।