नेभिगेशन
दृष्टिकोण

लुम्बिनी र पोखरा विमानस्थल सञ्चालनको चासो 

सरकारले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि विस्तारको योजना अघि बढाएपछि स्थानीय लगानीकर्ताहरूले होटल, रेस्टुरेन्ट लगायतको सेवा क्षेत्रमा लगानी गरे । तर, सरकारले सो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नै नसक्दा स्थानीय व्यवसायीहरू निराश बनेका समाचार आएको छ ।

भूपरिवेष्ठित मुलुक नेपालका लागि संसारसँगको भूजडित हुने माध्यम भनेकै अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थल मानवीय आउजाउको केन्द्र मात्र नभएर अन्तर्राष्ट्रिय सम्पर्क र आर्थिक क्रियाकलापको आधार पनि हो । त्यसैले, पनि अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा राष्ट्रिय संवेदनशीलताको विषय हो । त्यसैले, यसलाई राष्ट्रले प्राथमिकतामा रहनुपर्दछ भन्नेमा मतैक्य हुँदैन । तर, हाम्रो व्यवस्थापकीय कमजोरीका कारण विमानस्थलमा बारबार अनियमिताहरू हुने गरेका छन् । यसको जरो राजनीतिक नेतृत्वको लाचारी नै हो भन्ने पनि पुष्टि भइसकेको छ । 

काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन, विदेशी मुद्रा, लागूपदार्थको अवैध ओसारपसारमा मात्र सीमित नरहेर मानव तस्करीको अखडा बन्दै जानु आफैंमा राष्ट्रिय लज्जाको कुरा हो । राष्ट्रिय लज्जालाई निदान गर्नु राज्यको जिम्मेवार निकायमा बसेकाहरूको दायित्व हो । बढ्दो आतंककारी गतिविधि र गैरकानूनी क्रियाकलापका कारण अन्तर्राष्ट्रिय रूपमै विमानस्थलहरूलाई सुरक्षा संवेदनशीलतामा राख्ने गरिएको हुन्छ । 

त्यसैले, पनि विमानस्थलको सुरक्षा चुनौती उच्च हुने गरेको छ । फेरि विमानस्थल सञ्चालन गर्न एक होइन, अनेक निकायको समन्वय आवश्यक पर्छ । जसमा गृह, राजश्व, नागरिक उड्ययन, निजामति प्रशासन लगायतको समन्वकारी भूमिकाको आवश्यकता हुन्छ । पोखरा र लुम्बिनीका विमानस्थल सञ्चालन गर्न तथा काठमाडौको विमानस्थलमा रहेको भीड र अनिवार्यतामा पनि कमी आउन सक्छ । 

भैरहवामा रहेको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानहरूको लागि निर्माण गरिए तापनि, हाल स्थायीरूपमा प्रयोगमा ल्याउन सकिएको छैन । शुरुमा केही अन्तर्राष्ट्रिय उडानहरू भए पनि ती सुचारु हुन सकेका छैनन् । यसमा दुई, तीनवटा कारण छन् ।

एक भैरहवाको विमानस्थल सञ्चालन गर्न नेपालले भारतबाट पाउनुपर्ने हवाइ रुट पाउन सकेको छैन । यो मामिलामा हामीले भारतसँग द्विपक्षीय संवाद गरेर निकास खोज्नुपर्नेछ । भारतले सहज र छोटो हवाई मार्गको अनुमति नदिएपछि विमान कम्पनीहरूले लामो बाटोको हावाई यात्रामा रुचि नदेखाउनु अस्वभाविक होइन ।

वास्तवमा विमानस्थल बन्नुअघि नै त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । ठूलो लगाीमा बनेका यी पूर्वाधार जुन नेपालका आर्थिक वृद्धिको आधार हुन सक्थ्यो तीनको परिचालन नहुनु नेपालको लागि धेरै आयामबाट बेफाइदा हुने देखिन्छ । एक त ऋणमा बनेका आयोजनाले आम्दानी गर्न नसक्दा त्यसको आर्थिक भार बढ्दै जाने निश्चित नै छ । 

अर्को भोलिका दिनमा हामीले ठूला पर्वाधारको परियोजनाको मुद्दालाई अघि बढाउँदा हाम्रो शासकीय क्षमतामाथि प्रश्न उठ्न सक्ने पनि देखिन्छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना पूरा हुन दशकौं लाग्यो ।

चिनियाँ लगानीको परियोजनामा भूराजनीतिको छाया पर्दा भारतीय पक्षको असन्तुष्टि रहेको बताइए पनि यो विषयलाई आपसी संवाद र अन्तरक्रियाद्वारा समाधान गर्न सकिन्छ । अर्कोतिर, भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा नआउनु पनि दुःखको कुरा हो । 

भैरहवामा विमानस्थल बन्ने भएपछि त्यहाँ होटल तथा सेवा क्षेत्रमा भएको अर्को अर्बौंको लगानी पनि डुब्ने खतरा छ । विमानस्थल निर्माणमा भएको अर्बौं लगानीको त कुरै छोडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा भैरहवा र पोखरा विमानस्थलले अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति पाउने विषयले प्राथमिकता पाउनुपर्छ । किनभने धेरै ठूला–ठूला ठानिएका र संकटका विषयहरू पनि आपसी संवादको माध्यमबाट हल भएका छन् । 

यसैगरी, प्रधानमन्त्रीको निकट भविष्यमै चीन पनि जाँदै हुनुहुन्छ । चिनियाँ लगानीमा बनेका पोखरा विमानस्थलमा उडान थप्ने र पर्यटक बढाउने विषयमा चिनियाँ पक्षसँग संवाद गर्न प्रधानमन्त्रीले पहल गर्नु आवश्यक छ ।

नेपाललाई आर्थिक उन्नतिमा लान सक्ने आधार मानिएका यी विमानस्थल प्रयोगमा नआउनुले हामीलाई भोलिका दिनमा ठूलो आर्थिक मार पार्ने भएकाले यी पूर्वाधारलाई चाँडैभन्दा चाँडै सञ्चालन गरेर आर्थिक उन्नतिमा लाग्नुको विकल्प छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्