नेभिगेशन
खेलकुद

११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिल्ला सदरमुकाम बेनीमा ११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले बिहीबार उद्घाटन गरे ।

प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका छन् ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेर विद्यार्थी छनोट भई जिल्लास्तरीय खेलमा सहभागी भएका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४०० विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

छात्र र छात्रातर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विजेता खेलाडी गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रथम हुने पालिकालाई रु २० हजारका साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुने पालिकालाई क्रमशः रु १५ हजार र रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुदले युवा विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै  मुलुकका लागि हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद