बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू हाम्रा पहिचान भएकाले यिनको संरक्षण र संवर्धन गर्नुपर्नेमा जोड दिएकी छन् ।
‘काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आइतबार यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरू पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने भएकाले यिनको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल र चिनियाँ खेलाडीको संयुक्त प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा मन्त्री नेपालले यो खेलको संयुक्त तालिम तथा प्रस्तुतिका कार्यक्रमले खेल कूटनीतिका माध्यमबाट नेपाल तथा चीनबीचको सदियौं पुरानो सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयमा झेन्जी खेलका पाठ् यक्रम मार्फत् खेलको प्रवर्धन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको जानकारी दिए । उनले यस खेलको विकासले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको उल्लेख गर्दै आगामी दिनमा नेपालसँग पनि आर्चरी खेलको प्रवर्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्विद्या अर्थात् धनुर्वाण खेलकै विकसित स्वरुप भएकाले यस खेलको विकास र विस्तारमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राखे ।
त्यसैगरी मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले खेलका माध्यमबाट नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाउन आफ्ना परम्परागत खेलहरूको पनि संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रमा थप लगानीका लागि नेपाल सरकारलाई आग्रह गरे ।
कार्यक्रममा संखुवासभाका परम्परागत आर्चरी खेलका खेलाडीका साथै चीन र नेपालका आर्चरी तथा उसु खेलका खेलाडीहरूले आफ्ना खेलकला पनि प्रस्तुत गरेका थिए ।