नेभिगेशन
कानून/द्वन्द्व

‘एलार्गन’ औषधिको बिक्रेता विवाद निरूपण

विराटनगर । म्याद गुज्रिएको स्टक फिर्ता लिन आनाकानी गर्दा ‘एलार्गन’ औषधि कम्पनीका उत्पादनको बिक्रेता विवाद समाधन भएको छ । अधिकृत बिक्रेता प्रिया टेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सहमति गरेपछि विवाद निरूपण भएको हो ।

नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको जनाएको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता प्रिया ट्रेडिङ प्रालिले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि संघले उक्त निर्णय गरेको हो । संघका अनुसार सोमबार आयातकर्ता कम्पनीले संघको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत सोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो । संघको कोशी प्रदेश अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएकाले अब एलार्गन कम्पनीका औषधि निर्धक्क खरिदबिक्री गर्न प्रदेशभरका व्यवसायीहरूलाई आग्रह गरे । आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एलार्गन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा संघको नियमावलीविपरीत ९० दिनपछि औषधि फिर्ता नलिने अडान लिएपछि विवाद भएको थियो ।

नेपाल औषधि व्यवसायी संघको सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित २०८१) अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रा बिक्रेताबाट १८ महिनासम्म र थोक बिक्रेताबाट २१ महिनासम्ममा फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था पालना नगरेको भन्दै संघले आइतबारदेखि कोशी प्रदेशभर एलार्गन कम्पनीका औषधि खरिद नगर्ने निर्णय गरेको थियो ।

संघको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रालिका व्यवस्थापक श्याम महर्जनले पत्र लेख्दै संघको नियमावलीअनुसार नै सोधभर्ना तथा क्षतिपूर्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रमा संघको प्रचलित नियमावली पालना गरिने स्पष्ट उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्