नेभिगेशन
कानून/द्वन्द्व
नेपाल ट्रष्टको जग्गा दुरुपयोग

पूर्वसचिव कार्कीसहित चारविरुद्ध मुद्दा दायर

काठमाडौं – नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्ष लिजमा दिने निर्णयमा फेरबदल गरेर ठगी गरेको आरोपमा पूर्वसचिव अर्जुन कार्कीसहित चार जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानका आधारमा उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । नेपाल ट्रस्टका तत्कालीन सचिव कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र त्यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर भएको छ । मुद्दामा उनीहरूविरुद्ध ४ अर्ब ८६ करोड २५ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

थामसेर्कुले पहिले गरेको प्रस्तावविपरीत सम्झौता गराएर राज्यलाई हानी पुर्‍याएको ब्युरोको दाबी छ । पहिले कित्ता नं. ४६०६ को हकमा सम्झौता हुँदा तीन तला निर्माण गर्ने उल्लेख भए पनि पाँचौ तलासम्म निर्माण भएपछि थप तिर्नुपर्ने ३८ करोड ८४ लाख ५३ हजार ४३० रुपैयाँ पनि भराउनुपर्ने ब्युरोको माग छ ।

नेपाल ट्रस्टलाई हानि हुने गरी करार सम्झौता गराएर ठगी, आपराधिक विश्वासघातको कसुर गरेको भन्दै प्रहरीले कात्तिक २१ मा पूर्वसहसचिव लेखबहादुर कार्की र कात्तिक ३० मा पूर्वसचिव कार्कीलाई पक्राउ गरेको थियो । ब्युरोको टोलीले ट्रस्टका तत्कालीन कार्यकारी सचिव रहेका कार्कीलाई जग्गा लिजमा दिने निर्णय हुँदा आफूसँग भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरेका थिए । बयानका क्रममा सहसचिव लेखबहादुरले सचिवले ठाडो निर्देशन र दबाब दिएपछि निर्णय गर्न बाध्य भएको बताएपछि अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा ब्युरोले थामसेर्कु ट्रेकिङका सञ्चालक शेर्पालाई समेत पक्राउ गर्न अदालतबाट पुर्जी लिएको थियो । तर, उच्च अदालतको आदेशपछि शेर्पालाई पक्राउ गर्न प्रहरी रोकिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्