नेभिगेशन
अर्थतन्त्र

ठेक्का तोडिएपछि सुनकोशी मरिणको मूल्यांकन हुँदै

नयाँ टेण्डर अघि बढाउने तयारी

रामेछाप । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स), विद्युत्गृह, सिभिल संरचना, गेट लगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछि नयाँ मूल्यांकनको काम सुरु भएको छ ।

आयोजनाले कात्तिक २४ गते पटेल— रमण जेभीसँगको ठेक्का सम्झौता तोड्न १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि मंसिर ८ गते ठेक्का तोडिएको थियो । सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेण्डरका कागजात बनाउने काम भइरहेको आयोजनाले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार रामेछापको मन्थली नगरपालिका सेलेघाटस्थित आयोजनाको हेडवर्क्स निर्माण क्षेत्रको निरीक्षण गरी टेण्डर रद्ध गरिएपछिको अवस्था र नयाँ टेण्डर निकाल्नका लागि भइरहेको प्रगति बारे जानकारी लिएका छन् । मन्त्री घिसिङले आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिए ।

‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाईसमेत समेट्ने गरी मूल्याङ्कन गरेर सोही बमोजिम नयाँ टेण्डर गर्नुपर्दछ, सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नुहुँदैन, नयाँ तालिका बमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरी नयाँ टेण्डरको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ’, मन्त्री घिसिङले भने ।

ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिदा पनि भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत चासो नदिएकाले पटेल—रमण जेभीसँगको ठेक्का तोडिएको थियो । त्यसपछि पटेल—रमण जेभीले जमानतवापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रिया अगाडि बढाएको थियो ।

आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब आठ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो ।

असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । निर्माण कम्पनीले १० प्रतिशत काम सम्पन्न गर्दा नै दुई अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी लगिसकेको छ ।

आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्‍याइने छ ।

हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट विद्युत् पनि उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याइ कृषि उत्पादकत्वको वृद्धि किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युत् उत्पादन गरी देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाको रुपमा विकास गरिएको थियो । आयोजनाको कुल अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

पटेल रमणले आयोजना निर्माणका क्रममा खपत गरेको विद्युत्को महसुल समेत नतिरेको पाइएको छ । प्राधिकरणका अनुसार पटेल—रमण जेभीको नाममा एक करोड ११ लाख रुपैयाँ बक्यौता छ । वक्यौता रकम तिर्न पटक पटक ताकेता गर्दासमेत नतिरेकाले लाइन काटिएको प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्