काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशतले बढेको विभागले जनाएको छ ।
साउनदेखि मंसिरसम्म भारतसँग मात्रै ३ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ भन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाख रुपैयाँको वस्तु आयात हुँदा ९५ अर्ब ४ करोड २० लाख रुपैयाँको निर्यात भएको छ ।
भारतपछि चीनसँगको व्यापार धेरै छ । चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँ छ ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरूमा भने रोमानिया पहिलो स्थानमा छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा ६ करोड ३४ लाख ६९ हजार रुपैयाँ छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।
पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड दुई लाख १४ लाख रुपैयाँ बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै, १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन, ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा सोयाबिन तेल, २१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँको फलामजन्य वस्तु आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा छ । यो अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै पाँच अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको ठूलो अलैंची, चार अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको कार्पेट र तीन अर्ब ७३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।
सबैभन्दा धेरै आयात वीरगञ्ज नाकाबाट भएको छ । वीरगञ्ज नाका हुँदै ३ खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ अर्ब ३२ करोड (१७ प्रतिशत) धेरै हो । गतवर्ष पाँच महिनामा ३ खर्ब ६ अर्ब १ करोडको सामान आयात भएको थियो ।