नेभिगेशन
अर्थतन्त्र

चाँदी आयातको भुक्तानी सीमा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि उपलब्ध गराउँदै आएको भुक्तानी (सटही) सुविधाको सीमामा संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब एक महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योग र व्यवसायीको हकमा फरक– फरक सीमा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार उद्योगका लागि अधिकतम अमेरिकी डलर २० लाखसम्म र अन्य चाँदी व्यवसायीका लागि अमेरिकी डलर ४ लाखसम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । यस व्यवस्थाले एकैपटक ठूलो परिमाणमा चाँदी आयात गर्ने उद्योग तथा व्यवसायीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा उपलब्ध थियो । त्यस्तै, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर १ लाख वा सो बराबरको सीमासम्म मात्र सटही सुविधा पाउने व्यवस्था रहेको थियो ।

यद्यपि, चाँदीका गरगहना, कलात्मक वस्तु तथा यस्तै सामग्री निकासी गर्ने व्यवसायीका हकमा भने अघिकै प्रावधान कायमै राखिएको राष्ट्र बैंकले जनाएको छ । निकासी आदेश पुष्टि भइसकेको अवस्थामा, वा अग्रिम भुक्तानी, प्रतीतपत्र (एलसी) अथवा विदेशबाट खरिद आदेश प्राप्त भएको अवस्थामा चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने व्यवस्था यथावत् रहेको छ ।

राष्ट्र बैंकको यस निर्णयले चाँदी आयात तथा निकासी कारोबारलाई थप व्यवस्थित र सहज बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र