नेभिगेशन
अर्थतन्त्र

नेपाल पे नेशनल कार्ड विदेशमा समेत स्वीकार्य हुने

काठमाडौं (संवाददाता) – नेपाल क्लियरिङ हाउसले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपाल पे कार्ड, को कमर्शियल रोलआउट शुरु गरेको छ । नेशनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे कार्ड पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ ।

यस सहकार्य पश्चात् नेपाल पे कार्डका प्रयोगकर्ताहरूले डिस्कभर नेटर्व र डिनर्स क्लब इन्टरनेशनलको विश्वभरी संयुक्त रूपमा रहेका १९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् । नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा डिनर्स क्लब कार्डहरूमा आबद्ध विश्वभरका ३७८ मिलियन भन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले नेशनल कार्ड स्वीच (एनपीएस) र नेपाल पेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ ।

नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्य सहित लागू गरिएको एनपीएस परियोजना अन्तर्गत रेन्टल पेमेन्ट स्वीच (आरपीएस) र क्रस–बोर्डर इन्टरफेस (एनपीआईएक्स) नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएस र नेपाल पे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले नेशनल पेमेन्ट स्वीचको स्थापना र नेपाल पे कार्डको कमर्शियल रोलआउटले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण रूपान्तरण ल्याएको बताए । डिस्कभर नेटवर्कसँगको हाम्रो साझेदारीले विश्वव्यापी स्वीकार्यता सहित सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको भुक्तानी कार्ड स्किम प्रदान गर्ने बताए । डिस्कभर, इन्टरनेशनल मार्केट्सका उपाध्यक्ष शुभ्रजित बसुले नेपाल पे सँगको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रमा उपस्थिति र सेवालाई विस्तार गर्न सहयोग पुर्‍याउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र