काठमाडौं । शेयरबजार आइतबार उत्साहजनकरुपमा बढेको छ । कारोबार मापक नेप्से परिसूचक ४७.५५ अंक बढेर २,६३३.४२ विन्दुमा पुगको छ । सूचकसँगै कारोबार रकम पनि बढेको छ । कुल पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५९ कम्पनीमध्ये २३८ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यसदिन २१ कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.८४ प्रतिशत (८.२५ अंक)ले बढेर ४५६.७८ विन्दुमा पुगेको छ । साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक पनि १.९२ प्रतिशत (३.४० अंक) बढेर १८०.४४ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.८८ प्रतिशत (२.२७ अंक) बढेर १५४.९६ विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ वटै समूह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह २.७० प्रतिशत बढेको छ । त्यसपछि अन्य समूह २.५५ प्रतिशत, विकास बैंक २.२८, लगानी १.९९, जलविद्युत १.९७, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.८९, निर्जीवन बीमा १.७० बैंकिङ १.६६, होटल तथा पर्यटन १.३८, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.९४, र व्यापार ०.७२ प्रतिशत बढेका छन् । मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ । त्यसपछि जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमा ८० अर्ब रुपैयाँ बढेको छ । गत बिहीबार ४३ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार बढेर ४४ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि एक दिनमा २८ अर्ब रुपैयाँ बढेर १४ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय सुस्त रहेको बजार आइतबार कारोबार सुरु भएदेखि नै बढेको छ । खासगरी प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन राजनीतिक दलका प्रमुख नेताहरूलाई भेटेर फागुनमा चुनाव गराउन गरेको प्रयास सकारात्मक बन्दै गएपछि त्यसको असर बजारमा परेको विश्लेषकहरू बताउँछन् । चुनाव भएमा राजनीतिक गतिविधि बढ्ने र बजारमा माग बढ्न गई अर्थतन्त्र चलायमान बन्दछ । जसको असर शेयरबजारमा पनि देखिन सक्छ । त्यसैले बजारमा लगानीकर्ताहरू सक्रिय बन्न थालेको देखिन्छ ।