नेभिगेशन
अर्थतन्त्र

१९ कम्पनीको वित्तीय विवरण स्वीकृत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ का लागि १९ वटा बीमा कम्पनीहरूले प्रस्तुत गरेको वित्तीय विवरण स्वीकृत गरेको छ । १० वटा जीवन बीमा, ६ वटा निर्जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको हो ।

बीमा ऐन, २०७९ अनुसार बीमकहरूले प्रत्येक आर्थिक वर्षको वासलात तथा नाफा– नोक्सान विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्राप्त वित्तीय विवरणहरू प्राधिकरणले स्वीकृत गरेको हो ।

जीवन बीमातर्फ सिटिजन लाइफ, नेपाल लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सूर्यज्योति लाइफ र एलआईसी (नेपाल) लिमिटेडको विवरण स्वीकृत भएको छ ।

निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सका वित्तीय विवरण स्वीकृत भएका छन् । लघु बीमातर्फ गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफको विवरण पनि स्वीकृत गरिएको छ । हाल प्राधिकरणबाट इजाजतपत्र प्राप्त १४ जीवन, १४ निर्जीवन, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी गरी जम्मा ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र