नेभिगेशन
अर्थतन्त्र

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको ‘डे अहेड’ र ‘रियल टाइम मार्केट’ बाट ६५४ मेगावाट विद्युत् चौविसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ६०० सय मेगावाट र टनकपुर– महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । प्राधिकरणका अनुसार यो अनुमति पुस १७ देखि चैत १७ गतेसम्म विद्युत् आयात गर्नका लागि मिलेको हो । १८ चैतबाट भदौ १५ सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए । उनले आरटिसी मोडलमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।

प्राधिकरणले सुख्खा याममा नदी तथा खोलामा पानीको सतह कम भई विद्युत् उत्पादनमा कमी आउने समयमा भारतबाट विद्युत् आयात गरी माग बमोजिम विद्युत् को आपूर्ति व्यवस्थापन गर्ने गरेको छ । बर्खा याममा भने उत्पादन बढी भई खपत हुन नसकेर बढी भएको विद्युत् भारतीय बजारमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र