नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । शेयरबजार बुधबार पनि हरियो बनेको छ । कारोबार मापक नेप्से परिसूचक १०.८७ अंकले बढेर २,६३३.७६ विन्दुमा कायम भएको छ । पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएका २६० कम्पनीमध्ये १६३ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । ८९ कम्पनीका शेयरधनीले भने यसदिन गुमाएका छन् । बाँकी आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

सूचीकृत १३ वटै समूह बढेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.६१ प्रतिशत बढेको छ । यस्तै, बैंकिङ ०.२५ प्रतिशत, विकास बैंक ०.४५, फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.९२, जलविद्युत ०.२३, लगानी ०.२०, जीवन बीमा ०.५३, लघुवित्त ०.३२, निर्जीवन बीमा ०.३७, व्यापार ०.३३, म्युचुअल फण्ड ०.४७ र अन्य ०.३४ प्रतिशत बढेका छन् ।

एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर्सको शेयर कारोबार सर्वाधिक १७ करोड ७९ लाख रुपैयाँको भएको छ ।

लगानीकर्ताको सम्पत्ति बुधबार मात्रै १९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ६ अर्ब रुपैयाँ बढेर १४ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र