पहाडी बाटोमा हिँड्दा वा पदयात्रा गर्दा एउटा दृश्य सामान्य बन्दै गएको छ– केही मानिस ढुंगा, जरा र उकालो–ओरालो बाटो पार गर्दै छिटो छिटो दौडिरहेका हुन्छन्, मानौं दुई खुट्टे हिमाली बाख्रा हुन् । यही हो ट्रेल रनिङ, जुन पछिल्ला वर्षहरूमा विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको खेल हो । नेपालीलाई यो खेल बुझाउन मीरा राई सम्झाउँदा सजिलो हुन्छ । जो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली ट्रेल धावक हुन् ।
ट्रेल रनिङ भन्नाले कच्ची बाटो, जंगल, पहाड र उकालो–ओरालो भूभागमा गरिने दौडलाई बुझिन्छ । यसभित्र पनि विभिन्न रूप छन् । सामान्य अफ–रोड जगिङदेखि लिएर अत्यन्तै कठिन अल्ट्रा–म्याराथनसम्म । अझ चरम रूपलाई माउन्टेन रनिङ र स्काइ रनिङ भनिन्छ, जहाँ २ हजार मिटरभन्दा माथिको उचाइ र तीव्र उकालोमा दौडनुपर्छ ।
यस खेललाई विश्वव्यापी रूपमा चिनाउन सबैभन्दा ठूलो भूमिका खेल्ने खेलाडीमध्ये एक हुन् किलियन जोर्नेट । स्पेनको क्याटालोनिया क्षेत्रका यी ३८ वर्षीय खेलाडी ट्रेल रनिङ र स्की माउन्टेनियरिङ दुवैमा विश्व कीर्तिमान राख्ने नाम हुन् । उनले युरोपको चर्चित ‘अल्ट्रा–ट्रेल डु मोन्ट ब्लाङ’ चार पटक जितेका छन्, जसमा १७० किलोमिटर दूरी र करिब १० हजार मिटर उचाइ पार गर्नुपर्छ । अमेरिकाको हार्डरक हन्ड्रेड पनि उनले पाँच पटक जितिसकेका छन् । विश्व ट्रेल रनिङका जीवित किंवदन्ती जोर्नेट नेपाल पनि आइसकेका छन् । सन् २०१७ मा उनले अक्सिजन र स्थायी डोरीको प्रयोग नगरी सगरमाथा दुईपटक सफलतापूर्वक आरोहण गर्दै विश्वलाई चकित पारेका थिए ।
हालै मात्र जोर्नेटले अर्को अद्भुत कीर्तिमान बनाएका छन्– अमेरिकाको पश्चिमी क्षेत्रमा रहेका ४,२०० मिटरभन्दा अग्ला ७२ वटा हिमाल ३१ दिनमा चढ्दै, एउटा हिमालबाट अर्कोमा पैदल वा साइकलबाट मात्र यात्रा गरेर ।
यति कठिन उपलब्धि हासिल गरेका जोर्नेटको सन्देश भने नयाँ खेलाडीका लागि निकै सरल छ । भन्छन् ‘हतार नगर्नुस्, प्रकृतिको आनन्द लिनुस् ।’
उनका अनुसार ट्रेल रनिङ सुरु गर्न दौडनै पर्छ भन्ने छैन । सुरुमा हिँड्न सकिन्छ, पछि बिस्तारै सानो दूरीमा दौड मिसाउन सकिन्छ । सजिलो, फराकिलो र कम जोखिमयुक्त बाटो रोज्नु उपयुक्त हुन्छ । शरीरलाई भूभाग, उचाइ र मेहनतसँग बिस्तारै अभ्यस्त हुन समय दिनुपर्छ ।
नयाँ खेलाडीले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको सुरुमै धेरै टाढा वा धेरै छिटो दौडने प्रयास गर्नु हो । शरीरलाई उचाइ, असमान जमिन र लगातारको प्रभावसँग तालमेल मिलाउन समय चाहिन्छ । मौसमको परिवर्तन, थकान र ऊर्जा क्षमतालाई हल्का रूपमा लिनु पनि जोखिमपूर्ण हुन सक्छ । जोर्नेट भन्छन्, ‘हामीजस्ता पेसेवर खेलाडीलाई उदाहरण नबनाउनुहोस् । मैले ३० वर्षभन्दा बढी समयदेखि दैनिक अभ्यास गरिरहेको छु।’
सुरुवातका लागि ३ देखि ५ किलोमिटरको छोटो घुम्ती, हल्का उकालोओरालो र प्राविधिक रूपमा सजिलो बाटो उपयुक्त हुन्छ । हप्तामा दुई–तीन पटक पर्याप्त हुन्छ । दौड र हिँडाइ मिसाएर गर्नुपर्छ । सबैभन्दा महŒवपूर्ण दूरी होइन, आनन्द हो ।
ट्रेल रनिङका लागि पहिले नै राम्रो रोड रनर हुनुपर्छ भन्ने पनि छैन । सन्तुलन, समन्वय र भूभाग बुझ्ने क्षमता अभ्याससँगै विकास हुँदै जान्छ । तर सडक वा ट्र्याकको दौडभन्दा ट्रेल रनिङ जोखिमयुक्त हुन सक्छ, किनकि जमिन अनिश्चित हुन्छ र पहाडमा मौसम छिट्टै बदलिन्छ ।
यसकारण तयारी अत्यन्त जरुरी छ – बाटोको योजना बनाउने, मौसम हेर्ने, आफू कहाँ जाँदैछु भनेर घरका मानिसलाई जानकारी दिने र आपतकालीन सेवासँग कसरी सम्पर्क गर्ने भन्ने जान्नु आवश्यक हुन्छ ।
आवश्यक सामग्रीको कुरा गर्दा धेरै भारी बोक्नुपर्दैन । उपयुक्त जुत्ता, हल्का ज्याकेट, पानी, खाना, मोबाइल फोन र आधारभूत सुरक्षा सामग्री पर्याप्त हुन्छ । नयाँ खेलाडीका लागि सानो प्राथमिक उपचार सामग्री र थर्मल ब्ल्यांकेट उपयोगी हुन सक्छ ।
जोर्नेटका अनुसार ट्रेल रनिङ सबैका लागि हो, तर जिम्मेवारीबोध आवश्यक छ । प्रकृतिको सम्मान गर्नु, फोहोर नछोड्नु, वन्यजन्तुलाई जिस्क्याउने–तर्साउने नगर्नु र अरू मानिसप्रति सभ्य व्यवहार गर्नु अनिवार्य छ । उनका शब्दमा, ‘ट्रेल रनिङको सुन्दरता गति होइन, दृश्य, आत्म–अन्वेषण र प्रकृतिसँगको सम्बन्ध हो ।’