नेभिगेशन
विश्व

बेइज्जती बढेपछि चीनले बढायो अनलाइन ठगी रोक्ने दबाब

बैंकक – कम्बोडिया सरकारले बुधबार चीनको आग्रहमा एउटा विशाल अनलाइन ठगी सञ्चालन गरेको आरोप लागेका एक धनाढ्य व्यवसायीलाई पक्राउ गरी चीन सुपुर्दगी गरेको छ । 

कम्बोडियाको गृह मन्त्रालयका अनुसार प्रिन्स होल्डिङ ग्रुपका अध्यक्ष चेन झी र अन्य दुई जना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरी चीन सुपुर्दगी गरिएको हो । मन्त्रालयका अनुसार चेनसँग पहिले दोहोरो नागरिकता थियो, तर डिसेम्बरमा उनको कम्बोडियाली नागरिकता खारेज गरिएको थियो । 

अमेरिकी अभियोजकहरूले गत अक्टोबरमा चेनविरुद्ध षड्यन्त्रसम्बन्धी मुद्दा दायर गर्दै उनले बहुराष्ट्रिय साइबर ठगी सञ्जाल सञ्चालन गरेको, त्यसबाट आएको अवैध आम्दानी अन्य व्यवसायमार्फत मनी लन्डरिङ गरेको र कामदारहरूमाथि हिंसा गरेको आरोप लगाएका थिए। अभियोगपत्रअनुसार प्रिन्स समूहले ती ठगीबाट दैनिक ३ करोड डलर कमाइ गर्ने दाबी गरेको थियो । 

अमेरिकी अर्थ मन्त्रालय र बेलायती विदेश मन्त्रालयले चेनमाथि प्रतिबन्ध लगाएका थिए । त्यस्तै उनका सम्पत्तिहरू पनि जफत गरिएको थियो । जसमा कम्तीमा १० करोड डलर मूल्यका अचल सम्पत्ति र करिब १४ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी पनि थियो । 

दक्षिण–पूर्वी एसियाभर ठगी केन्द्रहरू तीव्र रूपमा फैलिएका छन् । यस्ता केन्द्रमा नक्कली लगानी योजनामा फसाएर पीडितहरूको पैसा ठगिन्छ । यस्ता केन्द्रमा निकै ठूलो संख्यामा नेपालीहरू पनि फसेको र तीमध्ये केहीको उद्दारसमेत गरिएको थियो । 

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय (युनोडिसी) को अनुमानअनुसार सन् २०२३ मा विश्वभरका पीडितहरूले १८ अर्बदेखि ३७ अर्ब डलरसम्म गुमाएका थिए । 

कम्बोडियामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब

अमेरिका र बेलायतले ३८ वर्षीय चेन र उनका कम्पनीहरूमाथि प्रतिबन्ध लगाए । ती कम्पनीहरू औपचारिक रूपमा रियल इस्टेट विकास र वित्तीय सेवाजस्ता कानूनी क्षेत्रमा दर्ता थिए । कानूनी क्षेत्रमा दर्ता भए पनि तिनले गैरकानूनी कामहरू गरिरहेका थिए । 
अमेरिकी अधिकारीहरूले चेन वा उनका गतिविधिसँग जोडिएको करिब १४ अर्ब डलर बराबरको बिटक्वाइन जफत गरिएको दाबी गर्दै उनलाई वायर फ्रड र मनी लन्डरिङ षड्यन्त्रका आरोपमा अभियोग लगाए । उनीमाथि कामदारहरूमाथि हिंसा स्वीकृत गर्ने, विदेशी अधिकारीहरूलाई घुस दिन आदेश दिने तथा अनलाइन जुवा र क्रिप्टोकरेन्सी माइनिङजस्ता अन्य व्यवसाय प्रयोग गरी अवैध आम्दानी शुद्धीकरण गर्ने आरोप पनि लगाइएको छ । 

अमेरिकी अभियोजकहरूका अनुसार चेनको संगठनले २५० अमेरिकी नागरिकलाई ठगी गरी लाखौँ डलर ठगेको थियो, जसमा एक जनाले मात्र ४ लाख डलर बराबरको क्रिप्टोकरेन्सी गुमाएका थिए । अमेरिकी अर्थ मन्त्रालयका अनुसार सन् २०२४ मा मात्र दक्षिण– पूर्वी एसियाबाट सञ्चालित ठगीका कारण अमेरिकीहरूले कम्तीमा १० अर्ब डलर गुमाएका थिए । 

बेलायती अधिकारीहरूले चेनका बेलायतस्थित व्यवसाय र सम्पत्तिहरू पनि रोक्का गरेका थिए । त्यसमा १ करोड २० लाख युरो मूल्यको एक हवेली र लन्डनको १० करोड युरो मूल्यको कार्यालय भवन पनि जफत गरेको छ । 

यसपछि अन्य मुलुकहरूले पनि कारबाहीका कदम चाले । सिंगापुरले अक्टोबर ३० मा चेनसँग सम्बन्धित १५ करोड सिंगापुर डलर (करिब ११ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी मूल्यका वित्तीय सम्पत्ति र एउटा याट जफत गरेको घोषणा गर्दै अनुसन्धान सुरु गर्‍यो। ताइवानमा प्रहरीले फेरारी, बुगाटी र पोर्शेसहित २६ वटा विलासी कार जफत गर्‍यो । त्यस्तै हङकङ प्रहरीले पनि वित्तीय सम्पत्ति नियन्त्रणमा लियो । यी तीनै स्थानमा चेनविरुद्ध अनुसन्धान थालिएको थियो । 

तर चेनले कानूनी लडाईंको तयारी गरेका थिए । नोभेम्बरमा उनका वकिलमार्फत जारी विज्ञप्तिमा ’प्रिन्स ग्रुप वा यसको अध्यक्षले कुनै पनि गैरकानूनी गतिविधि गरेको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्छ’ भनिएको थियो । कम्बोडिया सरकारले पनि संयमित प्रतिक्रिया दिँदै अपराधीको संरक्षण नगर्ने तर चेन वा प्रिन्स समूहलाई औपचारिक रूपमा दोषी नठहर्‍याएको जनाएको थियो ।

हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका अतिथि फेलो तथा अन्तर्राष्ट्रिय अपराध विज्ञ ज्याकब ड्यानियल सिम्सका अनुसार कम्बोडियामाथि यति धेरै अन्तर्राष्ट्रिय दबाब परेको थियो कि मौन रहन सम्भव नै थिएन । 

उनले भने, ‘चेन झीलाई चीन सुपुर्दगी गर्नु कम्बोडियाका लागि सबैभन्दा सजिलो विकल्प थियो । यसले पश्चिमी मुलुकहरूको निगरानी कम गर्छ र राजनीतिक रूपमा संवेदनशील मुद्दा अमेरिकी वा बेलायती अदालतबाट टाढा राख्ने बेइजिङको चाहनासँग पनि मेल खान्छ ।’ 

ब्रुकलिनस्थित संघीय अभियोजक कार्यालयबाट सुपुर्दगीबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन । चेन र प्रिन्स होल्डिङ ग्रुपले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

चिनियाँ अधिकारीहरूले पनि चेन र कम्बोडियाको गृह मन्त्रालयले नाम लिएका अन्य दुई व्यक्तिहरू स्यु जी लिआङ र साओ जी हुईलाई सुपुर्दगी गर्नेबारे तत्काल कुनै टिप्पणी गरेका छैनन् । 

दक्षिण–पूर्वी एसियामा अनलाइन ठगी फस्टाउँदै

कानून कार्यान्वयन कमजोर भएका दक्षिण–पूर्वी एसियाली देशहरू, विशेष गरी कम्बोडिया र म्यानमारमा साइबर अपराध तीव्र रूपमा बढेको छ । क्यासिनोहरू प्रायः आपराधिक गतिविधिका केन्द्र बनेका छन् । मानव तस्करी गरिएका विदेशी नागरिकहरूलाई ‘रोमान्स’ र क्रिप्टोकरेन्सी ठगी चलाउन बाध्य पारिएको, झूटा रोजगारीको प्रलोभन देखाएर ल्याइएपछि करिब दासत्वसरह अवस्थामा काम गराइएको उल्लेख छ । 

चेनविरुद्ध अमेरिकामा दायर अभियोगपत्रअनुसार प्रिन्स होल्डिङ ग्रुपले कम्बोडियामा कम्तीमा १० वटा ठगी कम्पाउन्ड निर्माण गरेको थियो । यद्यपि नाम किटान गरिएका तीनवटा कम्पनी गोल्डेन फच्र्युन, जिनबेई र म्याङ्गो पार्क मात्र थिए । 

यी गतिविधि चिनियाँ नागरिकहरू पनि निशानामा परेपछि चिनियाँ सरकारका लागि लज्जास्पद बन्न पुग्यो । सन् २०२३ को मध्यतिर बेइजिङले म्यानमारमाथि दबाब बढाउँदै कारबाही गर्न लगायो र केही ठगीका मुख्य योजनाकारहरू चीन सुपुर्दगी गरिए । तीमध्ये केहीलाई मृत्युदण्डसमेत सुनाइएको थियो । 

त्यसयता बेइजिङले क्षेत्रीय दबाब जारी राख्दै थाइल्यान्ड र म्यानमारसँग मिलेर थाई–म्यानमार सीमामा रहेका ठगी केन्द्रबाट करिब १० हजार मानिसलाई मुक्त गर्ने अभियान चलाएको छ । कम्बोडियाले पनि गत जुनदेखि सेप्टेम्बर महिनासम्म विभिन्न ठगी केन्द्रबाट हजारौंलाई पक्राउ गर्ने अभियान सञ्चालन गरेको थियो । 

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयको सन् २०२३ को प्रतिवेदनअनुसार म्यानमारमा कम्तीमा १ लाख २० हजार र कम्बोडियामा करिब १ लाख मानिसलाई अनलाइन ठगीका लागि जबर्जस्ती काममा लगाइएको अनुमान गरिएको थियो । विज्ञहरूका अनुसार यस्ता गतिविधि अझै पनि जारी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व