काठमाडौंको यो खाल्डोमा कुनै समय एउटी यक्षिनी आफ्ना पाँच सय सन्तानका साथ बस्थी । आफ्ना सन्तानको लालनपालन गाह्रो हुन थालेपछि ऊ जंगलबाट गाउँ छिर्दै अर्काका ससाना बालबालिका टिप्दै आफ्ना सन्तानको पेट पाल्न थालिछ । यसबाट आजित भएका गाउँलेहरु गौतम बुद्धसँग गुनासो गरे । गौतम बुद्धकहाँ यक्षिनी पुगी र उसले बाध्यतावश मान्छेका सन्तान मार्नु परेको खुलासा गर्छे । गौतम बुद्धकहाँ पुगेपछि यक्षिनीलाई पछुतो हुन थाल्छ र बुद्धपथमा हिँड्न थालिछ ।
‘यसपछि के भयो हजुरबुवा ?’ ससाना केटाकेटीले सोध्छन् । जवाफमा हजुरबुवा बनेका मदनकृष्णले कथा थप्दै भन्छन्,‘बुद्धपथमा हिँड्दै जाँदा यक्षिनी करुणामार्फत देवी बनिन् । उनी हारती माँका रुपमा चिनिइन् ।’
यो कथा हो, काठमाडौं उपत्यकाका भजन खलहरुमा गाइने दाफाहरुमध्येको एउटा दाफा । र, त्यसमाथि बनाइएको एक घण्टाको भिडियो । र, यो भिडियोकी निमात्री हुन्, शारदा डंगोल ।

बालापनमा यस्ता दफाहरु सुन्दा शारदा डंगोलको मनमा आफू पनि यहाँ बजाइने विभिन्न वाद्यवादन बजाउने रहर गर्थिन् । २०५८ सालताकासम्म पनि महिला भएर यस्ता बाजाहरु बजाउन पाइँदैनथ्यो । त्यसैले उनले ती वाद्यवादनहरु सिक्न पाइनन् । घरमा जहिले पनि पढाइमा ध्यान दिन लगाइन्थ्यो । उनी भने कहाँ ती बाजा बजाउन वा सिक्न पाइएला भनेर खोजीखोजी हिँड्थिन् ।
त्यही बेला एसएलसीपछि उनी न्हुँछेबहादुर डंगोलको सान्निध्यमा धिमेजस्ता बाजाहरु बजाउन सिक्न थालिन् । घरबाट लुकिछिपी सिकेको बाजाप्रति उनको मोह यति भयो कि यत्तिका वर्षपछि पनि उनी काठमाडौंका विभिन्न भजन खलहरुमा गाइने भजनहरु संरक्षण गर्न पाए हुन्थ्यो भनेर लागिरहेकी छन् ।
.jpg)
पेशाले उनी फार्मेसी चलाउँछिन् । मनले भने उनी ‘म्युजिकोलजिस्ट’ हुन् । उनलाई उपत्यकाका लोकगीत तथा भजनहरुमा अध्ययन–अनुसन्धान तथा संरक्षण गर्ने ‘कुलत’ लागेको छ ।
‘बा–आमाले मलाई विज्ञान पढ्न बाध्य पारे,’ शारदाले भनिन्, ‘मैले पढाइमा निकै राम्रो गरेँ किनभने राम्रो पढेँ भने मैले संगीतमा केही गर्न छूट पाउँछु कि भन्ने थियो । नभन्दै मैले संगीत सिक्न छूट पाइरहेँ ।’
यसबीच सन् २००९ मा आनी छोइङ डोल्माको सक्रियतामा शारदा सहितका साथीहरुले एउटा सांगीतिक ब्यान्ड बनाए, श्रीतारा । उनले सिकेका ढोलक, मादल, तबला, खिं यहीबेला काम लाग्यो । केही ठाउँमा उनीहरुले आफ्नो कला प्रदर्शनसमेत गरे ।
यसपछि उनी संगीतमै उच्च शिक्षा हासिल गर्न चाहन्थिन् तर यसैबीचमा उनको विवाह भयो र केही समयपछि सन्तान पनि जन्मिइन् । यसले एउटा पछुतो भने बाँकी नै रह्यो, ‘भजन खलका कथाहरुलाई भित्रैसम्म जान्ने र बुझ्ने रहर कहिल्यै पूरा भएन ।’
यसबीच सन् २०२० को कोभिड कालमा उनले माया आर्ट फाउन्डेशनको तीन महिने रेसिडेन्सी पाइन् । यसमा उनले संगीत उत्पादन कसरी हुने रहेछ भनेर सिकिन् । उनका पति पनि मंगोलियन हर्टमा फ्लुटीस्ट भएकाले शारदाको संगीत मोह बुझे । र, शारदाको संगीत संरक्षणको मोहमा सघाउन थाले ।
‘तपाईंलाई थाहा छ, खोकनाको अर्थ के हो ?’ शारदा यो पंक्तिकारलाई सोध्छिन् । जुन ठाउँमा नैनीले खो (रोएर) कना (भनिएको कथा) गरिन्, त्यो ठाउँको नाम नै कालान्तरमा खोकना बन्यो । काठमाडौंका हरेक ठाउँका यस्तै कथा छन् । ती कथाका पछाडि अर्को एउटा पृष्ठभूमि हुन्छ । त्यो पृष्ठभूमिका संगीत, लय, शब्दहरु हुन्छन् । ती सबै संरक्षण गर्न उनलाई हुटहुटी जागेको छ ।
त्यही हुटहुटीका कारण उनले हारति माँको भजनलाई एक घण्टाको भिडियो बनाएकी छन् । भिडियो त उनले बनाइन् तर आफ्नै समुदायबाट भने सहयोग पाउन सकिनन् ।
उनी भन्छिन्, ‘कुनै समय सिक्ने सिकाउने कुरामा पुस्तान्तरण हुन्थ्यो, अचेल त्यो पुस्तान्तरण ठप्प भएको छ । अबका केही वर्षपछि सही तरिकाले सिक्ने सिकाउने कुरा ठप्प हुने भएकाले तिनको अडियो तथा भिडियो संरक्षण गर्न अभियान शुरु गरेकी हुँ ।’
उनले शुरुमा यो हारति माँको दाफा बनाउने काम सजिलो नै होला भन्ने सोचेकी थिइन् । रेकर्ड गर्दै जाँदा भने यो दाफा एक घण्टा लामो भयो । अडियोमा मात्र यो भजनको कुरा बुझिँदैन भन्ने लागेपछि उनले फेरि यसलाई भिडियो बनाउने प्रयास गरिन् ।
यसका लागि उनले दर्शनवीर शाक्यलाई निर्देशक छानिन् । टिस्टुङमा ४० जना कलाकारहरु लगेर चार दिन सुटिङ सकेपछि एक दिन स्वयंभूमा सुटिङ गरिन् । गएको असोज ९ गते उनले यो फिल्मलाई काठमाडौंको रञ्जना हलमा प्रथम प्रदर्शनसमेत गरिन् ।
‘यो भिडियोका बारेमा राम्रो प्रतिक्रिया त पाएँ तर मेरै समुदायले जे जस्तो सहयोग गर्नुपर्ने हो, त्यो पाउन सकिनँ,’ उनले गुनासो गरिन्, भनिन्, ‘अहिले हामीले यस्ता प्राचीन कथा, वाद्यशिल्प र कामलाई वास्तविक अडियो र भिडियोमा संरक्षण गर्न सकेनौं भने भोलिका दिनमा यो बजाउने र यसबारे जान्ने मान्छे भेटिन मुश्किल छ ।’
शारदाको अध्ययनअनुसार, काठमाडौंका ६३ वटा टोलमा दाफा गाइन्छ । हरेक टोलमा भिन्दाभिन्दै शैलीको दाफा गाइन्छ । यसको संरक्षण हुन सकेन भने केही वर्षमा नै टोलटोलमा गाइने दाफा विलुप्त हुने उनलाई डर छ । यही हारति माँको दाफा खोज्दा उनी आश्चर्यमा परिन्, ‘हामीकहाँ दाफाबारे नेपाली भाषामा लेखिएको पाइँदैन । मैले जति पनि जानकारी बटुलें, ती सबै विदेशीले लेखेका थिए । नेपालीले नेपाली संस्कृतिका बारेमा नखोजी अरुले खोज्नु वा लेख्नु, अनुसन्धान गर्नु आश्चर्य होइन ?’
उनलाई लागेको अर्को आश्चर्य चाहिँ, जब उनले एक घण्टाको दाफा तयार गरिन्, भिडियो हेरिसकेपछि केहीले उनलाई गलत तरिकाले दाफा बनाइएको आरोप लगाए । ‘तिमीले बनाएको फिल्म नै मिलेन,’ उनलाई केहीले प्रतिक्रिया दिँदै भने । उनको भनाइ छ, ‘मैले फिल्म बनाएको होइन । मैले दाफा सुनाउने प्रयास गरेको हो । कथा मूल होइन, संगीत हो । संगीत सुनाउन मैले कथालाई माध्यम मात्र बनाएको हो ।’