नेभिगेशन
नेपाल

माघे संक्रान्ति र माघ महात्म्य

लिच्छिविकालीन राजा मानदेवको पालादेखि सुरु भएको यो मेला यही संक्रान्तिका दिन देशका विभिन्न तिर्थमा माघ स्नान सुरु हुन्छ । तीर्थमा नुहाएर मेला भर्ने सन्दर्भमा बागमती अञ्चलको त्रिशूली र तादी खोलाको दोभान देवीघाटमा र उपत्यकाका बागमती नदी र मनमती मनहरा खोलाको संगम शंखमूल, त्यस्तै नारायणी अञ्चलको त्रिशूली, काली गण्डकी र राप्ती नदीको देवघाटमा मेला लाग्छ ।

काठमाडौं उपत्यकाका आदिवासी नेवार र तराईका आदिवासी थारुहरूले माघे संक्रान्तिलाई आ–आफ्नै रीतिरिवाजअनुसार मनाउँदै भव्यरूपमा मान्दै आइरहेका छन् । त्यस्तै अन्य जातिले पनि आ–आफ्नै संस्कारअनुसार मनाउँदै आइरहेका छन् । माघ महिनाको संक्रान्ति घिउ, चाकु खाएर मनाइने हुँदा यो संक्रान्तिलाई घिउ चाकु संल्हु पनि भनिन्छ । दक्षिणायनमा रहेका सूर्य यो दिनदेखि उत्तरायणमा सर्दै आउँछ । १२ महिनामा हुने १२ राशिअनुसार यो माघ महिनामा मकर राशि पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ ।

नेवारी संस्कारअनुसार माघे संक्रान्तिका दिन चाकुमा तिल राखेर बनाएको लड्डु खानुपर्ने र विभिन्न प्रकारले तिलको प्रयोग गर्नुपर्ने भएकाले यो संक्रान्तिलाई नेवारहरूले हाम्वः संल्हु, तिल संक्रान्ति पनि भन्ने गर्छन् । यो दिन अलिकता अमलाको धुलो दलेर नुहाउनुपर्ने, तिल राखेर तेल लगाउनुपर्ने, छोराछोरीलाई आमाले टाउकोमा तिल राखेर तोरीको तेल लगाइदिनुपर्ने, तिल राखेर पितृ तर्पण गर्नुपर्ने, तिल आगोमा डढाउनुपर्ने, तिल खानुपर्ने, अनि तिल दान गर्नुपर्ने संस्कार र परम्परा छ । यसरी विभिन्न प्रकारले तिल प्रयोग गर्नुपर्ने भएकाले नै यस संक्रान्तिलाई हाम्वः संल्हु, तिल संक्रान्ति पनि भनिन्छ ।

जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ्य बनाउन घिउ, चाकु, तरुल, पालुंगोको साग, माछासहितको सम्ये बजी खाएर चाड मान्ने पुर्खाहरूले बनाइराखेको यो चलन वैज्ञानिकरूपमा पनि उचित छ । नेवारहरूले यो चाड मनाउने दिन बिहान सबेरै घरभरी बढारेर सफा सुग्घर पारेर सबैभन्दा पहिला देवी देवताको पूजा गर्दा घिउ, चाकु, माछा र सम्ये बजी चढाउँछन् । यसरी नै पितृतर्पण गर्दा पनि घिउ, चाकु, तरुल, माछा, सम्ये बजी, चामल, पालुंगो, मास आदि राखेर दान दिइने गरिन्छ । घरैमा पनि पितृभाग राखेर पन्छाइन्छ ।

नेवारी संस्कृति अनुसार विवाह गरेर पठाइसकेका छोरीलाई बोलाएर भोज खुवाउने र टाउकोमा आमाले तेल लगाइदिने परम्परा छ । बिहे गरी पठाएका छोरी चेलीहरूले बच्चा नजन्माएसम्म लोग्नेको घरमा घिउ चाकु खानुहन्न भन्ने नेवारहरूको चलन छ । यो दिन सिद्रा माछा खाएमा शत्रु कमजोर हुन्छ भनिन्छ । त्यस्तै हरियो लसुनको टाउको टोक्नुपर्छ शत्रुको टाउको टोके बराबर हुन्छ भनिन्छ । यो दिन खाइने पालुंगोको साग पनि पाटनकै पालुंगो चाहिन्छ भनी खोजी–खोजी किनेर ल्याउने गरिन्छ । घिउ, चाकु र सम्ये बजीको साथै थलथले मासु, सिद्राको थलथले पनि खाने गरिन्छ । चाड मनाउँदा माघे संक्रान्तिका दिन विहान घरका सवै परिवार एकै ठाउँमा बसेर मकलमा आगो बालेर त्यसमा घिउ, चाकु, तरुल र पकाएका सबै परिकारका एक–एक टुक्रा चढाउने गरिन्छ भने सिद्रा माछा पनि आगोमा चढाएर धुवाँ पारिन्छ ।

सनातन संस्कृतिका अनुयायीहरू माघे संक्रान्तिका दिन बिहान सबेरै नदी, तलाउजस्ता पवित्र स्थानमा स्नान गरी देवता र पितृहरूलाई तर्पण गर्छन् भने यो दिन ब्राह्मण वा पुरोहितबाट महिना सुन्ने चलन पनि छ ।

यो दिन तराईका आदिवासी थारुहरूले माघी संक्रान्ति र तिला संक्रान्ति भन्दै धुमधामसँग मनाउने गर्छन् । यसै दिन थारुहरूको नयाँ वर्ष सुरु हुने भएकाले पाँच दिनसम्म रमाइलो गर्दै  चाड मनाउँछन् । थारु समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । मगर समुदायले टराभरा उभेउली जीवजनमा प्रवेश गरेको खुसीयालीमा माघे संक्रान्ति चाड मनाउँछन् । यस चाडमा खास गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछामासु खाने र मासको दाल भात र नुन एकै ठाउँमा पकाई खिचडी बनाई खाने र खिचडी नै पितृलाई पिण्ड दिने गर्छन । यो दिन मगरहरूले आफना चेलीबेटी र इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । नेपाल सरकारले २०६५/०९/२३ मा माघे संक्रान्ति मगर जातिको पनि राष्ट्रिय पर्व निर्णय गरेकाले मगर जातिले यसलाई राष्ट्रिय पर्वका रूपमा मान्दै आएका छन् ।

माघीको दिन काभ्रेको पनौतिमा मकर मेला लाग्छ । लिच्छिविकालीन राजा मानदेवको पालादेखि सुरु भएको यो मेला यही संक्रान्तिका दिन देशका विभिन्न तिर्थमा माघ स्नान सुरु हुन्छ । तीर्थमा नुहाएर मेला भर्ने  सन्दर्भमा बागमती अञ्चलको त्रिशूली र तादी खोलाको दोभान देवीघाटमा र उपत्यकाका बागमती नदी र मनमती मनहरा खोलाको संगम शंखमूल, त्यस्तै नारायणी अञ्चलको त्रिशूली, काली गण्डकी र राप्ती नदीको देवघाटमा मेला लाग्छ ।

त्यस्तै गुल्मीमा धार्मिक ऐतिहासिक महत्त्व भएको रुरु क्षेत्रमा पनि माघे संक्रान्तिको मेलाको दुई, तिन दिन अघिदेखि नै भक्तजनहरू जाने गर्छन । माघे संक्रान्तिको मेला भर्न गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्रमा भक्तजनहरूको ठूलो भीड लाग्छ । वैशाख संक्रान्ति, माघे संक्रान्ति र हरिवोधिनी एकादशीका दिन विशेषगरी ठूलो मेला लाग्ने यो रुरु क्षेत्र तीन ओटा जिल्लाको संगम रहेको र यही क्षेत्र भएर कालीगण्डकी बगिरहेकाले पनि तीन दिनसम्म गण्डकमा नुहाएर त्यहाँस्थित ऋषि केशव देवताको दर्शन गरेमा सम्पूर्ण पापबाट मुक्त भएर मोक्ष प्राप्त हुने जनविश्वास छ । यसैले रिडीको रुरु क्षेत्रमा १ देखि ३ माघसम्म गण्डक स्नान गर्ने हरूको भीड हुन्छ । ऋषि केशव, भृंगतुंगेश्वर, रुरु कन्याको मन्दिर, राम नाम स्तुप, मणि मुकुन्देश्वर, महाविष्णुका साथै दर्जनभन्दा बढी देवालयहरू भएको यो क्षेत्रलाई परित्र तीर्थस्थल मानिन्छ ।

त्यस्तै माघे संक्रान्तिका दिन भक्तपुरको सिपाडोलमा रहेको आशापुरेश्वर महादेव स्थानमा पनि मेला लाग्छ । माघे संक्रान्तिमा भक्तपुरमा बर्सेनि पाँच ओटा दीपंकर बुद्ध भगवान्को मूर्ति प्रदर्शन गरिन्छ । काठमाडौमा भने १२ वर्षमा एकपटक उपत्यकाका सबै दीपंकर बुद्धका मूर्तिहरू हनुमानढोका दरबारअगाडि माघे संक्रान्तिको अघिल्लो दिन प्रदर्शन गरिन्छ ।

मानिसकै आकारका ६/७ फिट अग्ला ती दीपंकरका मूर्तिहरू भोलिपल्ट माघे संक्रान्तिका दिन स्वयम्भूको भुइँखेलमा प्रदर्शन गरेर सम्यक पूजा गरी पञ्चदान पर्व मनाइन्छ । राजाको पनि उपस्थिति हुने सो सम्यक पूजामा राजालाई पनि दीपंकर बुद्धका रूपमा मानेर पूजा गरिन्थ्यो र अभिषेक गरिन्थ्यो । हाल राजा हटिसकेको हुँदा दीपंकर बुद्धका मूर्तिहरू मात्र प्रदर्शन गरेर पञ्चदान गरिन्छ । श्रद्धालु भक्तजनहरूले यथासम्भव आफ्नो गच्छेअनुसार दान दिएर पञ्चदान पर्व मनाउँछन ।

माघे महात्म्य मनाउने क्रममा साँखुमा परुषहरूले पनि व्रत बसेर अष्टमातृका देवीको आराधना गरेर जीउ नाप्ने र महिलाहरूले सहस्रधारा जल बगाएर बज्रयोगिनी देवीलाई क्षमा पूजा गर्ने  गर्छन् । माघ महात्म्य मनाउने भन्दै उपत्यकामा टोलै पिच्छे सहस्रधारा जल बगाएर तीर्थमा गई नुहाएर माघ महात्म्य गीत भजन गाउँदै नगर परिक्रमा गरिन्छ । तर अहिले यो चलन धेरै ठाउँमा हराइसक्यो, कतै कतै गाउँघरमा बाँकी छन् । साँखुमा भने यो परम्परा हालसम्म कायमै छ ।

त्यस्तै ललितपुरको ठेचोमा माघ महात्म्य परिक्रमा गर्दा १० अवतार प्रर्दशन गरेर सवा लाख सहस्रधारा जल बगाएर जात्रा मनाउने परम्परा छ । श्री स्वस्थानीको व्रतकथा प्रारम्भ भएको दिनदेखि नै माघ महात्म्य सुरु गरिन्छ । यही समयमा ठेचोका मानिसहरूले कुल देवता पूजा, वृहस्पति देवताको जात्रा र माघ महात्म्य एकै चोटि मनाउने भएकाले नै यसको विशेष महत्त्व छ ।

विहानै देखि सुरु हुने यो जात्रामा जल चढाउने र व्रत बसेका महिलाहरूले आफ् नो शरीरमा दियो बालेर ठेचोका ब्रह्मायणी, बालकुमारी, नवदुर्गा र भैरव परिक्रमा गरेर अत्यन्तै श्रद्धा भक्तिपूर्वक ठेचोका नेवारहरूले जात्रा मनाउँदै आइरहेका छन् । कुल देवता पूजा, माघ महात्म्य र वृहस्पति जात्रा पनि हुने भएकाले यो ठेचोको जात्रालाई एक ठेचो तीन जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा मल्लकालदेखि चल्दै आएको हो भनिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्