गत हप्ता मेरो एउटा साथीले ग्रुप च्याटमा एउटा ‘मिम’ पठायो । इन्टरनेटका अन्य धेरै मिमहरूजस्तै यो पनि मेरो मस्तिष्कमा गहिरोसँग गड्यो । यसले एउटा यस्तो विचारलाई समात्यो, जुन कतिपय अवस्थामा ठूला र लामा लेखहरूले पनि व्यक्त गर्न सक्दैनन् । विडम्बना के थियो भने, त्यो मिम इन्टरनेटका खराबीहरूकै बारेमा थियो । एउटा टिभी सिरिजको तस्बिरमाथि लेखिएको थियो– ‘सन् १९९९ मा मानिसहरू वास्तविकताबाट उम्कन इन्टरनेटको प्रयोग गर्थे ।’ त्यसको मुनि अर्को तस्बिर थियो, जसमा लेखिएको थियो– ‘सन् २०२६ मा मानिसहरू इन्टरनेटबाट उम्कन वास्तविकताको सहारा लिइरहेका छन् ।’
ओहो, कति सरल, तर कति सान्दर्भिक ! अहिले इन्टरनेटमा मानिसले लेखेका शब्द र तस्बिरहरूलाई एआईद्वारा सिर्जित ‘कचरा’ सामग्रीले उछिनेको छ । सामाजिक सञ्जालको प्रयोग उत्कर्षमा पुगेर अब घट्न थालेको आभास हुन्छ र यस वर्ष ‘डम फोन’ (साधारण फोन) लाई प्रतिष्ठाको प्रतीकका रूपमा हेरिन थालिएको छ । यस्तो लाग्छ– अब जीवनलाई यी इन्टरनेटका नराम्रा प्रभावहरूबाट मुक्त गर्ने लहर सुरु भएको छ ।
इन्टरनेटमा फैलिएको यो अर्थहीन र कमसल सामग्रीको बाढीलाई रोक्न र यो ‘अटेन्सन इकोनोमी’ (मानिसको ध्यान खिचेर पैसा कमाउने व्यवसाय) का लोभी विशाल कम्पनीहरूलाई चुनौती दिन आख्यान (फिक्सन) पढ्नुभन्दा उत्तम उपाय अरू के हुन सक्छ ? आनन्द र जीवनको समृद्धिकै लागि मात्र कुनै पुस्तक उठाउनु (सकेसम्म ती विशाल अनलाइन प्लेटफर्मबाट नकिनीकन) एउटा राम्रो सुरुवात हो । तर, यो लहर सुरु भए पनि पुस्तक पढ्ने मामिलामा हामी अझै धेरै पछि छौं ।
बेलायतको सरकारी सर्भे कम्पनी ‘यूगभ’ले गत वर्ष गरेको सर्वे क्षणअनुसार, दुई–पाँचौं हिस्सा बेलायतीहरूले अघिल्लो १२ महिनामा एउटा पनि पुस्तक पढेका छैनन् । र, एटलान्टिक महासागरका दुवैतर्फ (बेलायत र अमेरिका) किताब नपढ्नेहरूमा पुरुषहरू नै बढी देखिएका छन् । अघिल्लो वर्ष ६६ प्रतिशत महिलाको तुलनामा ५३ प्रतिशत पुरुषले मात्र कुनै पुस्तक पढेका थिए। आख्यानको हकमा यो संख्या अझ कम छ ।
भनाइको अर्थ, आख्यान पढ्ने पुरुषहरूको संख्या क्रमशः घट्दै जान थालेको छ । यो विषयलाई औंल्याउनु र ‘साहित्यिक पुरुषहरूको लोप’ भएकामा चिन्ता व्यक्त गर्नु अहिले केही विवादास्पद बनेको छ । गत वर्ष ‘भक्स’ पत्रिकाको एउटा चर्चित लेखले सोधेको थियो, ‘के पुरुषहरूको पढ्ने बानी वास्तवमै राष्ट्रिय संकट हो ?’ उक्त लेखले यो संकट नभएको संकेत गर्दै महिलाहरूले पुरुषको तुलनामा प्रतिदिन औसत सात मिनेट मात्र बढी आख्यान पढ्ने गरेको बताएको थियो (यद्यपि उसले यो सात मिनेट भनेको पुरुषको तुलनामा झण्डै ६० प्रतिशत बढी समय हो भन्ने कुरा उल्लेख गरेन) ।
यसैबीच, ‘अनहर्ड’ वेबसाइटको एउटा लेखले ‘साहित्य पढ्ने पुरुष मरेका छैनन्’ भन्ने तर्क गर्दै पुरुष साहित्यप्रेमीहरूको एउटा उप–संस्कृति जीवित रहेको र अहिले ‘पोडकाष्टहरू नयाँ साहित्यिक केन्द्र बनेको’ दाबी गरेको थियो ।
यी तर्कहरू आफ्ना ठाउँमा ठीकै होलान्, तर सत्य के हो भने आख्यान पढ्ने र त्यसमा संलग्न हुने मामिलामा महिला र पुरुषबीचको खाडल ठूलो छ । पछिल्लो समय भने यो झन् बढ्दै गइरहेको छ । अमेरिकी ‘नेसनल इन्डोमेन्ट फर द आर्ट्स’ को २०२२ को सर्वे क्षणअनुसार, केवल २७.७ प्रतिशत पुरुषले मात्र अघिल्लो वर्ष कुनै कथा वा उपन्यास पढेका थिए, जुन एक दशकअघि ३५.१ प्रतिशत थियो । महिलाहरूको पढ्ने बानी पनि घटेको छ, तर पुरुषको तुलनामा ढिलो र उच्च स्तरबाटः ५४.६ प्रतिशतबाट ४६.९ प्रतिशत । यसको अर्थ, सन् २०१२ मा महिलाहरूले पुरुषभन्दा ५५ प्रतिशत बढी आख्यान पढ्थे भने सन् २०२२ मा यो अन्तर बढेर ७० प्रतिशत पुगेको छ ।
यो भिन्नता युवावस्थामै स्पष्ट देखिन्छ । सन् २०२५ को तथ्यांकले देखाएअनुसार, इंगल्याण्डमा छात्राहरूले छात्रको तुलनामा झण्डै चार गुणा बढी दरमा ‘ए–लेभल’ मा अंग्रेजी साहित्य विषय रोजेका छन् । आठ वर्षअघि यो दर तीन गुणा मात्र थियो ।
अब प्रश्न उठ्छः के हामीले यसमा चिन्ता गर्नुपर्छ, किन ? चिन्ता गर्नुपर्छ भन्नेहरूका अनुसार, आख्यान पढ्नाले आलोचनात्मक सोच, समानुभूति (इम्प्याथी) र ‘भावनात्मक शब्दभण्डार’को विकास हुन्छ । उपन्यासहरूमा अक्सर नायक र पुरुषत्वका सकारात्मक र आदर्श पात्रहरू हुन्छन्, जसले आधुनिक पुरुषहरूलाई प्रेरित गर्न सक्छन् । तिनीहरूले एन्ड्रयू टेटजस्ता ‘विषाक्त पुरुषत्व’ का नाइकेहरूको उदाहरण दिन्छन्, जसले ‘किताब पढ्नु त जीवनबाट सिक्न डराउने हरूवाहरूका लागि हो’ र ‘किताब पढ्नु समयको बर्बादी हो’ भन्ने गर्छन् । यस्ता गलत सल्लाहहरूबाट बच्न पनि किताब पढ्नु आवश्यक छ ।
म यी सबै कुरामा पूर्णरूपमा सहमत छु तर मलाई लाग्दैन कि हामीमध्ये धेरैले (चाहे महिला होस् वा पुरुष) केवल एउटा ‘सज्जन व्यक्ति’ बन्नका लागि किताब उठाइरहेका हुन्छौं । आख्यान पढ्नुको सबैभन्दा बलियो र उत्प्रेरक कारण सायद यसले आनन्द र एकाग्रता बढाउँछ, जुन आधुनिक संसारले बिस्तारै खोस्दै गइरहेको छ । सरसर्ती हेर्ने र ध्यान भड्किने कुरामा अभ्यस्त भएको यो ‘अति–पुँजीवादी’ संस्कृतिमा एउटा उपन्यास लिएर शान्तसँग बस्न सक्नु आफैंमा एउटा विद्रोही र साँच्चै सन्तोषजनक काम हो । अबको मुख्य प्रश्न यो होः किन यति धेरै पुरुषहरूले किताब उठाइरहेका छैनन् ?
(फाइनान्सियल टाइम्सबाट साभार)